×

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

काठमाडाैं | असार २४, २०८१

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेर एउटा सन्देश प्रवाह गरेको छ । असार (१६–२१)मा सम्पन्न महाधिवेशनले पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र एवं विश्वका क्रियाशील समाजवादी राजनीतिक संगठनलाई पार्टीको अर्थ र उपस्थितिबारे सन्देश प्रवाह गर्ने प्रयत्न गरेको छ । सतहमा महाधिवेशन कर्मकाण्डी, नेता-कार्यकर्ता जम्मागरी साविकको पदमा रहेका नेताहरूको पद अनुमोदनको लागि ताली पड्काउन लगाइएजस्तो देखिए पनि असर र प्रभावको सम्भावनासहित विश्लेषण गर्दा महाधिवेशनले समसामयिक राजनीति र पार्टी जीवनमा दिएको सन्देशलाई ७ वटा बुँदामा अभिव्यक्त गर्न सकिन्छ ।

१) सबै भूगोल र क्षेत्रमा पार्टी संगठन जीवित छ 
दुई पटकसम्म मिति तोकेर सारिएको महाधिवेशन मध्य असारमा गरिने भनेर प्रचार शुरू गरिएकै दिन होला कि नहोला भन्ने संशय थियो । त्यसको पृष्ठभूमिमा भूगोलमा तयारी नपुगेको, संगठन चलायमान नभएको र संगठित सदस्यताको विवरणसमेत अद्यावधिक नभएको भनिएको थियो । पार्टीका संगठित सदस्यको तथ्यांक संकलन एवं अभिलेखीकरणको लागि शुरूमा समय तोकिए पनि अद्यावधिक गर्ने समय लम्बाइएपछि अधिवेशन आयोजना नहुने हो की भन्ने आशंका थियो ।


Advertisment

जेठ ३१ गते केन्द्रीय कमिटीका तर्फबाट जारी अपानिमा ‘दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका–२०८१ र आचारसंहिता’ सार्वजनिक भएपछि महाधिवेशनको प्रक्रिया शुरू भएको थियो । असार ५ गते देशैभर कूल १८७६ जना प्रतिनिधि छनोट हुने कार्यतालिका भएकोमा अधिकांश भूगोल तथा गैरभौगोलिक क्षेत्रको प्रतिनिधि सर्वसम्मत चुनिए । केही क्षेत्रमा मतविभाजनमार्फत् टुंगो लगाइयो । पार्टीको संगठन विभागले समाजवादी इन्जिनियरिङ संगठनलाई परिचालन गरेर पार्टी संगठित सदस्यको विवरण अद्यावधिक गर्ने प्रक्रियालाई व्यवस्थित बनाउँदै लगेपछिमात्र महाधिवेशनको तयारीले तिव्रता पाउन सक्यो । 


Advertisment

विवरण अद्यावधिक भइसकेपछि नेकपा(एस)को संगठित सदस्य संख्या एक लाख ५० हजारको हाराहारीमा रहेको निश्चित भएको छ । संगठित सदस्यहरू कति प्रशिक्षित छन् ? कति प्रतिवद्ध छन् ? वा विवरण कति प्रमाणिक छन् भन्ने प्रश्न भए पनि मूलतः संख्याको अधिकांश हिस्साले पार्टीको जीवनमा जोडिएका व्यक्तित्वको प्रतिनिधित्व गर्छ ।  भौगोलिक तथा गैरभौगोलिक क्षेत्रमा रहेका पार्टीसँग आवद्ध संख्याको आधारमा नेकपा(एस)ले सबै भूगोल र क्षेत्रमा पार्टी संगठन जीवित र सक्रिय छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।  

