×

नयाँ सत्ता समीकरणको पृष्ठभूमि

...अनि चल्न छाड्यो ३२ को जादु, त्यसपछि खुल्यो कांग्रेस–एमाले मिल्ने ढोका​

काठमाडाैं | असार १८, २०८१

दायाँबाया गरेर ५ वर्ष नै प्रधानमन्त्री पड्काइदिने पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाउलाई चक्मा दिनेगरी सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिले प्रचण्डलाई स्तब्ध बनाइदिएको छ ।


Advertisment

राष्ट्रिय राजनीतिका दुई ध्रुव कांग्रेस र एमाले कसरी मिल्न सके ? प्रमुख दुई दललाई मिलाउने रसायन के हो ? मंगलबार सरकारी कार्यालयदेखि चिया पसलसम्ममा सर्वाधिक बहस भएको विषय हो यो । 


Advertisment

कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा त्यति सहज पक्कै थिएन । त्यही आकलनमा प्रचण्डले आफूलाई जादुगर सम्झेर पाँचै वर्ष सरकार चलाउने योजना बनाएका थिए । १८ महिनामा तेस्रोपटक काँध फेरेका प्रचण्ड यसैगरी अरू ४२ महिना प्रधानमन्त्रीमै दोहोरिनेमा ढुक्क थिए । 

तर, प्रचण्डको महत्त्वाकांक्षामा ठेस लाग्यो । राजनीतिक कोर्स परिवर्तन भएपछि राजीनामा गरेर बाटो सहज गर्नुपर्नेमा संसद् फेस गर्ने बालहठ गरेर उनले केही दिन सत्ता लम्ब्याउन खोजेका छन् ।

हुनसक्छ, अपारदर्शी ढंगले कुनै निर्णय गर्ने र कतै नियुक्ति दिनेलगायत ।

‘६२ को बदला ६२’को मिस फायर

खासमा कांग्रेस–एमाले मिल्ने साइत गत वैशाखमै थियो । विभिन्न चरणमा कुराकानी भएर सहमति अन्तिम चरणमा पुगेको थियो । २०७९ पुस ११ गते सरकारमा सहभागी भएर ६२ दिनमै सत्ता सहयात्रा टुंग्याएको एमालेले यसपटक ठ्याक्कै ६२ दिनको साइत पारेर प्रचण्डसँगको सत्ता यात्रा टुंग्याउने तयारी गरेको थियो । 

null

कांग्रेस–एमाले सहकार्यको गृहकार्यबारे लोकान्तरले विश्लेषणात्मक समाचार लेखेको थियो ।

पढ्नुहोस्, वैशाख ११ मा लेखिएको यो टिप्पणी–

समीकरण फेरिएको २ महिना नबित्दै 'ट्विस्ट'को संकेत : कांग्रेस–एमाले सरकार बनाउन कसरत !

फागुन २१ गते दोस्रोपटक प्रचण्डको सरकारमा सहभागी भएको एमाले ६२ दिन अर्थात् वैशाखको दोस्रो साता कांग्रेससँग समीकरणमा जोडिने तयारीमा थियो । कांग्रेस सभापति शेरबहादुर देउवाका कारण त्यो साइत गुज्रियो । 

कांग्रेस–एमाले सहमतिका एक सूत्राधारका अनुसार लगभग सहमतिनजिक पुगिसकेका बेला देउवालाई कसैले ‘लोकतान्त्रिक गठबन्धन’ बनाउने कुरा कानमा फुकेपछि त्यो प्रयास तुहियो । लोकतान्त्रिक गठबन्धन बनाउनकै लागि भन्दै देउवाले माधव नेपाल, उपेन्द्र यादव र राजेन्द्र लिङ्देनसँग संवाद बढाए ।

लोकतान्त्रिक गठबन्धनको कसरत उपेन्द्र यादवका लागि महंगो सावित भयो । उपेन्द्र अमेरिकामा रहेका बेला अशोक राईले बहुमत सदस्य लिएर पार्टी विभाजन गर्दिए । देउवासँग एमाले पनि हच्कियो । 

नेपालमा पानी पार्ने मनसुन सक्रिय भएसँगै राष्ट्रिय राजनीतिमा पनि पानी पार्नेगरी अर्को मनसुन सक्रिय भयो । र, कांग्रेस–एमालेबीच सत्ता सहकार्यको अवस्था सिर्जना भयो । देउवाले अब ‘दायाँबायाँ’ नगर्ने पटक–पटक प्रतिबद्धता जनाएपछि ओली सहकार्यका लागि राजी भए । 

सोमबार मध्यराति क्याप्टेन रामेश्वर थापाको घरमा सहमतिपत्रमा हस्ताक्षर हुनुअघि ओली र देउवाबीच विभिन्न चरणमा छलफल भएका थिए । असार १५ मा देउवा बालकोट पुगेपछि छलफल खुलारूपमा भए । 

