×

माओवादी आन्दोलनको अन्तर्य

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

काठमाडाैं | कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइले जंगेपिलर नै नाघेको छ । उनलाई केपीले मध्यरातमा धोका दिएको कुराबाहेक अरू केही भन्नुजस्तो लाग्दैन ।

Laxmi Bank

धेरै वर्षअगाडि मेरा एक साथी प्रेमिका भेट्न गएका थिए । चुम्बन गर्न खोज्दा खैनी भेटिएछ । त्यही खैनीका कारण उनीहरूको बिछोड भएको थियो । तीन महिना बितिसक्यो, तर मौका मिल्यो कि प्रचण्डले पनि आफूले धोका पाएको कथा सुनाउन हतार गर्छन् । थाहा छैन, केपी ओलीको दराजमा कस्तो खैनी थियो, त्यो पक्कै दुर्गन्धित हुनुपर्छ ।


Advertisment

कुनै समय केपी ओलीको संगत गरेर केही नपाए पनि 'ज्ञान पाएँ' भनेर आफैंलाई सान्त्वना दिने प्रचण्डको व्यथा हेर्दा लाग्छ, केपीको संगतले उनलाई पूर्ण सन्तुष्टि थिएन । भ्यागुताले जति खाए पनि पेट नफुटे जस्तै माओवादीहरूको चाहना पनि कहिल्यै पूरा भएन । यिनीहरू सरकारबाट बाहिरिन पर्‍यो कि अनिकाल लागेझैँ कराउँछन् ।


Advertisment

जति कराए पनि प्रचण्डको आनीबानी भने मिलनसार छ । उनी कहिले कांग्रेससँग, कहिले एमालेसँग त कहिले राप्रपासँग मिल्छन् । अहिले उनी रास्वपासँग मिलेका छन् । यो मिलन खानका लागि नभई देश परिवर्तनका लागि भएको बताइन्छ । तर, देश परिवर्तनका नाममा केपी ओलीलाई भ्रष्टाचारीको बिल्ला भिराउँदै सहकारी ठगहरूको संरक्षण गर्नु पर्ने अवस्था आएको छ ।

अहिले रास्वपाका नेताहरूले विभिन्न हाउभाउ देखाउँदै आन्दोलन गरिरहेका छन् । उनीहरूको यो अवस्था एक प्रकारको ‘Do or Die’ (गर या मर) स्थितिजस्तो हो । उनीहरूले रवि निर्दोष छन् भनेर मात्र होइन, रवि बाहिर निस्किएपछि ‘मेरा लागि तिमीहरूले के गर्‍यो ?’ भनेर प्रश्न गर्दा जवाफ दिन सकियोस् भनेर घाँटीको नशा फुलाउँदै चिच्याइरहेका छन् । त्यसैका लागि अहिले सडकमा ताण्डव मच्चाइएको छ ।

रास्वपाका नेताहरूले मात्र होइन, प्रचण्डले पनि रविलाई खुशी पार्नका एकदिने आन्दोलन गर्नुपरेको छ । चितवनबाट प्रचण्डलाई गोरखा भगाउने व्यक्ति रवि नै हुन् । तर, अब प्रचण्ड कतै भाग्न चाहँदैनन् । उनी चितवनबाट नै जित्न चाहन्छन् । त्यसका लागि रविको दु:खमा साथ दिनु प्रचण्डको बाध्यता हो । यसै क्रममा, भरतपुरकी मेयर रेणु दाहाल पनि केपी ओलीको विरोध गर्न काठमाडौं आइन् । रास्वपा सभापति लामिछानेले चुनाव जितेको चितवनमा रेणु दाहालको नागरिक अभिनन्दन हुने सम्भावना पनि छ ।

वल्लो चोकमा नीलो क्रान्ति र पल्लो चोकमा रातो क्रान्ति सम्पन्न गरिएको छ । न्याय र सुशासनका लागि सडकमा गरिएको यो डबल धमाका पहिलोपटक हो । दुई दशकमा मन्त्रिपरिषद्को शपथ सबैभन्दा धेरै माओवादी नेताहरूले खाएका छन् । तर, आज तिनै नेताहरू प्रदर्शनी मार्गमा उभिएर भ्रष्टाचारीको अनुहार खोजिरहेका छन्, मानौं भ्रष्टाचारी भनेको कुनै वस्तु हो, जो घर फर्किने बाटो बिर्सेर कतै हराएको छ ।