२) अबको राजनीति समाजवादी कार्यक्रमको हो 
महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिएको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवादी कार्यक्रमजस्ता दस्तावेजउपर १२ वटा समूह बनाएर छलफल गरिएको थियो । समूहले आफ्नो टोली नेता, टोली उपनेता र प्रतिवेदन तयारकर्ताको टिम बनाएर छलफललाई व्यवस्थित बनाउँदै हरेक इच्छुक प्रतिनिधिको टिप्पणी र सुझाव संकलन गरेका थिए । सबै समूहले दस्तावेजमा रहेको दोहोरोपना र अस्पष्टता हटाएर समाजवादी कार्यक्रमलाई सरल, स्पष्ट, बुझिने र छरितो बनाउनुपर्छ र साथसाथै भाषागत एवं तथ्यगत त्रुटिहरू सम्पादन गर्नुपर्छ भन्ने सुझाव पेश गरेका थिए । 

नेपालका कम्युनिस्ट घटकले समाजवाद र साम्यवादी सपनाको प्रचारप्रसारसहित सङ्गठनको बिउ रोपेको स्मरण गर्दै प्रतिनिधिले विभिन्नमा स्पष्ट ढाँचा माग गरेका थिए । प्रतिनिधिले उद्योग, कृषि तथा पशुपालन, सिंचाई सुविधा, वैज्ञानिक नापी र भूमिको विकास, शिक्षा, स्वास्थ्य, जलस्रोत र ऊर्जा, यातायात, हवाई, जलमार्ग, पर्यटन, सूचना तथा संचार, खेलकुद, जेल सुधार, राष्ट्रिय वन तथा वातावरण, खानेपानी, पारवहन,  हिमालय संरक्षण, प्रकोप व्यवस्थापन, वैज्ञानिक अन्वेषण र अन्तरिक्ष विकास, सुशासन, शहर, सेना, न्यायप्रणाली, सामाजिक सुरक्षा, धार्मिक स्वतन्त्रता, छुवाछुत, जाति र भाषा, समाजवादी संस्कृति र विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा ‘गरिनेछ’ वाला बुँदाको व्याख्या खोज्दै कसरी गरिने भन्ने बारेमास्पष्ट ढाँचा माग गरेका थिए । 

सबै समूहले प्रस्तुतितमार्फत् समाजवादी कार्यक्रममा पूर्ण सहमति जनाउँदै पार्टीले जितेका हरेक स्थानीय तह, प्रदेश र संघीय निर्वाचन क्षेत्रमा नमूना समाजवादी कार्यक्रम शुरू गर्नुपर्ने र त्यसको उदाहरणको आधारमा संगठन विस्तारलाई तिव्रता दिन सकिने सुझाव पेश गरेका थिए । वामपन्थी मात्र हैन गैरवामपन्थी दलबाट समेत जनताले समाजवादी कार्यक्रमले मात्र दिन सक्ने परिणामको अपेक्षा गरेको यथार्थहरूको बारेमा  प्रतिनिधिहरूले खुलेर छलफल गरेका थिए । महाधिवेशनमार्फत् नेकपा(एस)ले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सृजना एवं अन्य क्षेत्रबाट जनताले आशा गरेको हरेक विषय समाजवादी भावसँग जोडिएको व्याख्या गर्दै नेपालको अबको राजनीति समाजवादी कार्यक्रमको हो भन्ने सन्देश दिएको छ । 

३) संगठन संरचना र कार्यप्रणालीमा आमूल परिवर्तन आवश्यक छ  
सबै समूहले पार्टीको आन्तरिक जीवनमा अनुशासन र पारदर्शिता न्यून हुँदै गएको, अराजकता मौलाउँदै गएको, परिश्रमिहरूलाई पछि पारिएको तर, परिक्रमीहरूलाई अगाडि बढाइएको  विषयमा छलफल गरेका थिए । यस प्रकारको व्यवहारले नेकपा(एस) घोषित लक्ष्य प्राप्तितर्फ जाने सम्भावना नदेखिएकोले प्रतिनिधिहरूले योग्यता, क्षमता, क्रियाशीलता र निरन्तरताको आधारमा मूल्यांकन गरिने पारदर्शी प्रणालीको माग गरेका थिए । केन्द्रीय परिषद्को निर्णय उल्टाउँदै केन्द्रीय कमिटीमा सदस्य संख्या थप्नु, कम्तिमा  २० प्रतिशत युवाको प्रतिनिधित्व हुने भनिएको समूह नै बेपत्ता पारेर २५–४५ को उमेर समूह निर्धारण गरिनु र त्यस प्रकारको प्रतिगामी कदममा सचिवालयको सर्वसम्मति हुनुजस्ता विषयहरूको आलोचना भएको थियो । 

