×

कांग्रेसको खस्किँदो साख

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

काठमाडाैं | मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

Laxmi Bank

सन् २०१६ मा प्रथम प्रकट र अहिले दोस्रोपटक अमेरिकी राष्ट्रपति भएका ट्रम्पको पहिलो कार्यकाल त्यति सुखद भएन । अब यो कार्यकाल कस्तो रहला, समयक्रममा विश्व जनमतले मूल्यांकन गर्ने नै छ । उग्रवामपन्थीहरूले उग्र दक्षिणपन्थीको बिल्ला भिराएपनि उनले प्रजातान्त्रिक विश्वको नेतृत्व गर्दछन् । उदार प्रजातन्त्रवादीहरूसँग उनको कार्यशैलीगत मतभेद मात्र हो । उनले अमेरिकालाई महान् मात्र होइन, बलियो र शक्तिशाली समेत बनाउने घोषणा गरेका छन् । आशा गरौं, उनले अमेरिकालाई सुदृढ प्रजातान्त्रिक मुलुकको रूपमा अघि बढाउने सफलता प्राप्त गरुन् । सफल कार्यकालका लागि राष्ट्रपति ट्रम्पलाई शुभकामना छ र विजयका लागि धेरै–धेरै बधाई !!


Advertisment

यता नेपालमा बेला–बेलामा आयोजना हुने गरेका छलफल, अन्तरक्रिया वा भेलामा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– यहाँ राजनीतिक स्थायित्व र विकास किन भएन वा हुन सकेन ? यसको प्रमुख कारण के हो ? दोषी को हो र अब के हुन्छ ? समाजमा शान्ति र अमनचयन किन देखिएन ? ठूलो संख्यामा भइरहेको युवा पलायनलाई रोक्ने कार्यक्रम किन आएन ? अहिले देशका जल्दाबल्दा समस्या के–के हुन् ? देश चलाउने अवसर बारम्बार क-कसले पाए ? यसै सन्दर्भ र विषयमा केही दिनअघि मोफसलमा केही कांग्रेसजनको एउटा सानो अन्तरक्रिया सम्पन्न भयो, जहाँ निकै गम्भीर सवालजवाफ भयो । सहभागी अधिकांशले समसामयिक विषयमा आ-आफ्ना विचार राखे । त्यसमध्येको  केही महत्त्वपूर्ण अंश प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।


Advertisment

राष्ट्रिय तथा अन्तर्रास्ट्रिय अनुसन्धाताहरू भन्छन्, 'नेपालको समुन्नति र राजनीतिक स्थायित्व नहुनुका केही खास कारणहरू छन् । मूलतः २००७ यताको सत्ताको चरित्र र प्रकृति, विकासको प्रक्रिया तथा राजनीतिक कार्यशैलीमा देखिएको जडता र एकरूपता नै वर्तमान अवस्थाको कारक हो । यसमा समयसापेक्ष गतिशीलता र परिष्कार नल्याउनाले राजनीतिले युगानुकुल सक्रियता प्रदर्शन गर्न सकेन अर्थात् समयको भारी बोक्न सकेन । यसबीचमा निर्बाध रूपमा लोकतान्त्रिक शासन प्रणालीले काम गर्न पनि पाएन । यसको संस्थागत विकास हुनै नपाई लामो समयसम्म पञ्चायती राजतन्त्र चल्यो । अर्को कुरा २०४६ सालपश्चात् विभिन्न राजनीतिक दलभित्र प्रवेश गरेको नवधनाढ्य, भुइँफुट्टा र अवसरवादी प्रवृत्ति निर्णायक हुँदै गयो ।

