×

सन्दर्भ: कुकुर तिहार

बफादार कुकुरको कथा : मालिकको इमानदार मित्र, अनुसन्धानमा प्रहरीको सारथि

काठमाडाैं | कात्तिक १५, २०८१

हिन्दू नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेर कुकुर तिहार मनाइन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

Laxmi Bank

कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।


Advertisment

कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।


Advertisment

null

कुकुर इमान्दार र बफादार जनावर मात्रै होइन, यसले सुँघेर अपराधीहरू पत्ता लगाउन पनि सघाउँछ । नेपालमा भएका केही ठूल्ठूला आपराधिक घटनामा कुकुरको सहायताले प्रहरी अपराधिसम्म पुगेका दृष्टान्त छन् । कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ। 

हेरौं केही दृष्टान्तहरू :
लमजुङको बेसीशहर नगरपालिका– ११ स्थित चिती भन्ने स्थानमा गत साउन २९ गते ५६ वर्षीया सानुनानी घर्ती घरमै मृत फेला परिन् । रातिको समयमा उनको घाँटी रेटेर हत्या भएको थियो । 

तत्कालीन समयमा प्रहरीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सकेको थिएन । त्यसपछि गण्डकी प्रदेशस्थित केनाइन शाखामा रहेको ‘टाइसन’ नामको तालिमप्राप्त कुकुरलाई घटनास्थलमा लगियो । घर्तीको शव छोप्न प्रयोग गरेको प्लास्टिक सुँघेपछि टाइसन ४ किलोमिटर दक्षिणतर्फ बेसीशहर नगरपालिका– ११ बजरखुट्टास्थित सुग्गरे सार्कीको घरमा पुगेर रोकियो । 

प्रहरीले सार्कीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरे ।

सार्कीले घर्तीसँग पैसा सापटी मागेका रहेछन् । सापटी दिन अस्वीकार गरेपछि खुर्पा प्रहार गरेर हत्या गरी भागेको प्रहरी अनुसन्धानमा खुल्यो ।
....
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका– ७ खनियाबासमा गत साउन १८ गते तेजविक्रम थापाकी श्रीमती ७२ वर्षीया रत्नकुमारी थापा घरमै मृत फेला परिन् । दुवै हात बाँधेको अवस्थामा भुइँमा मृत फेलापरेकी थापाको हत्या भएको पुष्टिसँगै प्रहरी अनुसन्धानमा खटियो । 

कुनै सुराक नभेटिएपछि तालिमप्राप्त कुकुर परिचालन गर्ने योजनाअनुरूप नेपाल प्रहरीको केनाइन महाशाखामा रहेका ‘रोज’ र ‘टाइगर’ लाई घटनास्थलमा पठाइयो । 

बेल्जियन शेफर्ड जातको ‘रोज’ र जर्मन शेफर्ड जातको ‘टाइगर’लाई घटनास्थलमा पुर्‍याइएपछि कोदोबारीमा भेटिएको मानिसको पैतालाको छाप सुँघेर ती कुकुर अगाडि बढ्न थाले । 

घटनास्थलबाट पूर्वतर्फको कच्ची बाटो हुँदै करिब साढे ३ किलोमिटर ओरालो पार गरेर खेतमा पुगी कुकुर रोकिए ।

अनुसन्धानमा खटिएका प्रहरीले सोही सडक हुँदै हिँड्ने मानिसहरू पहिचान गरेर स्क्रिनिङ गर्दा ३६ वर्षीय सञ्जिव देउजाको नाम खुल्यो ।

उनै देउजा सो समय गाउँमा ओहोरदोहोर गरेको खुलेपछि खोजी गर्दैजाँदा काठमाडौंको गोंगबुबाट साउन २१ गते पक्राउ गरियो ।

थापाले वृद्ध भत्ता १२ हजार बुझेको र छोरीले ५० हजार रुपैयाँ दिएको थाहा पाएपछि देउजाले पैसाका लागि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

null

गएको महिना मात्र प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा यी दुई हत्याकाण्डको सफल अनुसन्धान गरेको छ । कुकुरको सहयोगमा सयौं घटनाको अनुसन्धान सफल भएका छन् । 

केनाइन महाशाखाकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) देउती गुरुङका अनुसार कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्तै तीक्ष्ण हुने भएकाले तालिमपश्चात थुप्रै अपराध अनुसन्धानमा यसको सहयोगमा अपराधी पत्ता लागेका छन् ।

उनी भन्छिन्, ‘तालिम दिएपछि कुकुर आज्ञाकारी बन्छ । त्यति मात्रै होइन, कुकुरकै सहयोगमा थुप्रै अपराधको अनुसन्धान सफल भएका उदाहरण छन् ।’

साउन १८ गते रत्नकुमारी थापा र साउन २९ गते सानुनानी घर्तीको हत्याका अभियुक्त पक्राउ गर्न कुकुरकै सहयोगमा सफल भइएको जानकारी गुरुङले दिइन् । 

