असोज ८, २०८०
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
बैशाख १८, २०८०
शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा दोहोरिएको डेढ वर्ष बितिसक्दा पनि संगठनात्मक रूपमा पार्टी भद्रगोल देखिएको छ । २९ मंसिर २०७८ मा देउवा सभापतिमा दोस्रोपटक निर्वाचित हुन सफल भएका थिए ।
पार्टी बहुपदमा गई पदाधिकारी र केन्द्रीय सदस्यसम्म थपेर १६७ सदस्यीय कार्यसमिति बनाउने विधान लागू भएको थियो । तर विधानले व्यवस्था गरेका संगठनात्मक प्रक्रियालाई समेत सभापति देउवाले डेढ वर्ष बित्न लाग्दा पनि पूरा गरेका छैनन् ।
केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन । विभाग गठन मात्रै होइन भ्रातृ संस्थालाई चलायमान बनाउने कार्यक्रम र प्रक्रियासमेत अगाडि बढाउन देउवा असफल भएका छन् ।
कतिसम्म भने देउवाका विश्वासपात्र पूर्णबहादुर खड्का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख तोकिएको छन् । तर, उनको समितिले कुनै काम गर्न सकेको छैन ।
मनोनितमा पनि पराजितलाई अवसर तर अझै अपूर्ण
सभापतिमा निर्वाचित भएपछि देउवाले महाधिवेशनमा पदाधिकारीसहितमा पराजित भएकालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
देउवाले नेता रामचन्द्र पौडेल, सभापतिमा पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई २०७८ पुस १७ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
उपसभापतिमा पराजित भएका विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित भएका डा. प्रकाशशरण महतसहित नेताहरू कृष्ण सिटौला, डा. नारायण खड्का, सुजाता कोइराला, मीनबहादुर विश्वकर्मा र उमा रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
देउवाले फेरि १८ पुसमा सभापतिमा पराजित कल्याण गुरुङ, महामन्त्रीमा पराजित प्रदीप पौडेल र सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । दुई दिनमा मनोनित गरेका १३ मध्ये ८ जना १४ औं महाधिवेशनमा पराजित अनुहार थिए ।
त्यस्तै देउवाले २०७९ साउन ३१ गते १० महिलालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । पार्टीलाई समावेशी गराएर मात्रै निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्ने भएपछि बाध्यतामा देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं) केन्द्रीय सदस्यमा मनोनित भएका थिए । त्यस्तै, देउवाले गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
पार्टी विधानको धारा २१ उपधारा १० अनुसार सभापतिले ३३ जना मनोनित गर्न पाउने व्यवस्थाअनुसार दुईपटकमा देउवाले २३ जना मनोनित गरेका थिए ।
१६७ सदस्यीय कार्यसमितिमा मनोनितसमेत गरी १५७ सदस्य पुगेका छन् । सभापतिमा पराजित भएपछि डा. शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका थिए ।
अझै १० जना केन्द्रीय सदस्य र निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै एक कोषाध्यक्ष मनोनित गरेपछि मात्रै केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । आफ्नै विश्वासपात्रलाई कोषाध्यक्ष मनोनित गर्न समेत देउवाले आनाकानी गर्दै आएका छन् ।