प्रचण्डको त्यो चलखेल, अनि भत्कियो गठबन्धन 

जेठ २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर फर्केपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै कांग्रेससँग संवाद बढाए ।

राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव लिएर प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगे । त्यो कुराले ओलीको मनमा चस्का पस्यो ।

सरकारमा सहभागी भएपनि एमाले नेतृत्व सरकारको कायैशैलीप्रति चरम असन्तुष्ट थियो । खासगरी बजेट निर्माणमा अर्थमन्त्री वर्षमान पुनको चलखेल र मनोमानीले ओली क्रुद्ध थिए । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले ‘जनयुद्ध’को ‘ह्याङओभर’ नमेटिएको बजेट भन्दै टिप्पणी गरेका थिए । असहमतिका बाबजुद पनि एमालेले बजेट पारित गर्न सहयोग गर्‍यो, यो बेग्लै विषय हो । 

बजेटलगायत कतिपय नियुक्तिमा प्रचण्डको मनोमानी तथा राष्ट्रिय सहमतिको सरकारको नाममा एमालेलाई माइनस या बाइपास गर्ने प्रचण्डको चतुर्‍याइँ थाहा पाएपछि एमाले फेरि कांग्रेससँग नजिकिएर संवादमा जुट्यो ।

फागुन २१ मा नयाँ समीकरण बनाएको चार महिना नपुग्दै प्रचण्ड किन फेरि कांग्रेससँग नजिकिन खोजे होलान् ? एमालेको विश्लेषण छ– ‘भारत भ्रमणपछि बदलिएको सोच !’ 

 

गत वर्ष एमालेको समर्थनमा सरकार बनेको केही सातामै माओवादीले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्‍यो ।

त्यो बेला पनि प्रचण्डले कांग्रेसलाई समेत सहभागी गराएर राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेका थिए । त्यही शैलीमा फेरि कांग्रेससँग नजिकिएर एमालेलाई बाइपास गर्ने प्रचण्डको रणनीति हुन सक्ने आकलन एमालेले गर्‍यो ।

फागुन २१ मा नयाँ समीकरण बनाएको चार महिना नपुग्दै प्रचण्ड किन फेरि कांग्रेससँग नजिकिन खोजे होलान् ? एमालेको विश्लेषण छ– ‘भारत भ्रमणपछि बदलिएको सोच !’ 

यसबीचमा असार ८ गते प्रचण्डले आफूसँग ३२ सीटको ‘जादु अंक’ रहेको दाबीसहित ५ वर्ष नै सरकार चलाउने जिकिर गरे । त्यो चुरीफुरीले पनि थप आशंका जन्माउने काम गर्‍यो । ‘त्रित्राको मुखै बैरी’ भनेजस्तै सावित भयो प्रचण्डको जादुगरी अंक । 

प्रचण्डका विभिन्न चरणका अभिव्यक्ति र गतिविधिले कांग्रेस–एमालेलाई नजिक्याउने वातावरण सिर्जना गर्‍यो ।

सत्ता गुमाउनु परेको छटपटीस्वरूप रवि लामिछानेले ‘बेचन झा’ पक्राउ प्रकरणलाई जोडे पनि झा पक्राउअघि नै नयाँ समीकरणको बीजारोपण भइसकेको थियो ।

‘राजनीतिक स्थायित्व र संविधान संशोधनको कुरा गरे पनि कांग्रेससँग नजिकिनुको कारणचाहिँ प्रचण्डको चलखेल नै हो, यसको जिम्मेवार स्वयं प्रधानमन्त्री हो,’ सहमति प्रक्रियामा जुटेका एमालेका एक नेताले भने । 

‘धोकाधडीको पर्याय’ प्रचण्डले पाएको पाठ

कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग समीकरण बनाएपछि फागुन २४ गते प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भनेका थिए– ‘कहिले कांग्रेस, कहिले एमालेलाई धोका दिनुभयो, तपाईंबाट धोका पाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको के हाल होला ?

