×

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरण

मुख्य ‘सुटर’ एसपीलाई नै चक्मा दिएर फरार, धमाधम गाउँ छोड्दै त्रस्त स्थानीय

काठमाडाैं | असार २५, २०८१

बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको २५ दिन बित्दा पनि प्रहरीले मुख्य अभियुक्त पक्राउ गर्न सकेको छैन । गत जेठ ३२ गते साँझ क्याम्पसबाट फर्कंदै गर्दा हरिभूषणमाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली हानी हत्या भएको थियो । ​ मोटरसाइकलमा आएका दुई जना उनीमाथि गोली प्रहार गरेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराले घटना भएको १२ दिनमा हत्यामा संलग्न भएको भन्दै सात जनालाई सार्वजनिक गरेको थियो । पीडितले किटानी जाहेरी दिएकै आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान र हातहतियार खर खजाना कसुरमा जिल्ला अदालत बारामा मुद्दा दर्ता गरिएको छ । मुद्दा चलाइएकाहरूमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने अवधलालप्रसाद कुशवाहाा, सोही स्थानका चाँदसीप्रसाद कुशवाहाा, राधेशकुमार पटेल र विनोद राउत कुर्मी रहेका छन् ।


Advertisment

त्यस्तै कलैया उपमहानगरपालिका– १० मटिअर्वा टोल बस्ने आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका–७ पिपरा टोल बस्ने मोतिलाल चौधरी छन् । उनीहरूका साथबाट तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सीम कार्डसमेत बरामद भएका थिए ।


Advertisment

यी सात जनालाई समातेको एक हप्तापछि हरिभूषणको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउगरी सार्वजनिक गरेको थियो । उनी हुन्, बारागढी गाउँपालिका– ५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमार । चमारबाट प्रहरीले एक थान कटुवा पेस्तोल, मेड इन यूएसए लेखिएको चेम्बरमा गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र सोमा लाग्ने एक थान म्यागजिन बरामद गरेको छ ।

मृतक हरिभूषणको घर कलैया र आदर्श कोतवाल गाउँपालिका–२ खजुरिया दुवै ठाउँमा छ । हरिभूषण गाउँका जमिन्दारसमेत हुन् । उनी जग्गा जमिनको काम गरेकै कारण विवादमा समेत तानिएका थिए ।

हत्या आरोपमा केही पक्राउ परे पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन् ।  मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने आवाज संसद्मा पनि उठिरहेको छ ।

नेकपा एमाले बाराका सांसद अच्युतप्रसाद मैनालीले राजनीतिक आवरणमा हुने हत्याका शृंखला फेरि बढ्दै गएको भन्दै सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित हुनुपरेको बताएका थिए । उनले अपराधीलाई कानूनी दायरमा ल्याउन संसद्‌मा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार सुरेन्द्र कुशवाहा हुन् । उच्च स्रोतका अनुसार बारा प्रहरी प्रमुख महेन्द्र खड्का सुरेन्द्रको गिरफ्तारीका लागि आफैं भारतको पटना पुगेका थिए । तर, नेपाल–भारत सीमानजिकै पुग्दा सुरेन्द्रले भारतीय प्रहरीलाई प्रभावमा पारेर उम्कन सफल भएको स्रोत बताउँछ । सुरेन्द्रले आफूलाई गोली हान्यो भनेर हरिभूषणले एसपी खड्कालाई फोनमा गरेको कुराकानीको भिडियोसमेत प्रहरीसँग छ ।

हरिभूषण र सुरेन्द्रकोबीचको विवादको चुरो

खजुरियामा माछापालनसमेत गर्दै आएका हरिभूषण  सदरमुकाम कलैया र खजुरिया ओहोरदोहार गर्थे । आठ वर्षदेखि क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेका उनको हत्याको पछाडि राजनीतिसँगै अवैध सम्पत्ति आर्जनको विषयसमेत जोडिएको आशंका प्रहरीको छ । जानकारहरूका अनुसार हाल फरार रहेका सुरेन्द्र र मृतक हरिभूषणको पहिला निकट सम्बन्ध थियो ।