यस्ता तत्त्वले दलको मूल नेतृत्व वरिपरि डेरा जमाउने र आफ्नो स्वार्थमा हिँडाउने प्रयास गर्‍यो । दलका सदस्यहरू र सर्वसाधारण जनताको प्रमुख नेतासम्म पहुँच नै भएन र विधिले पनि काम गरेन, जबकि लोकतन्त्र भनेको विधिको शासन हो । यसो भएपछि राज्यको कार्यकारी प्रमुखले जनभावनालाई आत्मसात गर्न सकेन । र, ऊ सीमित स्वार्थी तत्त्वको कठपुतली बन्न पुग्यो । त्यस्तै राज्यको प्रमुख भूमिकामा रहेको नेता वा कार्यकारी व्यक्ति विवेकशील नहुनु पनि आजको प्रमुख समस्या हो ।' छलफलमा यस्तै धारणा आए र अधिकांशले सहमति पनि जनाए । सहभागी सबैले खुलेर कुरा राखेका थिए ।

इतिहासको दोबाटोमा निरीह बनेर उभिएको देशलाई यस बिन्दु र मोडबाट सही दिशामा तीव्र गतिमा अघि बढाउनु आजको प्रमुख आवश्यकता हो । त्यस छलफलले नेता विशेषका वैयक्तिक कमजोरी र अयोग्यताका विषयमा समेत प्रश्न उठाएको थियो । तथापि, त्यस कुराको चर्चा गर्नु आजको उद्देश्य होइन र उपयुक्त पनि छैन ।

त्यसैगरी, नेपालमा केही समय प्राध्यापन गरेका र लामो समयदेखि अमेरिका बसिरहेका एकजना वयोवृद्ध बौद्धिक व्यक्तिको कथन थियो, 'म ट्रम्पसँग सहमत छु । अमेरिका विश्व नेता राष्ट्र हो । कतिपय कुरामा उनीसँग मेरो आंशिक असहमति होला, तर अमेरिकी राष्ट्रपति दह्रो हुनैपर्छ । मेरो लागि भने यो अन्तिम नेपाल भ्रमण हुनसक्छ । ८४ पुगें । हिँडडुल गर्न गाह्रो हुँदै गएको छ । एउटा कुरा भन्दिन्छु, २०४६ सालअघिको कुरा छाडौं, तत्पश्चातचाहिँ के हुनुपर्थ्यो के भयो भने वृहत् छलफल गर्नैपर्छ । राजनीतिक दलहरू खासगरी कांग्रेसले परिवर्तनको औचित्यलाई सिद्ध गर्न सक्यो कि सकेन ? हामीलाई जनअधिकारसहित आर्थिक समुन्नति चाहिएको थियो । त्यस्तै समाजमा शान्ति, देशको भौतिक विकास र राष्ट्रिय सुरक्षा प्रमुख कुरा थियो । आखिर के–के भयो त ? केबल राजनीतिक अधिकारले मात्र त प्रजातन्त्र समृद्ध हुँदैनथ्यो नि ! देशको संविधान, कानून, राजनीतिक दलहरू, आवधिक चुनाव र विभिन्न तहका सरकारको स्थापना मात्रले प्रजातन्त्रलाई पूर्णता दिँदैन नि ! यो त संरचनात्मक कुरा मात्र भयो र राजनीतिक/सैद्धान्तिक जग वा आधारशिला मात्रै भयो । यी सबै प्राविधिक विषय मात्र हुन् । यसलाई जीवन्त बनाउने त हाम्रा गतिविधि, क्रियाकलाप र व्यवहारले हो । यस दिशामा के–के भयो त भन्दा स्थिति झन् बिग्रिएको र निराशाजनक देखिन्छ । अनि देश कसरी अगाडि बढ्छ त ? हामी कहाँ जाँदैछौं ? पुग्ने ठाउँ कहाँ हो ? बाबुहरूका कुरा सुन्दा त उदेक लाग्छ ।'