हुन पनि प्रचण्डले संसद्को यही कार्यकालको छोटो समयमा कांग्रेस–एमालेलाई पटक–पटक धोका दिएका छन् ।

null

कांग्रेससँग चुनावी गठबन्धन गरेर कांग्रेसको समेत भोटका आधारमा चुनाव जितेका प्रचण्डले पुस १० गते कांग्रेसलाई धोका दिएर एमालेसँग सत्ता गठबन्धन बनाए । 

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले ६२ दिनमै एमालेलाई धोका दिएर फेरि कांग्रेससँग सत्ता सहयात्रा गरे । धोकाधडीको शृंखला रोकिएन, २०८० फागुन २० गते कांग्रेसलाई बीच बाटोमै लात हानेर एमालेसँग अस्थायी लगनगाँठो कसे । 

झट्ट बाहिर हेर्दा एमालेले प्रचण्डलाई धोका दिएजस्तो देखिएपनि सारमा यो अवस्थाको जिम्मेवार भने स्वयं प्रचण्ड नै हुन् । ‘०८४ को चुनावसम्मै’ यही सरकार भनिरहेका ओलीलाई चस्का दिएर प्रचण्डले आफ्नो विनासको बाटो आफैंले खोजे । 

सधैँ अस्थिरतामा अल्झिरहेको नेपालको राजनीतिमा कतिबेला कसको पासा पल्टिन्छ भन्न सकिन्न । तर, यसपटक कांग्रेस–एमालेले प्रचण्डको धोकाधडीलाई स्थायी बिराम लगाउने अस्थायी संकल्प गरेका छन् । 

‘केही कुराको रियलाइजेसन गरेरै संसद्का प्रमुख दुई दल मिल्न सम्भव भएको हो, ३२ मात्र होइन २१ र १० सीटेले समेत च्याँखे थापेर प्रधानमन्त्री दाबी गर्ने यो अस्थिरताको खेल बन्द गरौं भन्ने प्रयत्न हो,’ यो प्रक्रियामा सहभागी कांग्रेसका एक नेताले भने । 

‘केही कुराको रियलाइजेसन गरेरै संसद्का प्रमुख दुई दल मिल्न सम्भव भएको हो, ३२ मात्र होइन २१ र १० सीटेले समेत च्याँखे थापेर प्रधानमन्त्री दाबी गर्ने यो अस्थिरताको खेल बन्द गरौं भन्ने प्रयत्न हो,’ यो प्रक्रियामा सहभागी कांग्रेसका नेताले भने । 

सहमतिको खाका बाहिर नआए पनि संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्ने कांग्रेस–एमालेको संकल्प छ । 

दुई दलमध्ये जसले बहुमत ल्याए पनि या ठूलो बन्ने दलले अन्य साना दलको समर्थनमा ५ वर्ष नै सरकार बनाउन सक्नेगरी प्रचण्डबाट पटक–पटक धोका पाएका उनका सहयात्री एवं भुक्तभोगी डा. बाबुराम भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेखेका छन्ः चर्चित भनाइ छ– ‘केहीलाई सधैँभरी ठग्न सकिन्छस् सबैलाई केहीबेर ठग्न सकिन्छस् तर सबैलाई सधैँभरी ठग्न सकिन्न, सन्दर्भ बुझौं !’

एकपछि अर्कोगरी सफल बनेको– ओली रोडम्याप

नयाँ समीकरणबाट प्रधानमन्त्री बन्न लागेका ओली भने आफ्नो उद्देश्यमा एकपछि अर्कोगरी सफल बन्दै गएका छन् । २०७९ पुसमा प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर एमालेको सभामुख बनाउन सफल भए । 

२०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन भत्काएर एमालेलाई फेरि सत्तामा फर्काए । घेराबन्दीसहित प्रतिपक्षमा पुर्‍याइएका ओली फेरि प्रमुख दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्दैछन् ।

आफ्नो राजनीतिमा ओलीले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । 

पढ्नुहोस् यो पनि :

चौतर्फी घेराबन्दीबीच ओलीले निकालेको ‘गोल्डेन गोल’

आमनागरिकमा चरम निराशा बढेको, देशको अर्थतन्त्र चलायमान बन्न नसकेको र राजनीतिक अस्थिरताका कारण अराजकता बढिरहेको समयमा ओली सिंहदरबारमा फर्किँदै छन् ।

अन्य कुरा प्रतिकूल रहे पनि उनले भरपर्दो सत्ता साझेदार पाएका छन्, नेपाली कांग्रेस ।

प्रतिनिधि सभामा १३८ को अंक पुर्‍याउन साना दलका जायज नाजायज मागसामु उनलाई झुक्नुपर्ने छैन । सम्पूर्ण ध्यान कसरी सत्ता टिकाउने भनेर भ्यागुताको धार्नी पुर्‍याउने काममा उनी अल्मलिनु पर्ने छैन । अन्तर्राष्ट्रिय समुदायले समेत भरोसा गर्ने दुई दलको सहकार्यले जनतामा देखिएको चरम निराशालाई थोरै भएपनि चिर्न मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।

कांग्रेस–एमाले सहमतिको समाचारले अर्थतन्त्रको एउटा सूचक शेयर बजारमा देखिएको उछाल आत्मविश्वास बढाउने मापक हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अधुरो नारा पूरा गर्ने जिम्मेवारी झण्डै ३ वर्षपछि फेरि एकपटक ओलीको काँधमा आएको छ । 

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x