प्रतिनिधिहरूले पार्टीको आन्तरिक संरचना र कार्य प्रणालीमा समस्या भएकोले अनेकौं जटिलताहरू सृजना भएको विषय उठान गरेका थिए । नेतृत्व विकासको विश्वसनीय प्रक्रिया, आवधिक निर्वाचनहरूमा उम्मेदवार हुन स्पष्ट मापदण्डको व्यवस्था, विभिन्न स्तर र विविध क्षेत्रको समस्याको अध्ययन गरेर वास्तविक समाधान खोज्ने कार्य गर्न पार्टीका विभागहरूको पुनःगठनजस्ता विषय सम्बोधन गर्न नेकपा(एस)ले नयाँ संगठन संरचना र कार्यप्रणाली प्रस्ताव गर्नुपर्नेबारे अधिकांश समूहले आफ्ना धारणा राखेका थिए ।

महाधिवेशनको छलफलका क्रममा ठूला र धेरै कमिटी बनाएर नेता कार्यकर्तालाई बाँध्ने प्रयत्न गर्नुको साटो कमिटीहरू बनाएर तत्कालै सूचनाको सञ्चार हुने र चलायमान हुने प्रकारको बनाउनुपर्छ भन्ने सुझाव पनि आएको थियो । जसरी तीव्र स्पिडको सवारी चाहिएमा उच्च क्षमताको इन्जिन भएको मोडल खोज्नुपर्छ त्यसरी नै आम जनता र कार्यकर्ताको अपेक्षा बमोजिमको परिणाम दिनेगरी नेकपा(एस)ले नेतृत्व गर्ने हो भने विधानमा व्यापक संशोधन गर्दै पार्टीको इन्जिनको रूपमा रहेको संगठन संरचना र कार्यप्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ । 

४) पार्टी र नेतृत्वबाट जनताले प्रमाण र परिणाम खोजेका छन्
महाधिवेशनपश्चात् नेकपा(एस)ले तत्कालै समसामयिक राष्ट्रिय मुद्दा, वर्गीय उत्पीडन र जनसरोकारको विषयहरूमा जनपक्षीय सक्रियता निश्चित गर्नेगरी चेतनामूलक, प्रचारमूलक र परिणाममुखी गतिविधिहरू गर्नुपर्छ भन्ने सुझाव आएको थियो । किसान, विद्यार्थी र शहरीया मध्यम वर्गले भाषण, मार्क्सवादी साहित्य र दस्तावेजमात्र हैन प्रमाण र परिणाम खोजेको छन् भन्ने विषय सम्पूर्ण पार्टी पंक्तिले मनन् गर्नुपर्छ भन्ने विषयमा प्रतिनिधिहरूले चर्चा गरेका थिए । 

नेकपा(एस)ले आफ्नो पार्टीको तर्फबाट जनताको पक्षमा खेलिने भूमिकाहरूलाई सूत्रबद्ध बनाई प्रस्तुत गर्न सक्नुपर्दछ । आगामी दिनमा पार्टी प्रतिपक्षमा रहँदा, मन्त्रीसहित गठबन्धन सरकारमा रहँदा, आफ्नै नेतृत्वको गठबन्धनमा रहँदा, एकल बहुमत र दुइतिहाइ बहुमतमा रहँदाको कार्यनीति र विभिन्न लक्ष्यहरूलाई विशिष्टिकृत गरेर व्याख्या गर्दै सोही अनुरूप व्यवहार गर्नु पर्दछ भन्ने विषयहरू पनि प्रस्तुतीकरणमा समेटिएका थिए । 

