भदौ २४, २०८१
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शिक्षा पनि जापानको आर्थिक विकासको इतिहासले दिन्छ । देश विकास भन्ने विषय आर्थिक वृद्धि मात्र होइन, यो समग्र सामाजिक विकासको परिणाम हो भन्ने शिक्षा पनि जापानले दिएको छ । सरकार विकासको मार्गदर्शक मात्र हो र नागरिकहरू विकासका पात्र मात्र हुन् भन्ने पनि जापानको आर्थिक विकासले बताएको छ ।
दोस्रो विश्वयुद्ध अघिसम्म एसियाको साम्राज्यवादी उन्मत्त शक्तिका रूपमा स्थापित जापान त्यसको अन्तिम दिनतिर हिरोसिमा र नागाशाकीमा अमेरिकाले बम खसाएपछि अगस्ट १५, १९४५ मा एलाई पावरसमक्ष आत्मसमर्पण गर्न पुग्दा अर्थतन्त्र तहसनहस भैसकेको थियो । विकासका आधारशिलाहरू ध्वस्त थिए । त्यो भन्दा डरलाग्दो कुरा जापानी आत्मविश्वासमा लागेको चोटले सबै जापानीमा मनोवैज्ञानिक हीनताबोध विकास भएको थियो । एउटा शक्ति सम्पन्न साम्राज्य पराया समक्ष नतमस्तक भई प्रशासकीय व्यवस्था जी एच के (जनरल हेड क्वाटरः एलाई शक्तिले जापानमा प्रशासन गर्न खोलेको प्रशासकीय केन्द्र) बाट सञ्चालित भएको टुलुटुलु हेरेर बस्नुपर्दा त्यसको मनोवैज्ञानिक पीडाको कल्पना मात्र गर्न सकिन्छ, शब्दमा उतार्न सकिँदैन । त्यसपछि तत्कालीन सम्राट हिरोहितोले तत्कालै आफ्नो सैनिक बर्दी उतारेर जनतासामु माफी मागे । युद्ध हारको जिम्मेवारी आफैंले लिए । सैनिक बर्दी नलगाउने अठोटको अर्थ सम्राट स्वयं पनि सर्वसाधारणसरह त्यस हारको पीडामा सहभागी भएकोतर्फ सङ्केत गर्दथ्यो । उनीहरूको यो पीडा मेजी शासनकाल (सन् १८६८ देखि १९१२ सम्म)देखिको आर्थिक विकासको गतिलाई कसरी अब निरन्तरता दिने भन्ने पनि थियो । वास्तवमा मेजी शासनकालको प्रगतिले नै जापानी सम्राटलाई शक्तिमान बनाउने आधार दिएको थियो । यो नै शक्ति अभिमान र लडाईंका लागि मातको कारण पनि थियो । जुन मातले चीन, फिलिपिन्स र कोरिया लगायतका एसियाली मुलुकमा अत्याचार नै मच्चाएको थियो ।
दोस्रो महायुद्धको हारपछि जापानसँग दुईवटा विकल्प मात्र बाँकी थिए । सधैँ अमेरिकी नेतृत्वको एलाई शक्तिको मातहतमा रहने वा यस बाध्यतालाई आफ्नो पक्षमा उपयोग गर्न अमेरिकी सामरिक अवधारणाभित्र रहेर आर्थिक साम्रज्यवादको अर्को यात्रा तय गर्ने ? जापानीहरू अमेरिकी शक्तिसँग नराम्ररी परास्त भएकाले दोस्रो विकल्पमा आफ्नो भविष्य देख्न थाले । यो स्वाभाविक पनि थियो । यसले गर्दा रक्षा लगायतका सामरिक खर्च पनि नलाग्ने र आर्थिक विकासमा मात्र ध्यानकेन्द्रित गर्न सकिने सम्भावना देखियो, जसले उच्च आर्थिक वृद्धिलाई स्वतः बढावा दिने सम्भावनालाई उनीहरूले राम्ररी विश्लेषण गरेका थिए । तर, जापानसँग प्राकृतिक तथा अन्य आर्थिक स्रोतको उपलब्धता अति सीमित थियो । उनीहरू बाह्य स्रोतमाथिको निर्भरता पनि बढाउन चाहँदैनथे । उनीहरूसँग जम्मा तीनवटा स्रोत थिए, पहिलो मानवस्रोत जसलाई मेजी