उनले थपे भने, 'लोकतान्त्रिक सत्ता कर्कस र कठोर हुनुहुँदैन । यसमा विनयशीलता र अधिकतम लचिलोपन चाहिन्छ । र, बेलाबेलामा सरकार र नागरिकबीच संवाद भइरहनुपर्छ । नेपालको लोकतन्त्रले विनम्रता सिकेन र सिक्न पनि चाहेन । राणाकालीन चिन्तन, पञ्चायती चरित्र र बहुदलीय अहङ्कार हाम्रा विशेषता बने । अनि कसरी लोकतन्त्रले काम गर्छ ? यो तरिकाले देश कहिले विकसित बन्छ ? देशले आर्थिक प्रगति नगरिकन लोकतान्त्रिक प्रणाली सुदृढ हुनै सक्तैन । र, लोकतन्त्र स्थापनाको औचित्य समेत सिद्ध हुँदैन । अमेरिका समृद्ध नबनेको भए त्यहाँको लोकतन्त्र पनि अर्थहीन हुन्थ्यो ।'

अहिले युक्रेनको हालत हेरौं, उसले बलियो छिमेकी रसिया र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूलाई विश्वास र सन्तुलनमा राख्न नसक्दा देश नै तहसनहस भएको हामीले देखेका छौं । राजनीतिमा कुनै साइनो सरोकार नभएका हास्य कलाकार एवं हालका राष्ट्रपति जेलेन्स्कीको सनक र बहुलठ्ठीपनका कारण देश खण्डहरमा परिणत हुँदैछ । यसमा रसियन दादागिरी र मिचाहापन पनि कारणको रूपमा छ । तथापि देश जोगाउने त्यहाँको नेतृत्वले नै हो । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, मालदिभ्सको हालत खराब छ । यसको कारण त्यहाँको राजनीतिक नेतृत्व हो । अफगानिस्तान त्यहाँको लामो आन्तरिक हिंसात्मक द्वन्द र गृहयुद्धको परिणाम भोग्दैछ । पाकिस्तानको राम्रो अवस्था छैन । नेपालको अवस्था चिन्ताजनक छ ।

यसको हेक्का हामीलाई छ कि छैन ? हामीले विश्वका दुई ठूला महाशक्ति राष्ट्र भारत र चीनसँग सुमधुर सम्बन्ध राख्न सकेको खै ? यी दुवै देश हाम्रा स्थायी छिमेकी हुन् । यीनलाई हामीले हाम्रो समुन्नतिका कारक र भाग्यविधाता बनाउन नेतृत्व कुशलता देखाउन सक्नुपर्छ कि पर्दैन ? नेपालमा दुवै छिमेकीको अहितमा कुनै गतिविधि हुन दिनुहुँदैन र उनीहरूको राष्ट्रिय स्वार्थमा ठेस पुग्ने कार्य गर्नुपनि हुँदैन । हाम्रो आन्तरिक मामिलामा उनीहरूलाई खेल्ने ठाउँ पनि दिनुहुँदैन । राजनीतिक दल र नेताले आफ्नो निजी र दलगत स्वार्थमा केन्द्रित भएर फगत सत्ताका लागि एकअर्कालाई उपयोग गर्नु हुँदैन । आफ्नो राष्ट्रिय हितविरुद्ध कसैसँग सम्झौता पनि गर्नुहुँदैन । राष्ट्रिय स्वार्थभन्दा माथि अरू स्वार्थ हुन सक्तैन । नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानमा आँच पुग्ने कार्य गर्नु हुँदैन । यसैगरी विश्वको सर्वाधिक  शक्तिशाली राष्ट्र अमेरिकाको सहयोग हामीलाई सधैं चाहिन्छ भन्ने सदैव ख्याल राख्नुपर्छ।' बुढा बोल्दै गए । बोलि मधुरो भएपनि कुरा जायज र मनासिव थिए । सहभागीलाई प्रतिवाद गर्नु थिएन, गर्ने ठाउँ पनि थिएन।