अन्यायपूर्ण रूपमा आफ्नै पार्टीका नेता कृष्णबहादुर महरा पक्राउ पर्दा माओवादीले ताली बजाएको थियो । तर, अहिले रवि लामिछाने पक्राउ पर्दा आन्दोलनमा उत्रिएको छ । यसले सत्ताकेन्द्रित स्वार्थका लागि यिनीहरूले केसम्म गर्छन् भन्ने एउटा प्रमाण प्रस्तुत गर्दछ ।

अस्तिसम्म अर्थ मन्त्रालयमा जनार्दन (शर्मा) र वर्षामान (पुन)हरू पालैपालो हावी थिए । देशका नामुद भ्रष्टाचारीहरू उनकै वरिपरि घुमिरहेका थिए । आफ्नो पार्टीका कार्यकर्ताहरूका लागि भने ती दफ्तरका ढोका बन्दजस्तै थिए । तर, ओली र शेरबहादुर देउवाका कार्यकर्ताहरूका लागि यिनीसँगको सम्बन्ध कफी पिउने साथीहरूझैं थियो । तिनलाई लाग्थ्यो, 'हाम्रो म्याजिक नम्बरको सरकार स्वरसम्राट नारायण गोपालको गीत जस्तै अजर-अमर छ ।'

केपी ओलीको मन्त्री बन्न पार्टी फुटाएर एमालेमा जान तम्सिएका मनुष्यहरूले एक बारको जुनीमा केपी ओलीविरुद्ध खबरदारी गरेरै  छाडे । यिनीहरूले एउटा मन्त्री पदका लागि माओवादी पार्टी नै विघटन गर्न सक्छन् । माओवादीहरूले माग्ने बुढाको जिम्मेवारीजस्तै भूमिका खेलेका छन् । शुरूमा माग्छन्, नदिए फेरि माग्छन् । तर, उनीहरूको माग कहिल्यै सानो हुँदैन । माग्नु परे प्रधानमन्त्री पद नै माग्छन् ।

बालुवाटारको दफ्तरबाट केपी ओलीले मच्चाएका काण्डहरू प्रचण्डका काण्ड पनि हुन् । सिंहदरबारबाट ओलीले गरेका कुकर्महरू प्रचण्डकै कुकर्म पनि हुन् । सहकारी ठगहरूको रक्षाकवच बनेर सुशासनको पक्षमा खबरदारी कार्यक्रम चलाउने कुरा त विजय शाहीले ‘म मरेको मान्छेलाई बचाउँछु’ भनेजस्तै हो । हाँस्नका लागि अब मुन्द्रे, बान्द्रे या फुलन्देको कमेडी शो हेर्नुपर्दैन ।

स्वर्ग र नर्कको फन्टुस उदाहरण दिएर ओलीले आफूलाई धोका दिएको भन्दै हिँडिरहेका छन्, प्रचण्ड । तर वास्तविकता के हो भने धोका दिएको जनताले हो । धोका दिएको मतपत्रले हो । धोका दिएको मतपेटिकाले हो । र, धोका दिएको मतगणनाले पनि हो । जोसँग गहिरो प्रेम हुन्छ, उसले दिएको धोका लामो समयसम्म मनमा गढिरहन्छ । तर, ओली र प्रचण्डको प्रेम तथा धोकाको कथा सुनेर जीवन कटाउने फुर्सद जनतासँग छैन ।

चरम बेरोजगारी र गरिबीले प्रताडित नेपाली जनताको यो दुःखको पहाड सय दिनमा सिर्जित भएको होइन । भोगविलासको जीवन बिताइरहेका भाग्यविधाताहरूको भाग्य यो सय दिनमा मात्र खोसिएको पनि होइन । यिनीहरूको स्वार्थकेन्द्रित राजनीतिका कारण आजका कलिला युवा देश बुझ्न नपाउँदै विदेश जान बाध्य छन् । प्रचण्डले अरूलाई रोजगारी सिर्जना गर्नुपर्ने हो, तर आफैं बेरोजगार झैँ भएर सडकमा निस्किएका छन् ।