प्रतिनिधिहरूले महाधिवेशनमार्फत् नेतृत्वले कार्यशैली सच्चाउनुपर्ने माग गरेका छन् । मञ्चमा उभिएर आधा प्रवचन र आधा दुर्वचन बोल्ने शैलीलाई हरेक तहको नेतृत्वले सच्चाउनुपर्ने र आफ्ना गतिविधिको कारण क्रान्तिकारी पार्टी निर्माणमा पुगेको योगदान एवं जनताको पक्षमा भएका कामको प्रमाण र परिणाम खोज्नुपर्ने सन्देश दिएका छन् । 

५) पार्टी एकतावद्ध र विसर्जनविरुद्ध छ
प्रतिनिधिहरूबीच साझा भावना थियो कि मुख्य नेतृत्वको लागि चुनावी प्रतिस्पर्धा भयो भने पार्टी थप क्षयीकरणको बाटोमा जानेछ । महाधिवेशनमा मुख्य नेतृत्वको लागि चुनाव भएप्रश्चात् पार्टीभित्र अस्वस्थ रूपमा आन्तरिक ध्रुवीकरण तीव्र हुने, आधारभूत तहमा पार्टी प्रणाली स्थापित भई चलायमान नभएको हुँदा त्यस प्रकारको प्रतिस्पर्धाले कतिपय योग्य र आवश्यक व्यक्तिहरूलाई किनारामा पुर्‍याइदिने हो की भन्ने भय थियो । 

त्यसैले अध्यक्षमा माधव नेपालको निरन्तरता चाहने पक्ष होस् वा घनश्याम भुसाललाई नेतृत्वमा देख्न चाहने पक्ष होस् सबैले सर्वसम्मतिको कुरा गरिरहेका थिए । दुवै पक्ष पार्टीलाई विसर्जनबाट बचाउनुपर्छ, पार्टी एकतावद्ध हुनुपर्छ भन्ने मूल भावमा केन्द्रित भएकै कारण १२ वटामध्ये ११ वटा समूहहरूले दस्तावेजहरूमाथि छलफल प्रतिवेदन पेश गर्दा अतिरिक्त सुझावसहित नेतृत्व सर्वसम्मतिबाट टुंगाउन राय दिएका थिए । बागमती (क) समूहको भावना त्यसै प्रकारको भए पनि प्रस्तुतीकरणको लागि छोटो समय उपलब्ध गराइएकोले टिप्पणी र सुझावहरू दस्तावेजमा मात्र सीमित गरिएको थियो । 

जब प्रतिनिधिको भावनाबमोजिम अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मतिमा चयन गरेको घोषणा गरियो, नेकपा(एस)का नेता कार्यकर्ताले ठुलो राहत महसुस गरे । हलमा त्यसलाई तालीको गड्गडाहटसहित स्वागत गरियो । त्यसपछि पनि २९९ सदस्यीय केन्द्रीय समितिबाट बाँकी रहने २९५ संख्यमा करिब १००० जना प्रतिस्पर्धी रहने माहोल बनिरहेको थियो । तर, नेतृत्वले सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै फटाफट प्रस्तावहरू पढेर हलबाट म्याण्डेट लियो । अधिकांश प्रतिनिधिले ताली बजाउँदा केन्द्रीय सदस्यको प्रत्यक्ष चुनाव नहुने भन्ने बुझेका थिएनन् ।

