×

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बाजाले दशैंको रौनक ल्याउँछ । तिहारका लागि ‘सोरठी’, ‘मारुनी’, ‘नचरी’को तयारीले लक्ष्मीपूजाको दिनदेखि रौनकै अलग हुन्छ । सोरठी, मारुनी वा नचरी शुरू भयो भनेर पहिलो जनाउ पाउने ठूलो गुरु मादलको ताल हो । 

Laxmi Bank

ठूलो मादलको ‘गमगम..’ ताल गाउँमा गुञ्जिन थाल्यो भने शुरू भइहाल्छ ‘सोरठी’ । तिहारले जुराउने यो परम्परा विस्तारै लोभ हुँदै गयो । यद्यपि लोक गीत/संगीतप्रति समर्पित कलाकारहरूले अहिले विभिन्न माध्यमबाट त्यसको झल्को झल्काइरहेका छन् । अघिल्ला वर्षको तिहारमा चार दिन, चार रात बजाएर राखेको मादलको खरी झर्‍यो कि झरेन  ? पुछपाछ गर्ने, पुजेका पुराना धजा मादलबाट झिक्ने काम शुरू भैसक्यो । मादल बजाउने गुरु मादले (मादलको तल मिलाउन सक्ने सिपालु कलाकार) मुख्य पात्र हुन् । 


Advertisment

गोलाकार भएर नाचिने भएकाले साना मादल भिरेर ठूलो मादलको तालमा ताल मिलाउने सहायक मादलेहरू हुन्छन् । त्यसपछि शुरू हुन्छ पुर्सुङे, जसले सोरठी र मारुनीको नाचलाई बीचबीचमा दर्शकबीच रमाइलो बनाइरहन्छ । महिलाकै पहिरनमा सिंगारिएर शरीर विन्यास बनाएर नाच्ने सिंगारु (महिलाको पहिरनमा पहिरिएका पुरुष) अर्थात् ‘मारुनी’ । सरस्वती र सोरठी गीतीगाथा उतार्ने ‘सोरठी गुरुवा’को नेतृत्वमा एउटा मण्डली (संगीत समूहको संगठन) नै तयार हुन्छ । उनै गुरुवाको निर्देशनमा शुरू हुन्छ सोरठी गीतीगाथा ।


Advertisment

गुरुवाको सुरिलो स्वरले सरस्वतीको मन्त्रोचारण उठान गर्ने । घरबेटी र दर्शकहरूलाई आर्शीवाद दिने टोली । धजा बाँध्ने । कतिलाई सरस्वती लागेर काँप्छन्, रुन्छन् । भावुक वातावरणसँगै वरपरका देवीदेउता सबै पुकारेपछि सोरठी गीतीगाथाले लय समाउँदै अघि बढ्छ । मादलको तालमा सुरिलो स्वरमा सरस्वती मन्त्रोचारणबाट वर्णन शुरू हुन्छ यसरी–

हो... चारै दिशा बाँध्यौं,

हो.हो.. पूर्वै दिशा बाँध्यौं, 

हो.हो.. पश्चिम दिशा बाँध्यौं, 

हो.हो.. उत्तर दिशा बाँध्यौं,

हो.हो.. दख्खिन (दक्षिण) दिशा बाँध्यौं, 

हो.हो.. आकाशै बाँध्यौं, 

हो.हो.. पातलै बाँध्यौं, 

हो.हो.. शिरै बाँध्यौं,

हाईहाई गुरु, हाईहाई गुरु.. महादेऊको वाचा,

हाईहाई गुरु, हाईहाई गुरुमा पार्वतीको वाचा ।

यही मन्त्रोचारणसँगै सोरठीको मूल भाव शुरू हुन्छ । 

सोरठी, मारुनी, नचरीको मूल कथा 

सोरठी गण्डकी क्षेत्रको पौराणिक प्रचलित एउटा ‘गीतीगाथा’ हो । कालीगण्डकीको फनफनी घुमाई र छाल जस्तै आफ्नै लयमा बगेको छ सोरठी गीतीगाथा । लिपिबद्ध, लिखित दस्तावेजहरूमा यो गीतीगाथा उनिएको भेटिन्न । तथापि ठाउँअनुसार विभिन्न चरित्रखण्डमा गीतीगाथा नृत्यसँगै सरर बग्छ । सोरठीलाई व्यावसायिक कलाकारहरूबाट पनि गाएर केही जर्गेना गरिएको छ । तर, यसका मूल कथा भने तिहारकै मेसोमा गाउने चलन हो ।