सरकारलाई प्रश्न गर्ने नैतिक अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई मात्र छ, किनकि उनी विगतका सत्तामा प्रत्यक्ष संलग्न छैनन् । सडकमा निस्किएर प्रचण्डले कोलाहल मच्चाउनु गणतन्त्रको बदनाम हुनु हो । जनताको दुःखको जवाफदेही केपी ओली नभएर प्रचण्ड हुन्, किनकि दुई दशकसम्म यस राज्यमा उनीहरूको प्रभाव रहँदै आएको छ । भ्रष्टाचार र बेतिथिका सवालमा सबैभन्दा बढी जवाफदेही कोही छ भने त्यो प्रचण्ड नै हो ।

तर, आज प्रचण्ड सहकारी ठगहरूको रक्षाकवच बनेर सडकमा उत्रिएका छन् । कुनै बेला माओवादीले २ रुपैयाँ ब्याज बढी लिने साहुलाई पनि 'सामन्ती' करार गर्दै भौतिक आक्रमणको रणनीति अपनाएको थियो । तर, आज अर्बौं रुपैयाँ ठगी गर्नेहरूलाई पक्राउ गरेकोमा माओवादी दु:खी देखिन्छ । न्याय दिनेभन्दा चुनाव जित्ने कुरा नै प्रधान ठानिएको छ ।

शनिबारको खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्ड

प्रतिपक्षको नेताको रूपमा आफूलाई बलियो बनाउन खोजिरहँदा प्रचण्ड सहकारी पीडितहरूको पक्षमा साँचो सहानुभूति दिन चुकिरहेका छन् । नेपालभर लाखौं सहकारी पीडित छन्, गाउँदेखि शहरसम्म । तर, यिनीहरूको पक्षमा गरिएका जनस्तरका आन्दोलनमा माओवादीको उपस्थिति देखिँदैन । बरु, कांग्रेसजस्तो बुर्जुवा पार्टीले पीडितहरूको पक्षमा निरन्तर आवाज उठाइरहेको छ ।

जीबी राईलाई मलेसिया सरकारले नेपाल फर्कन रोकको होइन । उनलाई प्रचण्ड नेतृत्वको सरकारले नै नेपाल फर्काउन नचाहेको हो, किनकि उनी फर्के सरकार ढल्न सक्थ्यो । अब सरकार ढलेसँगै जीबी फर्कने सम्भावना बढेको छ । यसरी रविलाई खुशी पारेर सरकार टिकाउन माओवादी मन्त्रीहरूले राहदानी फुकुवामा सहजीकरण गरेर जीबीलाई विदेश पठाएका हुन् । योजनाबद्ध ढंगले आफैंले भगाएको पात्रलाई ‘फेला पार्न सकिएन’ भनेर जनतालाई उल्लु बनाइरहेका छन् ।

प्रचण्डले संसद्को मञ्चमा उभिएर रवि लामिछानेलाई निर्दोष भनेर दाबी गरेका थिए । रवि लामिछानेविरुद्धका आरोपहरूलाई बेवास्ता गर्दै प्रचण्डले आफूलाई लोकप्रितावादीको कित्तामा उभ्याए । ठीक त्यही समयमा  रविले सरकारी संयन्त्र दुरूपयोग गरेर आफूविरुद्ध उजुरी र मुद्दा दर्ता हुन दिएनन् । आफूमाथि छानबिन गर्न खोज्ने प्रहरीको सरुवा गरे ।

रविको दोहोरो राहदानीको मुद्दा अगाडि बढ्न रोक्नु र जीबी राईलाई माओवादी सरकारले नै भगाउनुजस्ता घटनाहरूले गम्भीर कानूनी र नैतिक प्रश्न उठाएका छन् । यसरी आफ्नो राजनीतिक स्वार्थका लागि कानूनी प्रक्रियालाई हतोत्साहित गर्ने प्रयास भइरहेको छ । रविको रिहाइको मागसहित भइरहेको आन्दोलनमा बल पुग्ने गरी माओवादी सडकमा ओर्लिनुले प्रचण्ड रास्वपासँग राजनीतिक सहकार्य गरेर लाभ लिने रणनीतिमा छन् भन्ने देखिन्छ ।

