फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा एक गिलास रक्सी दन्काएँ । सीमा नाका काटेपछि मलाई आफ्नो जीवनको ग्रहदशा काटिएजस्तो लाग्यो ।
बागडोगरा आइपुगेपछि मोबाइलको सिमकार्ड झिकेर मुखमा हालें । त्यसलाई चपाएर भुइँमा फालें । जोडसँग लात्तीले कुल्चिएँ । त्यसपछि तपाईंहरूले सम्पर्क गर्न खोज्नुभएको मान्छे सम्पर्कविहीन भयो । मेरो जीवनको यात्रामा पनि बाढीपहिरो आयो । सिमतालमा बगेका २ बसजस्तै म पनि कसैले नभेट्टाउने गरी 'लापता' भएको छु ।
भारतको भूमिमा त आइयो, तर भूमिगत हुने तरिका नै थाहा भएन । सिक्किम जाऊँ कि दिल्ली जाऊँ भनेर मनमा दोधार भयो । सिक्किममा धेरै नेपाली छन्, त्यसमध्ये पनि राईहरू धेरै छन् । तर, मेरो अनुहार राईको जस्तो नभएका कारण सिक्किम जान डर लाग्यो । भाग्यले त साथ दिएको थिएन नै, अनुहारले पनि साथ दिएन । त्यसपछि म इन्डिगो जहाज चढेर दिल्लीतर्फ लागें ।
साँझ ९ बजेतिर दिल्ली ओर्लिएँ । थाम्नै नसकिने गरी भोक लागिरहेको थियो । नजिकै एउटा ढावा रहेछ । त्यहीँ गएर पेटभरी रोटी खाएँ । राजमाको दाल बहुत मीठो थियो । तर, त्यो ढावामा एकजना नेपाली भाइ काम गर्दा रहेछन् । युट्युबमा 'जीबी राई फरार' भन्ने समाचार बजाइरहेका थिए । हाँसो पनि लाग्यो, किनकि जीबी राई फरार भएको समाचार जीबी राईकै कानले सुनिरहेको थियो ।
केही समय अगाडिसम्म जिब्रो पड्काएर खाएको रोटी पनि माटोजस्तो लाग्यो । मुखमा मास्क लगाएँ । नाकको डाँडी भाँचिदिन्छु भन्ने मान्छेसँग संगत गरेको थिएँ, तर आज आफ्नै नाक जोगाउन गाह्रो भयो । त्यो ढावामा मेरो आफ्नै नाक भाँचिएस्तो भयो । नाक भाँच्न कसैले उडी–उडी घुमाएर किक हान्नै पर्दैन रहेछ ।
ढावामा काम गर्ने भाइ झट्ट हेर्दा जगल्टा पालेको हेमराज थापाजस्तो देखिन्थ्यो । रोटी खान गएको मान्छेले कुटाइ पनि खाने सम्भावना बढेर गयो । कमिजको खल्तीमा ५ सय भारु थियो, बाबुराम नाम गरेको साथीले दिएको । त्यो पैसा ढावाको काउन्टरमा सुटुक्क राख्दिएँ अनि पत्ली गल्ली भएर लुसुक्क निस्किएँ । एकबारको जुनीमा देशबाट त भागेकै थिएँ, ढावाबाट पनि भाग्नुपर्यो ।
दिल्लीबाट अब फेरि कता जाने, अर्को फसाद आइलाग्यो । यहाँ त काठमाडौंमा भन्दा धेरै नेपाली रहेछन् । दिल्लीमा म त के, मेरो जुत्ता लुकाउन पनि गाह्रो भयो । मेरो हुलिया यति अलोकप्रिय भइसकेको थियो कि २ किलोमिटर टाढाबाट पनि मानिसहरूले चिन्न सक्थे । अनि मनममै सोचें– 'मलाई जाबो २ दिन लुक्न यस्तो फसाद परेको छ, त्यो प्रचण्ड भन्ने मान्छे १२ वर्षसम्म कसरी लुक्यो होला ?'