जग्गाजमिनको विवादमालाई लिएर विगत ६ महिनायता उनीहरूबीच मनमुटाव शुरू भएको थियो । २०७४ को स्थानीय तहको चुनावमा आदर्श कोतवाल गाउँपालिका–२ को वडाध्यक्ष सुरेन्द्रलाई चुनावमा उठाउने अरु कोही नभएर हरिभूषण नै थिए । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छाता चिन्ह लिएर सुरेन्द्र चुनावमा उठेका थिए । तर, सुरेन्द्रले हारे । चुनावमा उनै हरिभूषणले पर्चापाम्प्लेटदेखि ब्यानर छपाउन पैसा लगानी गरेका थिए । चुनाव एमालेका उम्मेदवारले जिते ।

२०७९ को चुनावमा गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार मनोजकुमार मेहताले जितेका थिए । जितको पछाडि हरिभूषणको पनि सहयोग थियो । बाराको कलैयमा घर बनाएका हरिभूषणले सुरेन्द्रका भाइलाई ठेक्का दिएका थिए । तर, ठेक्का सहमतिअनुसार करिब दुई लाख रुपैयाँ कम दिएपछि सुरेन्द्र हरिभूषणसँग रिसाएका थिए । त्यसैबेलादेखि उनीहरूबीच मनमुटाव शुरू भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हरिभूषणले अरु नै व्यक्तिमार्फत् चलाखीपूर्ण रूपमा चार/पाँच स्थानको जग्गा खरिद गरेका थिए । त्यसबारे सुरेन्द्र जानकार थिए । जिल्ला प्रहरी कार्यालय बारामा विवादलाई लिएर छलफलसमेत भएको थियो । प्रहरी कार्यालयभित्रै सुरेन्द्र र हरिभूषणबीच भनाभन भएको थियो । सुरेन्द्रले जग्गा खरिद प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिएका थिए ।

घटना हुनुभन्दा एक महिनाअघि नै हरिभूषणले आफू असुरक्षित रहेकाले ज्यानको रक्षा गरिदिन प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सामान्य रूपमा लियो । सुरेन्द्र मौकाको प्रतिक्षामा थिए । ‘सुरेन्द्र र हरिभूषणबीचको विवादबारे प्रहरीलाई सामान्य जानकारी थियो, तर, यहाँसम्म घटना होला भन्ने कल्पना गरिएको थिएन,’ जिल्ला प्रहरी कार्यालय बाराका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने,‘ हरिभूषणले आफूमाथि गोली प्रहार भएपछि एसपीसाबलाई फोन गर्नुभएको रहेछ । सूचना संयन्त्र कमजोर हुँदा सुरेन्द्र उम्कन सफल भए ।’

नेपाली सेनाका भगौडा सैनिक सुरेन्द्रले पछिल्लो समयमा गाउँमा गाइभैंसी फार्म खोल्ने भनेर तयारी गरेका थिए । उनले टहरो बनाएर केही भैंसीसमेत पालेका थिए । तर, हरिभूषणको हत्या योजना बनाएपछि उनले भैंसी बेचेर आफ्नो परिवारलाई समेत अन्तै सिफ्ट गर्न भ्याइसकेका थिए ।

आदर्शकोतवालमा त्रास हटेको छैन

हरिभूषणको हत्यापछि आदर्शकोतवाल गाउँपालिकास्थित खजुरीयामा त्रास कायमै छ । राजनीतिक रूपमा दुई कित्तामा बाँडिएका छन् । एमाले निकट सर्वसाधरणका केही घरहरू तोडफोड भएका छन् । केहीमाथि कुटपिट भएको छ ।

त्यहाँका एक स्थानीयले भने, ‘अहिले गाउँमा केही घरका परिवारै सम्पर्कविहीन छन् । यसबारे स्थानीय प्रशासनदेखि संघीय सांसदहरूलाई समेत जानकारी छ ।’ त्यसो त घटना भएको ६ दिनपछि बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थलमा निरीक्षणको लागि पुगेको थियो । अहिले गाउँपालिका नजिकै अस्थायी रूपमा प्रहरी चौकी खडा गरिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा गाउँमा दुई सिफ्टमा गस्ती गर्दै आएका छन् ।

बारा प्रहरीका प्रवक्ता एवं डीएसपी दधिराम न्यौपानेले मुख्य अभियुक्त सुरेन्द्रको खोजी भइरहेको बताए । उनले भने, ‘घटनामा प्रयोग भएको हतियारसहित हरिभूषणको हत्या योजना बनाउने समूहलाई पक्राउ गर्‍यौं । मुख्य अभियुक्तलाई पक्राउ गरेपछि थप रहस्य खुल्दै जाला ।’

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x