शासनकालदेखिको लामो प्रयासले सीप र प्रविधिसम्पन्न बनाएको थियो । साथै, मानव साधनमा कामप्रति उच्च निष्ठा राख्ने संस्कृतिको विकास भैसकेको थियो । दोस्रो केही कोइला र जलस्रोतको सम्भावना थियो । यसलाई अधिकतम उपयोग गरेर तेल तथा अन्य इन्धनमाथिको बाह्य निर्भरता कम गराउन सकिने निष्कर्ष पनि जापानीहरूको थियो । तेस्रो विकल्प थियो रेशम किरा । मेजी समयदेखि नै विकास गरिएको रेशमको व्यावसायिक उत्पादन र निर्यातले मात्र क्षतविक्षत जापानी अर्थतन्त्रको भविष्यले फड्को मार्न सक्तैनथ्यो । यीबाहेक खाद्य पदार्थ तथा अन्य सामग्रीमा ब्राजिल, अमेरिकालगायत पश्चिमी देशसँग निर्भरता थियो नै ।
जापानीहरू रगत पखालेर पसिना झार्दै अर्थतन्त्र विकासको कठिन यात्रामा अघि बढे । अमेरिकाले चलाएको सन १९५२ सम्मको प्रत्यक्ष प्रशासन व्यवस्थाले प्रशासनमा बेग्लै प्रणाली संस्थागत भैसकेको थियो । सबै नागरिकमा बचत र लगानी गर्ने एवं राज्यप्रति सम्मान गर्ने भावना फराकिलो भैसकेको थियो । बचत गर्ने नागरिक संस्कृति विकास गर्न नवजात बालकको जन्मदिनदेखि नगद उपहार दिने र त्यसलाई बचत गरी देश विकासमा लगानी गर्ने बानी सबैमा सञ्चार भैसकेको थियो । यो आद्यावधिक कायम छ । प्रोफेसर यामादाको भनाइमा जापानी अर्थतन्त्र विकासका सात विशेषता छन् । पहिलो विशेषता हो शान्ति, सजिलै कर तिर्ने नागरिक संस्कृति र प्रशासनिक न्याय । वास्तवमा विकासका लागि शान्ति प्राथमिक शर्त हो । प्रशासनिक सक्षमता र सरकारका कामप्रति सहयोग गर्न कर तिर्ने बानीले विकासलाई सहज र दिगो बनायो । दोस्रो, जापानको भौगोलिक विशेषता पनि अचम्मको छ । जापानको पश्चिमी देशहरूसँगको सम्बन्धरेखा भारत, दक्षिण एसिया र दक्षिण चीनमा आएर सकिन्छ । यसबाट जापानले पश्चिीमी देशबाट देखिने सम्भावित क्रियाकलापप्रति सचेत सावधानी सजिलै लिन सक्थ्यो । तेस्रो जापानले पश्चिमी विश्वसँग सावधान सम्बन्ध राख्यो । चौथो, जापानले विश्व इतिहासको अध्ययनबाट पनि प्रशस्त शिक्षा लियो । रुसको क्रिमिया लडाईं (सन् १८५४), बेलायत–क्रिमिया लडाईं र इस्ट इन्डिया कम्पनीविरुद्ध भारतमा भएको सिपाही आन्दोलन (सन् १८५७), फ्रान्स र क्रिमिया लडाईं, फ्रान्स र जर्मन लडाईं (सन् १८७०) र अमेरिकी गृहयुद्धको सावधानी साथ अवलोकन गरेकाले बाह्य शक्तिबाट रहने खतरालाई कसरी र कहिले प्रतिरोध गर्ने तथा त्यसको रणनीतिक बाटो के लिने भन्ने पनि उनीहरूले सचेत रूपमा अध्ययन गरिरहेका थिए । प्रायः लडाईं प्राकृतिक स्रोतमाथिको कब्जा र बजार विस्तारका लागि नै भएका थिए । पाँचौं, निर्यात व्यवसायले मात्र जापानी अर्थतन्त्र विकास र विस्तार गर्न सकिन्छ भन्ने उनीहरूले जानिसकेका थिए । यसका लागि रेशमजस्तो परम्परागत उत्पादन मात्र जापानी निर्यातको गहकिलो आधार बन्न अब सक्तैन भन्ने पनि उनीहरूले ठम्याइसकेका थिए । साथै, निर्यातजन्य