केही दिनपछि दिल्लीमा रहेको मलेसियन दूतावास गएँ । ग्यालेक्सी टीभीको प्रेस कार्ड घाँटीमा झुन्ड्याएको थिएँ । म आफू पत्रकार नभएर होला, त्यो कार्ड भैँसीको घाँटीमा झुन्ड्याएको रालोजस्तो लाग्यो । दूतवासमा म आफू मिडिया मालिक भएको देखिन चाहन्थें । रवि लामिछानेले पनि यस्तै कुरा सिकाएको थियो । प्रेस कार्ड साथमा राख्नुहोला, संसार फाँड्न सकिन्छ भन्थ्यो । ठिकै भनेको रहेछ, उसको प्रेस कार्डले सबैभन्दा पहिला सहकारी फाँड्यो, त्यसपछि मेरो जीवन पनि फाँडेर छाड्यो ।
दूतावासबाहिर एक नेपाली सुरक्षा गार्ड ठिङ्ग उभिएका रहेछन् । उनी जुम्ली लबजमा कसैसँग फोनमा बोल्दै थिए । हाउभाउ हेर्दा ज्ञानेन्द्र शाहीको हावाले भेटेको मान्छेजस्तो देखिन्थ्यो । यो मान्छेले भोलि फेसबूकमा मेरो फोटो भाइरल गराइदेला जस्तो डर लाग्यो । मलाई बरु हिटलरसँग डर लाग्दैन, तर ज्ञानेन्द्र शाहीको हावाले छोएका मान्छेहरूसँग डर लाग्छ ।
उसले मलाई फ्याट्टै चिनेछ– 'जीबी दाइ नमस्कार !' भन्यो । 'राजाको पालामा देश कस्तो राम्रो थियो, अहिले त बर्बाद भयो दाइ' भन्दै थियो । मैले हो–हो भन्दिएँ । अनि उसले थप्यो, 'तपाईंलाई फसाएको रवि लामिछानेले हो । फसाउने मात्र हो र, टाइटानिक जहाजभन्दा नराम्रो तरिकाले डुबायो । त्यो रविभन्दा त दुर्गा प्रसाई ठीक छ । दुर्गा प्रसाईंले राजा ल्याएरै छाड्छ । राजा आए भने सहकारीको पैसा सबै मिनाहा हुन्छ ।'
त्यसपछि त्यो भाइले 'दाजु आज हामीसँगै खाना खाऊँ' भनेर झोलाबाट एक प्लास्टिक मासु र भात निकाल्यो । मासु पनि एक किलो नै रहेछ । मलाई त एकाएक ससुराली आएजस्तो महसुस भयो । पेटभरी मासुभात खाएँ । राजावादीहरूमा एउटा संस्कारचाहिँ हुने रहेछ– खानुहोस्, बस्नुहोस् भन्ने । चिन्ता नगर्नुहोस् पनि भन्ने । त्यो ठाउँमा एमाले–कांग्रेस भएको भए मोसो दल्दिन्थे होला ।
केही दिनपछि भिसा मिल्यो । एयर एसियाको नियमित उडानमार्फत म दिल्लीबाट क्वालालम्पुरतर्फ उडेँ । रातको समय थियो । आकाशबाट हेर्दा दिल्ली शहर तिहार आएजस्तै झलमल्ल बलेको देखियो । मेरो मन भने कालरात्रिजस्तै अँध्यारो थियो । मेरो मनको तालिकामा मुकेश काफ्लेको पालामा जस्तै १८ घण्टा लोडसेडिङ चलेको थियो । म आफूलाई कुलमान घिसिङजस्तो बनाउन चाहन्थेँ, तर यथार्थमा दाउद इब्राहिमजस्तो बनिरहेको थिएँ ।
विमानमा दार्जिलिङ घर भएकी एक लिम्बूनी एयर होस्टेज रहिछिन् । ओठमा कोठी र गालामा प्रिती जिन्टाको जस्तो डिम्पल थियो । साँच्चै लिम्बूनीहरू किन यति धेरै राम्रा हुन्छन् है ? उनको सुन्दरता देखेर यस्तो लाग्यो कि बरु त्यो सहकारीको पैसा अरूले खानभन्दा यिनैले खाएको भए पनि हुन्थ्यो । यिनले खाएको भए त म यसरी एक्लै भाग्नुपर्दैनथ्यो, यिनलाई पनि लिएर सँगै भागिन्थो होला ।