कथा किंवदन्तीमै आधारित छ । यसका पात्रहरू आफैंमा सशक्त छन् भन्ने कथा सोरठी कसरी जन्मिइन् भन्ने सन्दर्भबाटै शुरू हुन्छ ? कथामा भनिएको छ, ‘जैसिङ्गे राजा, रानी हैमती र उनीहरूका छोरी सोरठीको जीवनमा घटेका घटनाबाट सोरठीको गीतीगाथा र नृत्य अघि बढ्छ ।’

सोरठीको अर्थ खोज्दा पाइने एउटै तथ्य हो, ‘सोरठी रानीको जीवनको गाथामा गाइने/नाचिने भएको हुनाले सोरठी भनिएको हो ।’

सोरठीसँग अर्को संयोग पनि छ, ‘सोह्र ताल, सोह्र भाकाहरू’ । त्यसैले सोरठी भनिएको हो । सोरठी आफ्नै पुरानो परम्परा मान्यताबाट सर्दै अघि बढेको छ । बाह्रमासे र एकमासे सोरठी छन् । बाह्रमासे वर्षैभरि विभिन्न कार्यक्रमहरूमा गाउने, बजाउने, नाच्ने गरिन्छ । एकमासे सोरठी विशेषगरी दशैंको नवरात्रिमा शुरू गरी कतै पञ्चमीसम्म, कतै मंसिरे एकादशी त कतै मंसिरे पूर्णिमासम्म नाच्ने/गाउने गरिन्छ । तर, धेरै ठाउँमा कात्तिके औंसी अर्थात् तिहारमै शुरू हुन्छ । 

राजा जैसिङ्गेका दम्पती निसन्तान भए । राजाका निसन्तान दम्पतीलाई मन्त्री सुजनले सल्लाह दिए ।

सल्लाहबमोजिम बैदा राजाकी छोरी हैमतीसँग चालिस वर्षको उमेरमा राजा जैसिङ्ले विवाह गर्छन् । हैमतीलाई दरबार भित्र्याएपछि गर्भवती बन्छिन् । कान्छी रानी गर्भवती भएकोमा ‘प्रजा’ लोकमा खुशियाली प्रकट हुन्छ । कान्छी रानीले गर्भधारण गरेको एक महिनादेखि उनको बखान शुरू हुन्छ ।

कान्छी रानी गर्भवती बनेपछि गीतीगाथा यसरी प्रकट गरिन्छ–

एकै मास दुबै महिना गरिभैमा रह्यो राजै !

तीनै मास चारै महिना गरिभैमा रह्यो राजै !

पाँचै मास छहै महिना

गरिभैमा रह्यो राजै !

रानीको पेटमा गर्भ बढ्दै जाने क्रममा पाचौं महिना पुग्छ । त्यसबेला रानीलाई अमिलो, पिरो खान मन लाग्छ । सुसारेहरूलाई अमिलो पिरो तयार गर्न लगाइन्छ । अमिलो पिरो कहाँ पाइन्छ त ? फेरि गीतीगाथा अर्को चरणमा प्रवेश गर्छ– 

मलेनीको बारीमा निबुवाको बिरुवा,

हामरो रानीलाई तिर्सना लाग्यो– अमिलो खानदेऊ ।

एवंरितले गर्भ रहेको नवौं महिना पार गरेपछि कान्छी रानीबाट सोरठीको जन्म हुन्छ । सोरठी जन्मिँदासम्मको एउटा माहोल हुन्छ । हैमतीबाट सोरठी जन्मेपछि राज्यभर खुसियाली हुन्छ र हर्ष/बढाइ गरिन्छ । सोरठी जन्मेलगत्तै जेठीरानीले राज पण्डितलाई सुटुक्कै जन्मकुण्डली हेर्न लगाउँछिन् । 

राजपण्डितले सोरठीको जन्मकुण्डलीमा– ‘धनमूल परेकी’ भनेर जेठी रानीलाई सुनाइदिन्छन् । त्यसपछि जेठी रानीमा सौतेली चरित्र सवार हुन्छ । र, नाबालिका सोरठीमाथि षड्यन्त्र रच्न शुरू गर्छिन् । राजपण्डितलाई जेठी रानीले अह्राउँछिन्, ‘सोरठीको जन्म कुण्डलीमा पानी मूल परेको छ भन्नु ।’