यसप्रकारको निर्णयले माओवादीलाई क्षणिक लोकप्रियता त दिन सक्छ । सम्भवतः उनलाई प्रधानमन्त्रीको कुर्सीमा फर्किन पनि मद्दत गर्न सक्छ । तर, अहिले प्रचण्डसँग प्रधानमन्त्री बन्ने जनमत छैन र आवश्यक राजनीतिक वैधता पनि छैन । प्रचण्ड आफू लोकप्रिय भएको भ्रम पालेर बसेका छन् ।

कैलाश सिरोहिया र रविको लामिछानेको सम्बन्ध मिडिया उद्यमीको रूपमा प्रतिस्पर्धात्मक भूमिकामा आधारित थियो । रवि कान्तिपुरभन्दा अगाडि बढ्न चाहन्थे । त्यतिबेलै उनीहरूको इगो संघर्ष शुरू भएको थियो । उनीहरूको लडाइँ राजनीतिक नभएर व्यावसायिक थियो । गृहमन्त्री बनेपछि रविले सिरोहियालाई विनाप्रमाण पक्राउ गरे । हस्तलिखित सरकारी कागजातको कमजोरीको फाइदा उठाएर सिरोहियालाई अनागरिक ठहर गर्नेको प्रयास भयो । प्रचण्ड रमिता हेरेर बसे ।

नेपालमा लोकप्रिय बन्नका लागि अरू केही गर्नु पर्दैन; केवल राजावादी बने पुग्छ । केही दिनअगाडि र हिजोको जुलुस हुनु अघिल्लो दिन प्रचण्डले ज्ञानेन्द्र शाहलाई भेटेको हल्ला फैलाइएको थियो । यो हल्ला अरू कसैले नभएर प्रचण्डकै सचिवालयका मान्छेहरूले चलाएका थिए । प्रचण्डले अब कुनै राम्रो काम गर्लान्, नगर्लान्, आफूलाई लोकप्रिय बनाउन जे गर्नुपर्छ, त्यो सबै गर्छन् । यदि दुर्गा प्रसाईंको लोकप्रियता देखेर प्रचण्डमा ईर्ष्या उत्पन्न भएको हो भने त्यो झन् उदेकलाग्दो कुरा हो ।

माओवादी नेतृत्वलाई आफ्नो मान्छेभन्दा बढी अरूप्रति भरोसा छ । काठमाडौंमा रहेका ढुलमुले राजावादीलाई सडकमा निकाल्न सकिन्छ कि भन्ने अभिप्रायका साथ यस्तो घिनलाग्दो कार्य गरिएको हो । रवि लामिछाने हिरासतमा पुगेपछि प्रचण्डले आफू पनि हिरासतमा पुगेको अनुभव गरेका छन् । रवि जेल गए भने प्रचण्डले आफू पनि जेल गएको अनुभव गर्नेछन् । किनकि उनले रविलाई निर्दोष ठहर्‍याउँदै राजनीतिक समर्थन गरेका थिए ।

आफूलाई अन्तिम समयसम्म साथ दिने व्यक्तिको पीडामा सहानुभूति जाग्नु स्वाभाविक नै हो । तर, ध्यान दिनुपर्ने कुरा के छ भने माओवादीको समानुपातिक मतभन्दा नेपालमा सहकारी पीडितहरूको संख्या धेरै छ । आज लगभग प्रत्येक परिवारमा एकजना सहकारीपीडित छन् । पीडकको पक्षमा उभिने कुनै पनि व्यक्ति माओवादी हुन सक्दैन । माओवादी भनेको पीडितहरूको पार्टी हो । माओवादीलाई मत दिने पनि पीडितहरू नै हुन् ।