मनोनित गरिएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि थप एक सदस्य बढ्दा मनोनित गर्नुपर्ने संख्या ११ पुगेको छ । केन्द्रीय सदस्य जितेका दिनेश कोइरालालाई कारवाही गरेपछि उनको ठाउँ पनि खाली छ ।
कांग्रेसमा नियमित चार वर्षे कार्यकाल हुन्छ । तर, समयमा सदस्य मनोनित नगर्दा कुनै नेताले पदमा रहेर काम गर्ने डेढ वर्षको समय खेर गएको छ ।
१६८ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी १४ सदस्य हुन्छन् । पदाधिकारीबाहेक महाधिवेशनमा खुलाबाट ३५, महिलाबाट ९, सात प्रदेश प्रत्येकबाट एक महिलासहित तीन जनाका दरले २१, विभिन्न क्लस्टरबाट निर्वाचित ५४ जना गरी १५४ केन्द्रीय सदस्य हुन्छन् ।
महत्त्वपूर्ण विभाग नै गठन भएनन्
डेढ वर्ष भनेको पार्टी संगठनमा काम गर्ने महत्त्वपूर्ण र धेरै समय हो । तर, कुनै अप्ठ्यारो नपरे पनि सभापति देउवाले पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय विभागहरू गठन गर्नै सकेका छैनन् । पार्टीको वडा तहसम्मका नेता कार्यकर्तालाई परिचालन गर्न सकिने र अवसर पाउने यस्ता केन्द्रीय विभाग नै नबनेका हुन् ।
कांग्रेस विधानले संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रचार, संसदीय मामिला, संघीय मामिला, अर्थ, शिक्षाजस्ता महत्त्वपूर्ण २८ वटा विभागको व्यवस्था गरेको छ । तर, देउवा सभापतिमा निर्वाचित भएपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नागरिक र मतदातासँग जोडिने ठूला कार्यक्रममा जाँदा समेत कांग्रेसले विभाग बनाउन सकेन ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा बैठक नबस्दा टिकट बाँड्दा चलखेल, अनियमितता जस्ता विषयमा समीक्षा हुन नपाएको उनी बताउँछन् ।
जम्बो केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका नेता कार्यकर्तालाई विभिन्न विभागमार्फत काम लगाउन सक्ने र पार्टीको पक्षमा माहोल सिर्जना गर्न सक्ने अवस्था पनि देउवाले खेर फालेका छन् । यसअघि सुशील कोइराला सभापति भएका बेला र देउवा सभापति भएका बेला गठन गर्न खोजिएका विभागमा पनि ठूलो लफडा आएको नजीरपछि देउवा यस्ता विभाग गठनमा नहतारिएका हुन् ।
विभाग गठन भएपछि यसको सञ्चालनको जिम्मा महामन्त्रीले पाउने गर्छन् । तर समयमा गठन नहुँदा महामन्त्रीले पनि काम पाएका छैनन् ।
सभापति शेरबहादुर देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्की छिट्टै यस्ता संरचनाले पूर्णता पाउने दाबी गर्छन् ।
‘लामो समयदेखि पार्टीका संरचनाले पूर्णता पाएको छैनन्, तर सभापति छिट्टै यिनीहरूलाई पूर्णता दिने मनस्थितिमा हुनुहुन्छ,’ कार्कीले भने ।
तदर्थवादमा भ्रातृ संस्था
कांग्रेसको अहिलेको पार्टी नेतृत्व र केन्द्रीय अनुहार हेर्दा अधिकांश नेविसंघ र तरुण दलको राजनीतिबाट स्थापित भएका देखिन्छन् । तर नयाँ पुस्तामा आकर्षण बढाउने तथा पार्टी नर्सरीका रूपमा रहेका नेविसंघ, तरुण दल, महिला संघजस्ता भ्रातृ संस्था तदर्थवादमा चलेका छन् । वर्षौंसम्म पार्टी निर्माणका नर्सरी सुक्दा समेत समयमा देउवाले यस्ता समितिलाई पूर्णता दिने र महाविधेशन गराउनेसम्म डोहोर्याउन सकेका छैनन् ।