अन्तिम दिन, असार २१ गते जब साविकको पोलिटब्युरोलाई समेटेर ९३ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव भयो त्यसपछि ठुलो संख्यामा प्रतिनिधिहरूले प्रतिरोध गरे । तर, अघिल्लो दिन नै अधिकार प्रत्यायोजन  गरिसकोकोले प्रतिनिधिहरूको तागत कमजोर भइसकेको थियो । यसबीच प्रस्ताव पास भएको घोषणा भयो र सपथग्रहण भयो । 

सर्वसम्मतिमा महाधिवेशन टुंगाउदा एकातिर पार्टीभित्रको आन्तरिक विभाजन रोकियो भने अर्कोतर्फ पार्टीमा सक्रिय भएका, जनाधार बलियो भएका र पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट केन्द्रीय नेतृत्वमा आउँछु भनेर तयारीमा रहेका इमान्दार एवं क्षमतावान् कमरेडहरूको आकांक्षामाथि तुषारापात भयो । पार्टी पुनर्गठनको क्रममा पद ओगटेर काम नगरेका र गम्भीर गल्ती गरेकाहरूलाई प्रतिनिधिहरूले प्रत्यक्ष सजाय दिने अवसर गुम्यो ।  सर्वसम्मतिले तत्कालको लागि पार्टी एकतावद्ध छ भन्ने सन्देश दिए पनि १२ वटै समूहले पार्टी निर्माणको अवरोधको रूपमा किटान गरेको ‘नेताको वरिपरि घुमी हिँड्ने गणेश प्रवृत्ति’लाई प्रोत्साहन हुनेगरी आ–आफ्ना आसेपासेलाई टीका लगाउँछन् कि भन्ने चुनौती पनि एक साथ थपियो । 

तैं चुप मैचुप गरे मिलिभगत सूची सार्वजनिक गरिदेलान् की भन्ने आंशका कायमै रह्यो र यसैले पार्टी विसर्जनको लागि निर्णायक भूमिका खेल्न सक्छ भनेर असन्तुष्टिहरू सार्वजनिक भइरहेका छन् । 

तैपनि सर्वसम्मतिमा केन्द्रीय सदस्य छनोट गर्दा सक्रियता र सम्भावनाको आधारमा सबै समूहमा नयाँ सदस्यहरूको प्रवेश हुनेछ र कसैलाई किनारमा पारिने छैन भन्ने घोषणा भएकोले केन्द्रीय सदस्यको पूर्णसूची तयार नभएसम्म, तत्कालको लागि महाधिवेशनले पार्टी एकतावद्ध छ र विसर्जनविरुद्ध छ भन्ने सन्देश दिएको छ ।

६) पार्टीको फरक पहिचान आवश्यक छ
प्रतिनिधिहरूले सानो/सानो समूहमा पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, संगठन संरचना, कार्यप्रणालीजस्ता विषयमा फरक पहिचान आवश्यक भएको भावना व्यक्त गरिरहेका देखिन्थे । एमाले वा माओवादीको जस्तै फोटोकपी पार्टी आवश्यक नभएको र पार्टी विस्तारको लागि जनताको एजेण्डाहरूमा काम गर्नुपर्ने तर्क गरिरहेका देखिन्थे । 

अन्तराष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीति, जनजीविकाको सवालमा पार्टी र जनता जोडिने स्पष्ट ढाँचाको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले आफ्नो सुझाव पेश गरिरहेका थिए । अधिकांश समूहले एमसीसी अनुमोदनमा पार्टीको भूमिका गलत रहेका टिप्पणी गरेका थिए । महाधिवेशनले पार्टी शुद्धीकरण एवं सुदृढीकरणको लागि जनताको पक्षमा लड्ने र काम गर्ने पार्टीको रूपमा नेकप(एस)ले आफ्नो पहिचान स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको छ । 