उत्पादनमा अति नै न्यून कर लागाई प्रोत्साहनका अन्य मार्ग प्रशस्त गर्न पर्छ भन्ने पनि उनीहरूले सोचि सकेका थिए । छैठौं, रेशम उत्पादनलाई परिष्कार गरेर चीन, फ्रान्स र इटालीसँग प्रतिस्पर्धा गरी विश्व बजार कब्जा गर्न सकिन्छ र यसबाट लाभ लिने प्रशस्त सम्भावना छ भन्ने निष्कर्ष निकालेर प्रविधि विकास तथा विस्तार गरे । सातौं, सबैभन्दा महत्त्वपूर्ण पक्ष जापानको मानव साधन देशको पक्षमा थियो । जनसंख्याको वृद्धि पनि तीव्र गतिमा थिएन । मेजी समयदेखि नै सालाखाला दुई प्रतिशत मात्र जनसंख्या बढेकाले बजारमा काम नै नपाउने श्रम शक्ति निकै कम थियो । साथै, सरकार र कम्पनीहरूले श्रम संगठनको तीव्र विरोधको सामना पनि कहिले गर्न परेन ।
उल्लेखित विशेषताका आडमा आर्थिक विकास अघि बढाएको जापानले आणविक ऊर्जामार्फत शक्ति उत्पादन, औद्योगिक उत्पादन (विशेषतः उपभोग्य र इलेक्ट्रोनिक सामान) र यसका लागि दिगो आड मानव साधन विकास गरी देश विकासको यात्रा तय गरेको छ । तर, जापानसँग अहिले पनि पश्चिमी देशको जस्तो सेवा उद्योग छैन, कच्चापदार्थ तर प्रविधि आयात गरी त्यसलाई परिष्कृत स्वरूप दिने सीप र समर्पणचाहिँ जापानसँग छ । यो अरूले पनि नक्कल गर्नलायक रूपमा विकास भैसकेको छ । प्रो. यामादालाई छलफलको क्रममा मैले प्रश्न गरेको थिएँ– ‘विशेषता त यी भए, तर जापानको आर्थिक विकासको खास कारणचाहिँ के हो ?’ उनले एक शब्दमा जवाफ दिएका थिए– ‘निष्ठाभाव’ । यो एक शब्दको उत्तरपछि सहज विश्लेषण गर्न सकिने विषय के हो भने जनतामा कामप्रति निष्ठाभाव, सरकारमा नीतिप्रति निष्ठाभाव, सहयोगप्रति निष्ठाभाव, नेताहरूको नीति र नैतिकताप्रति निष्ठाभाव, व्यापारीहरूको व्यापार, लगानी र प्रतिस्पर्धाप्रतिको निष्ठाभाव र यी सबै निष्ठाभावको योगचाहिँ देशप्रतिको निष्ठाभाव हो ।
आफूहरू जापानी हुनुमा गर्व गर्ने नागरिक संस्कृति पनि छ जापानीहरूमा । यसको परिणाम हो, देश विकास । हामी कल्पना पनि गर्न सक्दैनौं, जापानको बजेट घाटाको विषयमा । राष्ट्रिय आयको ४४.६ प्रतिशतसम्म नागरिक ऋण पत्रमार्फत प्रतिवर्ष राज्यले ऋण उठाउने गरेको छ र वार्षिक बजेटको २१.४ प्रतिशतभन्दा यसको सावाँब्याज तिर्नका लागि विनियोजन गरिन्छ । नेपालमा भए यो अवस्थालाई पक्कै पनि वित्तीय टाटपल्टाइको रूपमा लिइन्थ्योहोला । साथै, वित्त सिद्धान्तलाई मान्ने हो भने पनि आन्तरिक ऋणभन्दा बाह्य ऋण हरेक दृष्टिकोणमा आर्थिक उपयोगी हो । जापानीहरूको व्यवहारले वित्त सिद्धान्तलाई नै हाँक दिएको छ । शायद यसलाई अर्को वित्त मोडेल नाम दिन उचित होला, किनकि यति ठूलो वित्तीय घाटाले पनि वित्त सन्तुलनलाई बिगारेको छैन । जापानीहरूको टोटल डेब्ट स्टक मात्र नौ दशमलव दुई खर्ब डलर भैसकके छ, त्यो पनि सबै आन्तरिक ऋणका रूपमा । साथै, यो वार्षिक गार्हस्थ उत्पादनको २६३ प्रतिशत हो । सामान्यतः जीडीपीको दुुईतिहाईभन्दा