उनका धेरै कुरामध्ये एउटा कुरा निकै गम्भीर थियो । उनले भने- 'म पनि कांग्रेस थिएँ । अहिले डेमोक्रेट मात्रै छु । वि.सं. २००३ मा यसको स्थापनापछि २०४६ सम्म नेपाली राजनीतिको मियो थियो कांग्रेस । त्यसपछि खस्कँदै गयो र अहिले कहाँ छ, कहिले सोचेका छौं ? यसको कारण के ? किन यसको ऐतिहासिक प्रतिष्ठामा ह्रास आयो र यसका लागि जिम्मेवार को ? जनता बेखुश, कार्यकर्ता बेखुश, छिमेकी बेखुश, अनि टिक्छ कसरी ? कांग्रेसको सैद्धान्तिक धरातल, मौलिक पहिचान, चम्किलो छवि र अपार जनविश्वास जोगिएको छ त आज ? यसमा तलमाथि कसरी भयो ? जनता सचेत भइसकेका छन् । सरकार र राजनीतिक दलका हरेक गतिविधिको सुक्ष्म मूल्यांकन गरिरहेका छन् । अहिले पनि सरकारको चाल उही छ । दलका गतिविधि उस्तै छन् । हामीले परबाट हेर्दा छर्लङ्ग देखिन्छ ।

मूलतः कांग्रेसले नेपालका अहिलेका राजनीतिक गतिविधिका बारेमा गम्भीर समीक्षा गर्नुपर्छ र स्वयं गम्भीर हुनुपर्छ । आफ्नो आत्मसमीक्षा समेत गरेर आफूलाई समयानुकूल सान्दर्भिक बनाउनु पर्छ, नत्र हेर्दाहेर्दै सबै कुरा डुब्छ । अनि सबै बिग्रेपछि थाप्लोमा हात राखेर के हुन्छ ? मलाई अझै पनि कांग्रेसको माया लाग्छ र यति कुरा गरेको हुँ, नत्र किन भन्थें ? म त अहिले नेपाली नागरिक पनि होइन । बाबुहरूले चाणक्य नीति कति पढेका छौ, मलाई थाहा छैन । तर, त्यतिबेलाको सन्दर्भमा उनले भनेका कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन्।

जस्तो,

प्रजा सुखे सुखं राज्ञः प्रजानामं तु हिते हितम्,

नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् ।

शासकले आफ्नो हितलाई कदापि प्राथमिकतामा राख्नुहुँदैन । जनताको हित र सुखलाई नै आफ्नो सुख ठान्नुपर्छ । के अहिले यसरी सोच्ने र काम गर्ने दल र नेता छन् त ? सोच !

त्यहाँ अर्को प्रश्न पनि उठ्यो । सहभागीहरूको निचोड थियो, राजनीतिक दल एउटा वृहत् परिवार हो । यहाँ जोडिने हरेक सदस्यले आफ्नो परिवारको भलो चिताउँछ र सकेको योगदान पुर्‍याउँछ । सबैको योगदानले राजनीतिक दल उभिन्छ, हिँड्छ र दौडन्छ । अरू दलसँग प्रतिस्पर्धा गर्छ र राज्य सञ्चालनको भूमिकामा पुग्छ । त्यतिबेला दल र नेताको परीक्षा शुरू हुन्छ । उसले खेल्ने भूमिका र गर्ने व्यवहारका आधारमा दलको छवि निर्माण हुन्छ । र, ठूलो संख्यामा प्राप्त जनसमर्थनले दल प्रतिष्ठित हुँदै जान्छ र अन्ततः स्थापित हुन्छ । कांग्रेसको विगत यही हो । तर, आज यो दल के गर्दैछ र यसको प्राथमिकता के छ ? सरकारमा पुगेपछि यसले के गर्छ र आफ्नो दलीय परिवारका सदस्यहरूलाई कस्तो व्यवहार गरेको छ ? जनताको सुखदुःख बुझेको छ कि छैन ?