राजाले राजपरिवारका सबै सदस्य, कामदार, नोकरचाकहरूलाई बोलाउने उर्दीसँगै राज पण्डितलाई पनि बोलाउन लगाउँछन् । राज पण्डितले जेठी महारानीले सुटुक्क दिएको आदेशबमोजिम नचाही–नचाही ‘सोरठीको कुण्डलीमा पानी मूल परेको छ,’ महाराज भन्छन् । सोरठी पानी मूल परेकाले सुन, चाँदी, हिरालगायत धातुहरू जडान  गरी सन्दुक बनाई  राजाकै हातबाट गंगामा बगाउनुपर्ने राज पण्डितहरू सुझाव दिन्छन् ।

दरबारमा भर्खर छाएको खुशी पण्डितको सुझावपछि एकाएक सन्नटामा परिणत हुन्छ । पण्डितलाई विभिन्न उपाय अपनाउन लगाइन्छ । जेठी रानीको आदेशबमोजिम राजाको हातबाट सोरठीलाई नबगाए दरबार र राज्यमा अनिष्ठ हुने पण्डितले सुनाएपछि अन्ततः राजाले सोरठीलाई नदीमा नबगाई सुखै पाउँदैनन् । यो घट्नाले कान्छी रानी बेदनाले मुर्छा पर्छिन् । र, गीतीगाथामा भनिन्छ–

सुनैके रे सिलौटी,

रुपैके रे लोहरिया,

लेउन हो रे जसुदा सुडेनी !

लेकैके रे जरीबुटी,

पिनहुरे जसुदा सुडेनी, 

लगाउरे, लगाउरे जसुदा सुडेनी,

रानी जिउको आँगीमा ।

धातुका काम गर्ने सुनार बोलाएर हिरा, सुन, चाँदीजडित सन्दुक बनाउन लगाइन्छ । त्यही बाकसमा हिफाजत गरेर सोरठीलाई राखेर नदीमा राजाले बगाइदिन्छन् । सोरठीलाई राजाले नदीमा बगाएपछि हल्लीखल्लीसँगै लोकमा सन्नटा छाउँछ । त्यसपछि गीतीगाथाले अर्को संयोगको मोड लिन्छ । 

नदीमा दुईजना जालहारी र मालहारी माछा पार्न जाल खेल्दै जान्छन् । एकाएक जालमा सुनको सन्दुक पर्छ । जालहारी कुमाल हुन्छन् । दुवै जनाको प्रयासमा सुन, चाँदी जडित सन्धुक परेकाले त्यसलाई भाग लगाउने भनि कसले के लिने भन्ने बहस चल्छ । ‘बाहिर त यति धेरै सुनैसुन छ भने भित्र झन् धेरै बहुमूल्य सामान छ’ भन्ने लोभले कुमालेले भित्री भाग रोज्छन् । भित्र खोलेर हेर्दा सानी नाबालिका हुन्छिन् । कुमाले आफैँमा गरिब थिए  । तर, कुमाले दम्पती पनि निसन्तान नै थिए । 

सोरठीलाई घरमा लगेपछि कुमाल्नी ‘कसको बच्चा लिएर आएको ?’ भनी केही शंका व्यक्त गर्छिन् । कुमालले घटनाक्रमको बेलिविस्तार लगाएपछि कुमाल्नी शान्त बन्छिन्, तर उनको दुखेसो थियो, ‘न मेरो दुःध आउँछ, न  घरमा दुहुना गाईभैंसी छन् । बालिकालाई कसरी पाल्ने र हुर्काउने ?’ सोरठीलाई कुमालले घरमा भित्र्याए एकपछि अर्कोगरी दुहुना गाईभैँसीको जोहो भएको भनी कथा अघि बढ्छ । सोरठी ल्याएपछि कुमालको घरमा खुशियाली भरिँदै जान्छ । राजाले छोरी नदीमा फ्याँकेको राज्यमा फैलिएको हल्ला कुमालेको कानमा पुग्छ । उनी आफ्नो घरमा लिएकी नाबालिका जैसिङ्गे राजाकी पुत्री हुन् भन्ने थाहा पाउँछन् । सोरठी हुर्कँदै जान्छिन् ।

बच्ची नदीमा फ्याँकेपछि राजपरिवार र राज्यमा बिरहबाहेक केही भएन । बच्चीको वियोगले कान्छी रानी माइत जान्छिन् । राजाले सारा सम्पत्ति जुवा खेलेर सिध्याउँदै जान्छन् । दरबार र राज्य कमजोर बन्दै गयो । दिन बित्दै जाँदा राजालाई जंगलमा सिकार खेल्ने इच्छा जाग्यो । आफ्ना भाइभारदार लिएर राजा जंगल पसे । जंगली जनावर, पक्षीको सिकार गर्दै जाँदा अन्तिममा एउटा मृग मारे । मृगको मासु खाएपछि राजालाई पानी प्यास लाग्छ ।