उनकी बोजुको माइती घर संखुवासभा रहेछ, तर उनले आफू कहिल्यै त्यता नगएको बताइन् । राजेश पायल राईको ठूलो फ्यान रहिछन् । फ्यान मात्रै होइन, उस्तै परे राजेशसँग बिहे पनि गर्न सक्छु भनेर मजाक गरिन् । उनलाई राजेशको गीतभन्दा अनुहार मनपर्ने रहेछ । केही समयअगाडि रक्सी खाएको आरोपमा राजेश विमानबाट निकालिएको समाचार उद्धृत गर्दै भनिन्– 'हाम्रो विमानमा भएको भए त राजेशलाई म एक गाग्री रक्सी खान दिन्थें ।'
प्रेमिल कुरा चल्दै थियो । अचानक उनले नेपालको टीभीमा रवि लामिछानेको कार्यक्रम पनि हेर्ने गरेको बताइन् । रविजस्तो मान्छे प्रधानमन्त्री बन्नुपर्छ भनिन् । त्यसपछि मलाई औडाहा भयो । संसारको सबैभन्दा कुरूप एयर होस्टेज तिनै लाग्यो । त्यो ५ घण्टाको उडानमा मलाई भैँसीमाथि चढेर गधा लखेटेजस्तो अनुभव भयो । जसका कारण डुबियो, जसका कारण फरार हुनुपर्यो, उसैलाई मन पराउने मान्छे देख्दा प्याराग्लाइडिङको डोरी चुँडिएर जमिनमा पछारिएजस्तो हुने रहेछ ।
जब पाइलटले जहाज क्वालालम्पुर आइपुगेको जानकारी गराए, त्यसपछि भने मैले शान्तिको लामो श्वास फेरें । बल्ल थाहा पाएँ, श्वास अक्सिजनको मात्रै हुँदैन रहेछ, शान्तिको पनि हुँदोरहेछ । हतार–हतार एयरपोर्टबाट बाहिर निस्किएँ । खै कसरी हो, मेरो मोबाइलमा वाइफाइ टिपेछ । एकाएक ह्वाट्सएप कराउन थाल्यो । यसो हेरेको, शेयरधनी रवि लामिछानेको म्यासेज आएको रहेछ ।
कतै बाटो बिरायो कि, आँधीहुरीले उडायो कि, दैवी प्रकोपमा पर्यो कि भनेर होला– 'दाजु कता पुग्नुभयो' भनेर म्यासेज पठाएका रहेछन् । चिन्ता धेरै प्रकारका हुन्छन् । दशैंमा खानका लागि पालिएको बोका मोटाएन भने पनि चिन्ता लाग्छ, शायद त्यस्तै भयो होला । म जता पुगे पनि यिनलाई के चासो ? बाग्मतीमा बगाएको अस्तु जता पनि पुग्न सक्छ । आखिर यिनीहरूले मलाई अस्तु नै त बनाएका छन् ।
प्रसाईं थरका एक भाइ (जो हाम्रै टीभीमा कार्यक्रम चलाउँथे)ले पनि 'होशियार है दाइ, जोगिरएर हिँड्नुहोला, तपाईंमाथि षड्यन्त्र हुँदैछ' भनेर म्यासेज गरेछन् । मलाई षड्यन्त्रकारीहरूसँगै बसेर षड्यन्त्रको बारेमा सचेत गराएजस्तो महसुस भयो । रवि लामिछानेलाई उक्साउनेमा यिनी पनि अग्रपंक्तिमै थिए ।
प्रसाईंलाई पहिलोपटक भेट्दा 'हामी त पूर्व ताप्लेजुङको दाजुभाइ परियो, देश खानुपर्छ दाजु' भनेर भेगीय साइनो लगाएका थिए । यिनले देश खाए कि खाएनन्, त्यो त थाहा भएन, तर ग्यालेक्सी टीभीमा जागिर खाए, त्यही सहकारीको पैसाबाट तलब खाए । यिनी मान्छे निकै आँटिला रहेछन् । 'कुनै दिन यो देशको सूचना तथा सञ्चार मन्त्री बनेरै छाड्छु दाजु, लेखेर राख्नुहोस्' भन्थे ।