७) पार्टी निर्माण र विस्तार सम्भव छ
महाधिवेशनको पूर्वसन्ध्यामा असार १५ गते बालकोटमा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको ‘दहीचिउरा भेटघाट’ले राष्ट्रिय राजनीति तरंगित बनायो । महाधिवेशन सकिने दिनसम्म आइपुग्दा कांग्रेस–एमालेबीच नयाँ सरकार गठन र संविधान संशोधनको लागि सहमति भएको, प्रचण्डले असार २८ गते विश्वासको मत लिने विषय सार्वजनिक भएको छ ।

विगत ३० वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका र सत्ता सञ्चालनमा प्रत्यक्ष सहभागी भइरहका दलहरूको अकर्मण्यता र असक्षमता एवं वैदेशिक हस्तक्षेपको कारण नेपाली जनतामा निराशा फैलिएको तथ्य जगजाहेर छ ।

कांग्रेस, एमाले मात्र होइन नेपालमा हाल क्रियाशील कुनै पनि राजनीतिक दलले विद्यमान संगठन संरचना र कार्यप्रणाली कायम राखेर आफ्नो पार्टीको घोषित लक्ष्य प्राप्त गर्ने सम्भावना छैन । दलहरूको उद्देश्यमूलक मिलनबाट परिणाम प्राप्त गर्न दलहरूको कार्यशैली र संगठन परिचालनको ढाँचामा पनि व्यापक परिवर्तन आवश्यक छ । 

२०७४ मा उठेको विवेकशीलको झिल्को, २०७९ मा हर्क, बालेन र गोपाल हुँदै उदाएको स्वतन्त्र लहर नेपाली समाजको अराजनीतिक अभिव्यक्ति मात्र होइन, राजनीतिक दलको अकर्मण्यता र असक्षमता प्रतिको प्रतिक्रिया पनि हो । महाधिवेशन प्रतिनिधिहरूको बिचमा भएको समूह छलफलभित्र कांग्रेस, एमाले, माओवादी लगायत हामी आफैं नसुध्रिएसम्म यो प्रतिक्रिया निरन्तर थप भइरहन्छ भन्ने विषय पनि उठेको थियो । नेकपा(एस)ले आफूलाई सुधारे अगाडि बढेमा, संगठन बलियो बनाएर राजनीतिक नेतृत्व दिएमा र वर्गीय संघर्षमा सक्रिय सहभागी भएमा पार्टी निर्माण र विस्तारको अवसर छ, सम्भव छ भन्ने सन्देश दिएको छ ।

निष्कर्ष, 
नेकपा(एस)ले विगत ३ वर्षको सम्पूर्ण गतिविधिको निर्मम समीक्षा गर्दै नवनिर्वाचित केन्द्रीय कमिटीमार्फत् महाधिवेशनबाट सुझावसहित पारित दस्तावेजहरूलाई समृद्ध बनाउने, विधान संशोधन गर्ने र सोहीअनुसार मातहतका कमिटीहरू चलायमान बनाउने कार्य गर्नुपर्दछ । हरेक समूहबाट आएका सुझावहरूमा महाधिवेशनमा पर्याप्त छलफल हुन पाएको छैन । तसर्थ, उपरोक्त सुझावहरूमाथि नवनिर्वाचित कमिटीले लामो छलफल गरेर, पार्टी नेतृत्वले पार्टीलाई नयाँ ढंगमा चलाउँछौ भन्ने प्रविवद्धता गर्दै त्यसको प्रतिविम्ब देखिने संगठन संरचना, कार्यप्रणाली र जनपरिचालनको योजनाहरू प्रस्तुतगरी कार्यान्वयन गरिनु आवश्यक छ । अन्यथा, मध्यअसारमा सम्पन्न गरिएको महाधिवेशनकोे लागि खर्च गरिएको साधन, स्रोत, ऊर्जा र समय औचित्यहीन नौटंकीमा परिणत हुनेछ र पार्टीको रूपमा नेकपा(एस)को अर्थ र उपस्थिति असान्दर्भिक बन्दै जानेछ ।​

रुपाखेती नेकपा(एस)को महाधिवेशन प्रतिनिधि हुन् ।

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x