भारदारहरूले पानी खोज्दै जाँदा एउटा कुवामा दुईवटी कन्याले पानी भरिरहेको भेटाए । कन्याहरूसँग पानी मागियो । तर, कन्याहरूले पानी दिनका लागि शर्त राखे, ‘जसले सोह्र लिङ्गे पिङ बनाइदिन्छ, उसैलाई पानी दिने !’ राजाले आफ्ना भारदारहरूलाई सोह्र लिङ्गे पिङ बनाउन लगाउँछन् । पिङ बनेपछि सोरठीले करुवाबाट राजालाई पानी दिन्छिन् । सोरठी असाध्यै सुन्दर थिइन् । उनीमाथि कसैको आँखा नपरोस् भनेर मुहारमा कालो पोतेर मात्रै बाहिर हिँड्न आफ्ना कुमाले बुवाले भनेका थिए । सोरठी बाहिरफेर जाँदा अनुहारमा कालो पोतेर मात्रै जान्थिन् ।

पानी दिन आएकी सोरठीको अनुहारमा कालो पोतिएको देखेर राजाको मनमा शंका उब्जियो । सोरठीले दिएको पानी राजाले एक अञ्जुली उनकै मुहारमा छ्यापिदिए । पोतिएको कालो पानीले पखालेपछि सोरठीको निख्खर, सुन्दर र चमक भएको अनुहार राजाले देखे । जसबाट उनी मोहित बने । राजाले सोरठीलाई किन कालो पोतेको ? भनेर जिज्ञासा राख्छन् । 

‘बाबाले लगाउन लगाएको, मलाई थाहा छैन’ सोझो भाषामा सोरठीले जवाफ दिइन् । कथाले फेरि अर्को रहस्यमय लय समाउँछ । राजा दरबार फर्केर आफ्ना भारदार र राज पण्डितसहितलाई बोलाएर सोरठीलाई विवाहका लागि मगनी गर्न पठाइन्छ ।

लमी कुमालको घरमा पुगेर छोरी (सोरठी) जैसिङ्गे राजालाई बिहेका लागि मागनी हुन्छ । कुमालले आफूजस्तो गरीबको छोरी राजालाई नसुहाउने बताउँछन् । लमीले मगनी गरिएकाले आफ्नो राजालाई सुहाउने जिद्दी कसेपछि अन्ततः बिहेको कुरा छिनिन्छ । दिन हेरेर विवाहको खुशी मनाउन राजाले सारा जगतलाई निम्तो दिन्छन् । बाजागाजा, जन्तीसहित राजा दुलही लिन कुमालको घर पुग्छन् । 

दुलहीका लागि लगिएका महङ्गा गरगहना र लुगाहरूले सोरठीलाई दुलहीका लागि सिङ्गारिन्छ । सोरठीलाई थाहा थियो कि आफ्ना लागि दुलाहा भएर आउने आफ्ना बुवा हुन् । जब मण्डपमा सिन्दुर हाल्ने समय आउँछ, तब सोरठीले रहस्य खोल्दै भन्छिन्– 

बाबैजीले दियाको गहना सबै चेली लाउँछन्,

मै चेली पनि लाउँछु,

बाबैजीले दियाको सिन्दुर कोही चेली लाउँदैनन्, 

मै चेली पनि लाउँदिनँ ।

त्यसपछि राजा मुर्छा (बेहोश) पर्छन् । त्यसपछि सोरठीको गीतीगाथा सकिन्छ । यही वियोगान्त र संयोगको गाथालाई सोरठीका गुरुवाले सारा दर्शकका अगाडि एउटा पुर्सुङ्गे, एउटा मारुनी, जोर मादले पात्रहरूलाई नचाउँदै भन्छन्, ‘‘तमसो मा ज्योतिगर्मय’भने जस्तै अँधेरीबाट उज्यालोतिर अघि बढ्नु ! जन्मेपछि अँधेरी काम नगर पापी नबन्, उज्यालो खोज ।’ त्यसैले सोरठी, मारुनीको गीतीकथा कात्तिक तिहारे औँसीबाट मंसिर पूर्णिमासम्म नाच्ने र गाउने चलन बसेको भन्ने मान्यता छ ।

NLIC
भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x