सबैभन्दा महत्त्वपूर्ण नेविसंघ र तरुण दलमा अध्यक्ष मात्रै तोके पनि कार्यसमिति बन्न सकेको छैन । न त महाविधेशन गर्ने दिशामा नै अध्यक्षले कुनै प्रभावकारी अग्रसरता लिइरहेका छन् । बरु पार्टीको गुटबन्दीको शिकार यस्ता भ्रातृ र शुभेच्छुक संस्था बन्न पुगेका छन् । जनजाति महासंघ र किसान संघमा अध्यक्ष चयन गरिए पनि सदस्यले पूर्णता पाएका छैनन् । निर्वाचन गर्न नपर्ने तदर्थवादमा समेत सहमति जुटाएर सञ्चालन गर्न नसक्दा यी संस्थाको महाधिवेशनको विषयमा त कांग्रेस प्रवेश नै गर्न सकेको छैन ।
लोकप्रिय र चर्चित नेता नै निष्प्रभावी
कांग्रेसमा पुस्तान्तरणको बहस चल्दै आएको छ । तर, १४ औं महाधिवेशनमा जम्बो पदाधिकारीको व्यवस्था हुँदा युवा र लोकप्रिय अनुहार पदाधिकारमिा जित्ने अवस्था बन्यो । धनराज गुरुङ उपसभापतिमा जित्न सफल भए ।
लोकप्रिय युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बने । बद्री पाण्डे, जीवन परियार, महालक्ष्मी उपाध्याय डिनाजस्ता नेता सहमहामन्त्री बनेका छन् । तर प्रभावशाली र लोकप्रिय युवा नेता पदाधिकारी बन्दा पनि पार्टी सञ्चालनको शैली उही पुरानै ढर्राबाट माथि उठ्न सकेको छैन । विभिन्न गुटको ओत लागेर पदाधिकारी बन्दाको विवशताले उनीहरू हस्तक्षेप गर्न र थप रचनात्मक बन्न सक्ने सामथ्र्यमा छैनन् ।
पार्टी सहमहामन्त्री जीवन परियार संगठन संरचनालाई पूर्णता दिएर चलायमान बनाउन नसक्दा डेढ वर्षको समय खेर गएको बताउँछन् ।
‘महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका संरचनालाई पूर्णता दिएर चलायमान बनाउनुपर्ने हो, तर डेढ वर्षको समय त्यत्तिकै बिताइएको छ । समयमै संरचना गठन गरेर अघि नबढ्दा पार्टी चलायमान हुने अवसर गुमेको छ,’ पार्टीका सहमहामन्त्री जीवन परियारले लोकान्तरसँग भने, ‘अब ढिलाइ गर्न हुँदैन भनेर हामीले दबाब दिइरहेका छौं । अब बस्ने केन्द्रीय समितिमा झन् बढी दबाब बढाउने भन्ने भएको छ ।’
पुरानो ढर्रामा चलेर पार्टीप्रति आकर्षण र विश्वास बटुल्न गाह्रो हुने भन्दै उनले अब केन्द्रीय समिति, विभाग, भ्रातृ संस्थासहितका संरचनालाई छिटो पूर्णता दिनुपर्ने बताए ।
महामन्त्रीमा जितेपछि गगन र आफू हल बाँधेर काम गर्ने उद्घोष विश्वप्रकाश शर्माले गरेका थिए । पार्टीले प्रक्रियातग गाँठो नफुकाइँदिदा काम गर्न नसकेको तर्क उनीहरूले गर्ने गरेका छन् । तर, उनीहरू स्वयंले हस्तक्षेपकारी भूमिका निभाउन नसकेको आरोप लाग्ने गरेको छ ।
‘महामन्त्रीले हल बाँधेर काम गर्छौं भन्नुभएको थियो । तर, जोत्ने मात्रै काम गरेर हुँदैन, डल्ला पनि फुटाउनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भने ।
नियमित बस्दैन केन्द्रीय समिति
पार्टीको विधानले प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भनेको छ । तर, डेढ वर्षमा केहीपटक भन्दा बढी केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
१४ औं महाधिवेशनपछिको १७ महिनामा विधानतः कम्तिमा ३४ वटा बैठक बस्नुपर्ने हो । तर, डेढ वर्षमा १४ वटा बैठक मात्रै बसेका छन् ।