बेसी ऋण परिमाण वित्तीय रूपमा राम्रो मानिँदैन । ऋण परिचालनमा पनि वित्त कम्पनी र साना सहकारी संस्थाहरूको योगदान निकै बढी छ । त्यसैले हामीले जानेको वित्त सिद्धान्तको यो ठीकविपरीत निचोडमा रहेर सफल भएको छ । लाग्छ, यो प्रो. यामादाले भने झैँ निष्ठाभावको परिणाम होला । निष्ठाले सिद्धान्तलाई पनि अर्कोतर्फ मोडेर पनि सही प्रमाणित गर्न सक्दोरहेछ भन्ने जापानी वित्त मोडेल हो यो ।
जापानीहरू आफ्ना प्रत्येक आर्थिक उपलब्धिका आँकडालाई अमेरिका र ओईसीडीसँग भिडाएर हेर्न रुचाउँछन् । विश्वको गार्हस्थ उत्पादनमा अमेरिकी र ओईसीडीको हिस्सा क्रमशः २८ र ४६ प्रतिशत छ, जबकि जापान एक्लैको ४.१ प्रतिशत छ । यो उसको जनसंख्या र क्षेत्रफलको आधारमा अमेरिकाभन्दा पनि उच्च मान्न सकिन्छ । त्यस्तै, प्रतिव्यक्ति आयमा अमेरिका र युरोपीय संघसँग जापान नजिक छ । शिक्षा, सामाजिक सेवा, सामाजिक सुरक्षा र समृद्धिका अन्य सूचक सापेक्षिपक रूपमा उच्च छन्, अन्य आर्थिक तथ्यहरू पनि जापानका पक्षमा देखिएका छन् । तर, पुननिर्माणमा समयमा जापानी अर्थतन्त्रले दुईपटक विशाल आँधी ब्यहोर्नुपरेको थियो, सत्तरीको दशकको तेल संकट र नब्बेको दशकको लामो आर्थिक मन्दी । अहिले पनि जापानी अर्थतन्त्र मन्दीको प्रवृत्तिमा छ । जापानीहरू उच्च उपभोग संस्कृतिमा छन् । भविष्यमा आउने वित्तीय संकटप्रति पनि जापानी अर्थशास्त्री र नीति निर्माताहरू अहिलेदेखि नै संवेदनशील देखिएका छन् । उनीहरूलाई सबैभन्दा डर यहाँको जनसंख्या संरचना (एजिङ्) को बदलिँदो प्रवृत्तिप्रति छ । देशको स्वस्थ्य आर्थिक विकासका लागि दुई प्रतिशत जति जनसंख्या वृद्धि आवश्यक र आदर्श मानिन्छ । तर, यहाँ यो नकारात्मक दिशातर्फ लाग्ने संकेत देखिएको छ । ढिलो विवाह गर्ने वा विवाह नै नगर्ने, जोडीहरू लिभ इन रिलेसनमा रहने, विवाहपछि पनि बच्चा पैदा नगर्ने तर सरदर बाँच्ने अवधि भने निरन्तर बढेकाले जनसंख्या संरचनामा यो परिवर्तन देखिन लागेको हो । यसको अर्थ प्रत्येक वर्ष सक्रिय श्रमशक्तिको अंश श्रम बजारमा घट्दै गएको छ र सरकारले सामाजिक बीमामा गर्ने विनियोजनको माग भने बढेर गएको छ । केही वर्षपछिको आर्थिक स्थिति डरलाग्दो देखिन सक्छ, किनकि सरकारले विद्यमान लगानी ढाँचा र वित्त संरचनालाई व्यापक रूपमा बदल्न पर्ने जोडदार माग पनि परिस्थितिले गर्दैछ । अर्को चिन्ता सार्वजनिक आय र व्ययलाई कसरी समायोजन गर्ने भन्ने पनि छ । सरकारी बजेट संचरनामा केही अघि देखिएको राजस्वको योगदान ५५.४ र सरकारी ऋण पत्रको योगदान ४४.६ प्रतिशत कोभिडपछि सुध्रिन सकेको छैन । यसले प्रत्येक वर्ष ऋण तिर्नका लागि विनियोजन समस्या खडा गर्दैछ । अर्को आर्थिक हाँक भनेको सामाजिक बिमा, कल्याणकारी कार्य र सार्वजनिक निर्माणको लगानीबीचको फासला हो । जापानी अर्थशास्त्रीहरू अर्थतन्त्रका यी प्रवृत्तिको उपचारका लागि निरन्तर अध्ययन गर्दैछन् ।