नेपाल प्रहरी केनाइन महाशाखा अन्तर्गत हाल ८७ वटा तालिमप्राप्त कुकुर छन्, जसमध्ये महाशाखाकै खोरमा ३६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा, गण्डकी प्रदेशको पोखरामा ७, लुम्बिनी र कर्णाली प्रदेशका लागि बाँकेको कोहलपुरमा ७, कोशी प्रदेशमा ६, बागमती प्रदेशमा ६, सुदूरपश्चिम प्रदेशमा ५, वीराटनगर विमानस्थल, मधेश प्रदेशको धनुषास्थित लालगढ, जनकपुर विमानस्थल र वीरगञ्जमा ३/३ वटा तालिमप्राप्त कुकुर छन् । 

नेपाल प्रहरीसँग विभिन्न अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरहरू छन् । प्रहरीले विशेषगरी चार प्रकारका अनुसन्धान गर्न कुकुर प्रयोग गर्ने गरेको छ ।

जघन्य प्रकृतिको हत्या, खोजी तथा उद्धार, विस्फोटक पदार्थ र लागूऔषध पत्ता लगाउन प्रहरीले कुकुर प्रयोग गर्ने गरेको जानकारी गुरुङले दिइन् । कुकुरलाई दैनिक ६ सय ग्राम खानेकुरा दिइन्छ । 

रोजलाई ‘बेस्ट ह्यान्डलर’ उपाधि 

प्रहरीका तालिमप्राप्त कुकुरलाई पनि अन्य घरपालुवा कुकुरलाई झैँ तिहारमा पुज्ने गरिन्छ । कुकुरतिहारकै दिन केनाइन महाशाखा र शाखामा रहेका सबै कुकुरको पूजा गरिन्छ ।

गत वर्ष बेल्जियन शेर्फड रोजले ‘बेस्ट ह्यान्डलर’ उपाधि पाएको थियो । साढे ३ वर्षीय रोजले थुप्रै अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग गरेको भन्दै उसलाई उक्त उपाधि दिइएको थियो । 

गत वर्ष भदौ ३० गते काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्यामा संलग्न सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गर्न उसले सघाएको थियो ।

गैरीगाउँस्थित दिव्य सःमिलमा काम गर्ने दोलखाका कुमार भुजेलसहित चारजनाको हत्या गरेर भागेका भण्डारी कोटेश्वरसम्म हिँडेर गएका थिए ।

रोजले घटनास्थल सुँघेर रोज हिँडेको बाटो कोटेश्वरसम्म पहिल्याएको थियो । रोजले पहिल्याएको बाटोमा राखिएका सीसीटीभी फूटेज हेरेर प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिन सफल भयो ।
हाल उनी पुर्पक्षका लागि कारागारमा छन् ।

८ वर्षपछि अवकाश
तालिम प्राप्त कुकुरले ८ वर्ष उमेर कटेपछि अवकाश पाउँछन् । अवकाशप्राप्त कुकुरलाई त्यत्तिकै भने छाडिँदैन । उनीहरूलाई इच्छुक सर्वसाधारणले पाल्न चाहेमा जिम्मा लगाइन्छ ।

केनाइन महाशाखाका डीएसपी वासुदेव सुवेदीका अनुसार सार्वजनिक सूचना जारी गरेर इच्छुकलाई आह्वान गर्ने गरिएको छ । इच्छुक व्यक्तिले पाल्न सक्ने भए मात्रै कुकुर पठाइन्छ । त्यसका लागि कुनै रकम तिर्नुपर्दैन । 

यस्तो छ, केनाइन महाशाखाको विगत

वि.सं. २०२६ सालमा नेपाल प्रहरीका ५ जना कर्मचारीलाई कुकुरसम्बन्धी तालिमका लागि मलेसिया पठाइएको थियो । नेपाल प्रहरीले ४ वटा कुकुरबाट केनाइन सेवा शुरू गरेको थियो ।

प्रहरीले मलेसियाबाटै दुईवटा तालिमप्राप्त भाले जर्मन शेफर्ड कुकुर ल्याएको थियो । त्यस्तै सोही जातको दुईवटा कुकुर भने नेपालमै खरिद गरिएको थियो । 

२०३२ मा प्रहरी प्रधान कार्यालय नक्सालमा ‘प्रहरी कुकुर शाखा’ का रूपमा १० जना कर्मचारीको दरबन्दी राखेर अपराध अनुसन्धानमा कुकुरको प्रयोग शुरू गरिएको थियो ।

२०४७ मा तत्कालीन ५ वटै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखा स्थापना गरेर केन्द्रीय प्रहरी कुकुर प्रशिक्षण विद्यालयमा स्तरोन्नति गरिएको थियो ।

२०७५ मा केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयलाई केनाइन महाशाखामा स्तरोन्नति गरिएको थियो । हाल यस महाशाखा र यसअन्तर्गत डीआईजीको कमान्डमा १६५ जना प्रहरी कर्मचारी कार्यरत छन् । 

२०८१ भदौ ७ गते लोकान्तरमै प्रकाशित सामग्री अध्यावधिकसहित पुन: प्रकाशन गरिएको छ । -सं

NLIC
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x