धरानमा बसिरहेको मान्छेलाई मैले काठमाडौं ल्याएको थिएँ, तर आजभोलि यिनले जीबी राईलाई जमिनमुनि भएपनि खोजेर ल्याइन्छ भन्दै भाषण गर्दा रहेछन् । सबैभन्दा पहिला तिमीहरूको खुरापाति ग्याङले मबाट लगेको पैसा फिर्ता गर, त्यसपछि मलाई कसैले खोज्नैपर्दैन, बाटो देखेकै छु, आफैं आउँछु । तिमीहरूले लगाएको चम्किलो कोट पाइन्ट र जुत्ता पनि सहकारीकै पैसाले किनिएको हो ।
मेरै थालमा खाएर, मेरै थालमा थुक्ने ? नियतिले कसैलाई ठग्दैन रहेछ, गलत नियत भएका मान्छेहरूले ठग्दा रहेछन् । यिनीहरू मुसा बनेर पसे, बाघ बनेर निस्किए । म बाघ थिएँ, आज बिरालोजस्तै भएँ । एउटा किसानले महिनौं दु:ख गरेर मकै लगाउँछ, तर गोरु पसेर एकै मिनेटमा सोत्तर पारिदिन्छ । हाम्रो सहकारी राम्रै थियो, तर अचानक सहकारीमा गोरु पस्यो । ग्यालेक्सी टीभीमा लगानी गरिएको अर्बौं रकम सत्यनाश भयो ।
केही महिनाअगाडि रवि लामिछाने मलेसिया आएका थिए । मलाई भेट्न खोजेका रहेछन्, तर मैले भेटिनँ । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने मान्छेहरूले साथमा पुलिस बोकेर पनि आउन सक्छन् । अब उनको र मेरो भेट कि माथि हुन्छ, कि त डिल्लीबजारमा । आखिर मान्छेहरूले उनलाई पनि त मलाईजस्तै सहकारी ठग भनेर चिन्दा रहेछन् । योभन्दा नरकीय जीवन अरू के हुनसक्छ ?
हिजो रवि लामिछानेसँग एमाले सांसद सूर्य थापाले बयान लिएछन् । ग्यालेक्सी टीभीबाट आफूले तलबबाहेक एकसुका लिएको भए राजनीति नै छाडिदिन्छु भनेर रविले धम्की दिएछन् ।
उनकै कारण म देश छाडेर हिँड्नुपरेको छ । उनकै कारण सहकारीपीडितहरू 'हार्ट अट्याक' भएर मर्नुपरेको छ । उनकै कारण औषधि किन्ने पैसा नभएर सडकमा हात थाप्नुपरेको छ । के हाम्रो जीवनभन्दा ठूलो उनको राजनीति हो र ?
आफूले चाह्यो भने श्रीमती छाड्न पाइन्छ । नागरिकता छाड्न पाइन्छ । टीभी छाड्न पाइन्छ । सरकार छाड्न पाइन्छ । यो संसारमा छाड्न नपाइने चिज केही पनि छैन । एक मुठी श्वास पनि छाड्न पाइन्छ । त्यसैगरी राजनीति पनि छाड्न पाइन्छ । रवि लामिछानेले राजनीति छाड्दैमा सगरमाथा पल्टिने होइन, त्रिशुली नदीको पानी सुक्ने होइन, जोमसोममा हावा चल्न छाड्ने पनि होइन, त्यसैले कसरी हुन्छ, गल्ती स्वीकार गरेर व्यवहार मिलाउने काम गर्नुपर्छ । यस्तो गर्छु, उस्तो गर्छु भनेर धेरै नाटक नगर्दा हुन्छ ।
संसदीय समितिसँग बयानमा रवि लामिछानेले भनेछन्- 'मैले सहकारीको पैसा खाएको कुनै प्रमाण छैन ।' हो, सर्पले दूध खाएको पनि कुनै प्रमाण हुँदैन । हामीले सानोमा कुखुरा चोरेर खायौं, काँक्रो चोरेर खायौं, त्यसको पनि प्रमाण छैन । रविले पैसा खाएको प्रमाण नभएपनि सहकारीले दिएको प्रमाण छ, किनकि ग्यालेक्सी टीभी खोल्न प्रयोग गरिएको करोडौं रकम मैले गाउँको हल गोरु बेचेर ल्याएको त पक्कै पनि होइन ।