नेपाल र जापानको विकास थालनीको क्रम लगभग एकै समयतिर भएको हो । यी देशमा समान खालको राजनैतिक र प्रशासनिक प्रणाली अपनाइएको छ । नेपालको जनसंख्याको आकार निकै सानो छ, तर प्राकृतिक स्रोत साधनको उपलब्धता भने अधिक नै भएकाले विकासका सम्भावना जापानको सापेक्षमा प्रशस्त छन् । कतिपय तथ्यहरूले नेपालको आर्थिक अवस्था नराम्रो पनि भन्न मिल्दैन । जापानीहरूको जस्तो बेदना र पीडाको इतिहास पनि हालसम्म नेपालले भोग्न परेको छैन । लोकतन्त्र र आर्थिक उदारवादका कारण बाह्य विश्वलाई नेपालतर्फ आकर्षित गर्न पनि सकिने अवस्था छ । भर्जिन प्राकृतिक स्रोतले धेरै सम्भावना देखाउँछ । प्रशासनमा विज्ञता बढेको छ र नेताहरूमा लोकतन्त्रको संस्कार पनि बस्ने क्रम विकास गर्ने अवसर छ (फिलहाल सुशासन कमजोर भएपनि) । जनता जागरूक पनि भएका छन् र विकासप्रतिको आवाज प्रणाली पनि दह्रिलो भएको छ । नेपालले अवलम्बन गरेका कतिपय नीतिहरू विश्वस्तरका देखिएका छन् । यी सबल पक्षका रहँदारहँदै पनि हामी विकासको अहम् गन्तव्यतर्फ लाग्न सकेका छैनौं । किन त ? हामीमा कमी एउटै छ, त्यो हो प्रो. यामादाले भनेझैँ निष्ठा वा देशप्रतिको समर्पण भाव । नेपालीहरू निष्ठा अरूबाट खोज्दछन्, जापानीहरू आफैंबाट । नेपालीहरू भन्न धेरै जान्दछन्, तर गर्न कम । तर, जापानीहरू भन्न सारै थोर जान्दछन्, तर गर्न धेरै । जापानमा कामप्रति समर्पण संस्कृति छ, तर नेपालमा श्रमप्रति उपेक्षा गरिन्छ अनि उपलब्धि भने अधिक खोजिन्छ । सीपयुक्त र उच्च जिम्मेवारीका व्यक्तिले काम गर्नुहुँदैन भन्ने मनोसंस्कृति छ । अरूबाट अनुशासन र काम खोज्ने अनि आफूचाहिँ त्यसबाट निरपेक्ष रहने मनोवृत्ति छ । त्यसैले हामी वास्तविकताबाट शिक्षा लिई आफ्नो विकास यात्रातर्फ आफैँ अघि बढ्न आवश्यक छ । यो यात्रा जटिल भए पनि यसमा ढिला गर्नु अरू कठिन ठहरिनेछ । समृद्धि र रूपान्तरणमा नेपालको यात्रा ढिलो भएको छ, विगतका दशकहरू गुमेको अवसरमा रहे, त्यो पनि आफ्नै कारण । अहिले पनि विकास संस्कृति विकास भैसकेको छैन । शासकीय क्षमता कमजोर छ र राजनीतिक तहबाट देखाउनुपर्ने नीतिक्षमता र सुशासनको संस्कार देखिएको छैन । प्रशासनिक व्यावसायिकता र निजी तथा सहकारी क्षेत्रको मूल्य आचरणमा कमजोर छन् । फराकिलो विकास र धेरै सेवाका लागि सङ्घीय शासन पद्धति अवलम्वन गरिएकोमा शासकीय तहहरू आर्थिक संरचना विस्तारमा ध्यान दिइरहेका छैनन् । संघीयताले राजनैतिक व्यवस्थापन भएको छ, विकास व्यवस्थापन र स्थानीय स्तरदेखि आर्थिक संरचना विकास गर्ने सोच संस्कार विकास भएको छैन । फगत यति बुझ्नुपर्छ कि विकासको सम्भावना प्रत्येक नेपालीभित्र छुपेर बसेको छ । त्यसलाई विकास संस्कृतिमा रुपान्तरण गर्नु आवश्यक छ, जुन निकै ढिला भएको छ । (@mainaligopi)
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...