प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीतिको धरोहर बन्न र त्यसलाई बचाउन त लर्तरो प्रयासबाट सम्भव नै छैन । आफू उदाहरणीय नबनिकन अरूलाई उपदेश दिन मिल्दैमिल्दैन । नेतृत्वको परीक्षा तब शुरू हुन्छ, जब जिम्मेवारी प्राप्त हुन्छ ।

सर्वसाधारण नेपाली जनतासँग कस्तो सम्बन्ध राखेको छ ? यस दलका बारेमा जनता के भन्दैछन् ? के केही व्यक्तिको निजी आकांक्षा र महत्त्वाकांक्षा पूरा गर्ने हतियार मात्र हो त राजनीतिक दल ? हिजोआज त्यस्तो देखिन थालेको छ । दलको प्रमुख व्यक्ति बन्न र त्यसको माध्यमबाट शासनको मुख्य ठाउँमा पुग्न मात्र तँछाडमछाड देखिएको छ । नेताहरूको दलभित्र, बाहिर र संसद्को क्रियाकलापमा जनभावना प्रतिविम्बित हुँदैन ।

आमजनतालाई नेताले मेरा लागि बोल्दैछ र काम गर्दैछ भन्ने अनुभूति नभएसम्म त्यो वास्तविक लोकतन्त्र हुँदैन । अहिले  देश, समाज, लोकतन्त्र दलका मूल प्राथमिकतामा पर्न छाडेका छन् । दलहरूको समग्र प्रवृत्ति नै जनताप्रति अनुत्तरदायी देखिएको छ । यसले हामीलाई कहाँ पुर्‍याउँछ ?

सहभागीहरूको चिन्ता र मुख्य कुरा के थियो भने कांग्रेस नेपाली राजनीतिको एउटा धुरी थियो, जसमा सबैको नजर पर्थ्यो । उसको बोली जनबोली मानिन्थ्यो । तर, आज यो दल एउटा औसत राजनीतिक दलमा रुपान्तरित भयो, अरू दल जस्तै । यस्तो कसले बनायो ? अर्थात्, कांग्रेसको सुदृढ प्रजातान्त्रिक अग्लो धुरी कसले ढाल्यो ? यो विषय निकै गम्भीर थियो । जवाफ कोहीसँग थिएन । दिनरात निजी र वैयक्तिक चिन्तनमा मग्न नेताहरूसँग जवाफ हुने कुरै भएन । थोत्रा र बासी क्रियाकलापमा अभ्यस्त नेतागणलाई नयाँ पुस्ताको भविष्यसँग के सरोकार ?

सबैले युवा नेतृत्वको गतिविधि र व्यवहारको पनि आलोचना गरे । कुराले मात्र च्युरा नभिज्ने भएकाले परिणाम निकाल्ने गरी खै काम गरेको ? के–के भनियो भनेर मात्र त पुग्दैन नि ! के–के गरियो त, जवाफ दिने स्थिति छ कि छैन ? यो गुनासो स्वभाविक थियो । अझ युवा पुस्ताका अगाडि त चुनौती नै चुनौती छन् ।

प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीतिको धरोहर बन्न र त्यसलाई बचाउन त लर्तरो प्रयासबाट सम्भव नै छैन । आफू उदाहरणीय नबनिकन अरूलाई उपदेश दिन मिल्दैमिल्दैन । नेतृत्वको परीक्षा तब शुरू हुन्छ, जब जिम्मेवारी प्राप्त हुन्छ । युवा पुस्ताका निम्ति त झन् ठूलो परीक्षा छ । एउटा कुरा, प्रबल आत्मविश्वास, व्यवस्थित कार्ययोजना, सक्षम र इमानदार संयन्त्र, अथक प्रयत्न र निरन्तरको क्रियाशीलता नभई लक्ष्यमा पुगिँदैन र देश पनि बन्दैन । यस विषयमा कुनै छलफल देखिँदैन ।

तसर्थ इतिहासको दोबाटोमा निरीह बनेर उभिएको देशलाई यस बिन्दु र मोडबाट सही दिशामा तीव्र गतिमा अघि बढाउनु आजको प्रमुख आवश्यकता हो । त्यस छलफलले नेता विशेषका वैयक्तिक कमजोरी र अयोग्यताका विषयमा समेत प्रश्न उठाएको थियो । तथापि, त्यस कुराको चर्चा गर्नु आजको उद्देश्य होइन र उपयुक्त पनि छैन ।

NLIC
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x