रवि लामिछानेले पैसा खाएको मैले पनि देखेको छैन । उनले प्राय: दाल, भात, तरकारी नै खान्छन् । पैसा खाएको रवि लामिछानेको बैंक खाता र खल्तीले हो । बैंक खाता बडो खतरनाक हुन्छ, त्यसले घरजग्गा मात्रै होइन, मान्छेहरूको इज्जत पनि लिलामी गर्छ । त्यो बैंक खाता नम्बर बजारमा आइसकेको छ । त्यो नै सत्य हो । अब त्यो खाताबाट पैसा उनले निकाले कि, उनकी श्रीमतीले निकालिन् कि, सासूससुराले पो निकाले कि, त्यो उनैले जान्ने कुरा हो ।
रविले आफ्नो नाममा गरिएको सहकारी र गोरखा मिडियाको कारोबार कीर्ते भएको बताएछन् । कारोबार नक्कली भए पनि हजार- हजारको नोट त सक्कली नै थियो । नोट सक्कली भएपछि कारोबार कसरी नक्कली हुन्छ ? मैले आर्टिफिसियल इन्टेलिजेन्ससँग कारोबार गरेको त पक्कै होइन । मैले 'ह्युमन एक्जिस्टेन्स' भएको, टीभीमा निरन्तर ६० घण्टा बोलेर गिनिजबूकमा नाम लेखाएको रवि लामिछानेसँग कारोबार गरेको हो ।
अनलाइन मिडियाका केही समाचार हेरें । 'जीबी राई रिप' नलेखिएको कुनै 'कमेन्ट सेक्सन' थिएन । नेपालीलाई 'रिप' भन्न कसले सिकायो कुन्नि, ६०/७० वर्षको बाजे-बज्यैले पनि 'रिप' नै भनेको देखेँ, जबकि उनीहरू आफैं एक/दुई वर्षभित्रमा कालगतिले 'रिप' हुन सक्छन् । एक जनाले त जीबी राई मर्यो भनेर फोटो नै चिप्काएका रहेछन् । आफ्नै मृत्युको खबर देख्दा होटलको कोठा पनि मलाई मसानघाटजस्तो लाग्यो ।
हो, सहकारीको पैसा डुबेकै हो । तर, ३ करोडको फोरके क्यामेरा मैले किनेको होइन । २ करोडको गाडी किनेर म चढेको होइन । महिनाको ७ लाख तलब मैले खाएको होइन । महिनाको १५ लाख खाजा खर्च मैले निकालेको होइन । मेरो बिहेमा १ करोड खर्च भएको पनि होइन । सबै पत्रिकाहरूमा टीभीको प्रचार गराएर करोडौं रकम खोला बगाएको पनि मैले होइन । म त एक साधारण मान्छे थिएँ । होटलमा खर्च हुन्छ भनेर भात खान पनि बेलुका घरै फर्किन्थें ।
धान खाने मुसा, चोट पाउने भ्यागुता भएको छु । कोरोना भाइरस आएको समयमा जम्माजम्मी एक वर्ष जति घरबाट कतै निस्किएको थिइनँ । तर, आज मलाई यो घण्टी नामको भाइरसले आजीवन निस्किन नदिने भयो । जसले मलाई भगाए, तिनैले खोज्दैछन् । सहकारीको पैसा प्रयोग गरेर आफ्ना छोराछोरी अमेरिका, क्यानडा, जापान, बेलायत र अस्ट्रेलिया पठाउने केही सर म्याडमले पनि मलाई खोज्दै रहेछन् ।
म फर्किनका लागि तिनीहरूले आफ्ना छोराछोरीलाई पनि फर्काउनुपर्छ । जनताको पैसा ब्याज उठाएर पनि फिर्ता गर्न सकिन्छ । सबै लगानी गरिएको छ । मैले बोरामा पोको पारेर ल्याएको छैन । सहकारीको रकम नाफाका लागि लगानी गरिएको हो । मलाई सेलिब्रिटी बन्नु थिएन । सांसद बन्नु थिएन । मन्त्री बन्नु थिएन । प्रधानमन्त्री पनि बन्नु थिएन । केवल मलाई नाफा कमाउनु थियो ।