बरु जम्बो केन्द्रीय समितिको साटो कार्यसम्पादन समितिको बैठकलाई प्राथमिकता दिइएको छ । कार्यसम्पादन समितिको बैठक २१ पटक बसेको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले दिए ।
नियमित केन्द्रीय समितिको बैठक बस्न नसक्दा थोरै सदस्य रहने कार्यसम्पादन समितिको बैठक विशेष अवस्थामा कहिलेकाहीँ बस्नुपर्ने हो । तर केन्द्रीय समिति बैठक छलेर कार्यसम्पादन समितिको बैठक धेरैपटक राखिएको छ । यसले केन्द्रीय सदस्यको संख्या बढाउनुको औचित्यलाई समेत कांग्रेसले पुष्टि गर्न सकेको छैन ।
प्रतिनिधिसभाको निर्वाचनपछि समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक सर्दै र स्थगित हुँदै आएको छ । अझै पनि कहिले बस्ने टुंगो लागेको छैन ।
केन्द्रीय सदस्य रामहरि खतिवडा विभिन्न बैठकका नाममा केन्द्रीय कार्यसमितिलाई पेन्डुलम बनाउन खोजिएको बताउँछन् ।
‘विधानले नचिन्ने पदाधिकारी बस्ने, पूर्व पदाधिकारी बस्ने र कार्यसम्पादन समितिको बैठक बसेपछि बल्ल केन्द्रीय समितिमा ल्याएर महत्त्वपूर्ण विषयका निर्णय सुनाउने काम भइरहेको छ,’ खतिवडा भन्छन्, ‘पार्टीले आवश्यक ठानेर कार्यसमितिमा सदस्य बढाएको भए यसरी छलेर किन अरू बैठक बसिरहेको हो ?’ साउनयता यस्तो बैठक बस्न नसकेको खतिवडाको भनाइ छ ।
पार्टी कार्यालय जाँदैनन् नेता, घर नै अड्डा
१४ औं महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्य थप्दा पार्टी थप सशक्त र चलायमान हुने बताइए पनि अवस्था ठीक उल्टो देखिएको छ ।
६ बाट बढेर १३ पदाधिकारी पुग्दा र केन्द्रीय सदस्य समेत दोब्बर बढ्दा पनि पार्टीमा खास रौनक देखिएको छैन । १३ औं महाधिवेशनपछि र १४ औं महाधिवेशनपछिको अवस्था उस्तै छ ।
‘पदाधिकारी र केन्द्रीय सदस्य बढे पनि केन्द्रीय कार्यालयमा खास रौनक छैन,’ कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘बरु पहिले कम पदाधिकारी र नेता हुँदा चलायमान हुन्थ्यो, अहिले त खास नेताहरू कार्यालय नै आउनहुन्न ।’
पार्टी तह र युवा पुस्ताबीच लोकप्रिय रहेका महामन्त्रीद्वय पनि कहिलेकाहीँ मात्रै केन्द्रीय कार्यालय पुग्ने गरेका छन् ।
केन्द्रीय नेता धेरै सांसद भएकाले संसदीय गतिविधिमा केन्द्रित हुने, जिल्लातिर जाने हुँदा उनीहरू केन्द्रीय कार्यालय जाँदैनन् । बरु फुर्सदको समयमा घरमा नै नेता कार्यकर्तालाई ताँती लगाएर भेट दिन्छन् ।
सभापति र केही पदाधिकारीले नियमित तालिका बनाएर केन्द्रीय कार्यालयमा बस्ने बताए पनि त्यो ‘स्टन्ट’ मै सीमित भएको छ ।
१४ औं महाधिवेशनमा कांग्रेसले नेतृत्व चयन मात्रै गरेको थियो, नीतिगत विषयमा कुनै छलफल गरेको थिएन ।
महाधिवेशनको केही समयमै नीति महाधिवेशन गर्ने भनिए पनि त्यो समेत अलपत्र पर्दै आएको छ । नीति महाधिवेशनको विषयमा कांग्रेसमा पर्याप्त बहस र माग समेत हुन उठ्न सकेको देखिन्न ।
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...
असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । ...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...