अन्यायपूर्ण रूपमा आफ्नै पार्टीका नेता कृष्णबहादुर महरा पक्राउ पर्दा माओवादीले ताली बजाएको थियो । तर, अहिले रवि लामिछाने पक्राउ पर्दा आन्दोलनमा उत्रिएको छ । यसले सत्ताकेन्द्रित स्वार्थका लागि यिनीहरूले केसम्म गर्छन् भन्ने एउटा प्रमाण प्रस्तुत गर्दछ । सत्ताबाट बिरलै बाहिर बसेको माओवादीले अचानक भ्रष्टाचारविरुद्ध सडकमा आन्दोलन थालेको छ । यस्तो लाग्छ, मन्त्रिपरिषदबाट गर्न नसकेका निर्णय यिनीहरूले सडकबाटै गर्न खोज्दैछन् ।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफ्नो पछिल्लो कार्यकालको पूरै अवधि सस्तो लोकप्रियताका लागि बिताए । जनहितका लागि कुनै काम भएनन् । ओली खराब समयमा प्रधानमन्त्री भएका हुन्, तर सहकारी प्रकरण छानबिनको सवालमा प्रचण्डले भन्दा खराब गरेका छैनन् ।

रवि हिरासतमा छन् र न्यायिक निरूपणका लागि अदालतमा हाजिरी जनाइरहेका छन् । यसका लागि केपी ओलीलाई धन्यवाद दिनुपर्छ । रवि प्रकरणमा विस्तृत कुरा अर्कोपटक लेखौंला । तर, प्रचण्डले रविलाई जोगाउन मरिहत्ते गर्नुपर्दैन । रविका कमजोरीहरू प्रशस्तै छन् । ग्यालेक्सी टीभी रवि र जीबी मिलेर खोलेका हुन् । यसका लागि सहकारीको पैसा खन्याएर घोटाला गरिएको हो । यस्तो कार्यलाई Embezzlement Fraud भनिन्छ । अमेरिकामा भएको बहुचर्चित आर्थिक घोटलाजस्तै Enron Scandal र Bernie Madoff Ponzi Scheme पनि यसरी नै गरिएको थियो । संसारमा यस्ता थुप्रै पूर्व-योजनाबद्ध आर्थिक घोटालाका रणनीतिहरू छन्, जसले लगानीकर्ताको पैसामाथि स्क्याम गरिएका छन् । र, रविले Embezzlement Fraud गरेका हुन् । साधारण अर्थमा भन्दा Internal money laundering भएको छ ।

रविले आफू एमडी भएको कम्पनीमा आएको पैसाको Manipulation of financial records गराएका छन् । आफ्नो नामको खातामा ठूलो रकम आएको छ, तर कताबाट आएको हो थाहा छैन । यस्तो कुरा त Complex Transaction Structures for Fraud भैहाल्यो । ग्यालेक्सी टीभीमा आएको पैसा गोपिकृष्ण सिनेमा हलजस्ता दर्जनौं कम्पनीको नाममा रकमान्तर गरिएको छ । यो Unauthorized Benefits, Privileges and Recognition हो कि होइन ? Unauthorized Access to Funds हो कि होइन?

रविको नाममा बुटवलबाट पैसा आएको छ । तर, उनी त्यो खाता चिन्दिनँ भन्छन् । पैसा भने आफैंले झिकेर चलाएका छन् । यसलाई Identity Theft, Fake Data Entries, Fabricated Documentation र Entities Falsely Asserted गरेको भनेर बुझ्न सकिन्छ । पैसा जम्मा गर्ने रोशनी गुरुङ पुर्पक्षका लागि थुनामा गएका बेला झिकेर खाने मान्छे गृहमन्त्री थिए । यो भन्दा खतरनाक Conflict of Interest अरू केही हुँदैन ।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफ्नो पछिल्लो कार्यकालको पूरै अवधि सस्तो लोकप्रियताका लागि बिताए । जनहितका लागि कुनै काम भएनन् । ओली खराब समयमा प्रधानमन्त्री भएका हुन्, तर सहकारी प्रकरण छानबिनको सवालमा प्रचण्डले भन्दा खराब गरेका छैनन् । सडकमा मान्छे उतारेर केपी ओलीको सातो काड्ने तयारीमा प्रचण्ड देखिन्छन् । तर, केपी ओली यस्ता मनुष्य हुन्, जसलाई राक्षससँग पनि डर लाग्दैन ।

अन्तिममा एउटा कुरा– यति पढेर मलाई एमाले भयो भन्ठान्नेहरू मान्छे बन्न नै बाँकी छ ।

NLIC
भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x