काठमाडौंको मेयरमा बालेनले चुनाव जित्नु देशका लागि राम्रो भयो, तर मेरा लागि त्यही नै दुर्भाग्य बन्न पुग्यो । जसको भरोसा, विश्वास र आग्रहमा टीभी खोलिएको थियो, ऊ नै अर्को बालेन बन्न भनेर निस्कियो । ऊसँगै उसले ल्याएका सबै मान्छेहरू कोही हर्क साम्पाङ त कोही गोपी हमाल बन्छु भनेर निस्किए । उनीहरू के-के बने समाजले देखेकै होला, मलाईचाहिँ नामुद ठग बनाए ।
माफियाहरूको बोली बन्द गरिदिने भनेर खोलिएको टीभी नै बन्द भयो । ठगहरूको पर्दाफास गर्ने भनेका थिए, तर मलाई नै ठग बनाएर छाडे । पीडितहरूलाई न्याय दिने भनेर खोलिएको टीभी नै पीडित भयो । भ्रष्टहरूको भागाभाग गराउनुपर्छ भनेका थिए, यिनीहरूले मलाई भाग्न बाध्य गराए । 'द लिडर शो' कार्यक्रम चलाएर देश हाँक्न सक्ने नेता खोज्ने भनिएको थियो, तर पैसा उठाएर आफैं लिडर बने ।
मलाई सहकारी चलाउने कुरा थाहा थियो, तर टीभी कसरी चलाउने हो, केही थाहा थिएन । रवि लामिछानेले 'हाम्रो टीम छ, सबै थाहा छ, तपाईं चिन्ता नगर्नू' भन्थे । आजभोलि त जे कुरा पनि 'मलाई थाहा छैन' भन्दा रहेछन् । सोझी युवतीलाई गर्भवती बनाएर कसैले 'मैले यौनसम्पर्क गरेकै होइन' भन्न त सक्छ, तर बच्चा जन्मिएर डीएनए टेस्ट गरेको दिन सबै कुरा थाहा लाग्छ ।
कतिपयले मलाई इन्टरपोल लगाएर समात्ने भन्छन् । समाते पछि के गर्छन् ? जेलमा हाल्छन् । मलाई जेलमा हालेर सहकारीपीडितको पैसा फिर्ता आउँदैन । जेलमा त रकम फिर्ता नगर्नका लागि बस्ने हो, म जेल जान चाहन्नँ, जसरी भएपनि कारोबार मिलाउन चाहन्छु । कसैको एक सुका पनि खाएर मर्न मन छैन । किड्नी बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्छु, किनकि म सहकारी डुबेको डरले भागेको होइन, रवि लामिछानेको टीमका कारण भागेको हो ।
म विदेशमा नै छु । कम्तीमा यहाँ मेरो कुनै फर्जी सुसाइड नोट भेटिन्न । कुनै सुनियोजित दुर्घटनामा मेरो मृत्यु हुँदैन । म बाँचे भने मेरा हजारौं शेयर सदस्यहरू बाँच्नेछन् । म मरेको दिन सबै मर्नेछन् । यसकारण मलाई प्रहरीले त नखोज्नुहोला नै, हराएको मान्छे भेटाउने चितवनका युट्युबर अर्जुन भुसालले पनि नखोजे हुन्छ ।
मेरो बकपत्र पढिदिनु भएकोमा सबैलाई धन्यवाद ! महावीर पुनको आत्मकथा त किनेर पढ्नुभएको छ भने कथा नै कथाले भरिएको यो जीबी राईको आत्मकथा नि:शुल्क पढ्न पाउनु भयो, मलाई यसैमा आनन्द छ ।
सम्पादकीय नोटः सहकारी ठगी गरेर भागेका जीबी राई अहिले नेपालबाहिर छन् । पक्राउ गरेर नेपाल ल्याउन प्रहरीले कोशिश गरिरहे पनि सफल भएको छैन । देशमा तहल्का मच्चाएको सहकारी ठगीबारे जीबी राई बोलेका छैनन् । संसददेखि सडकसम्म सहकारीको ‘महाठग’ भनेर आरोप लागेका राईले के सोच्दै होलन्, उनको मनमा के होला ?' यो जीबी राईका नाममा लेखिएको काल्पनिक मनोवाद हो ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...