×

चुनौतीका चाङबीच बुटवललाई उत्कृष्ट शहर बनाउँदैछौंः मेयर खेलराज पाण्डेय [अन्तर्वार्ता]

बुटवल | चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व गर्न फेरि खेलराज पाण्डेय आएका छन् । नगर प्रमुख (मेयर) पाण्डेय नेतृत्वमा पुगेको पनि २१ महिना पुगिसकेको छ । यसैबीच लोकान्तरकर्मी प्रकाश आचार्यले मेयर पाण्डेयसँग बुटवलको विकास र समृद्धिसँगै बुटवलको समग्र पक्षमा रहेर गरेकाे कुराकानी:

Laxmi Bank

बुटवलले नगरपालिका संघको आर्थिक विकासतर्फ सर्वोत्कृष्ट पुरस्कार पायो, कसरी सम्भव रहेछ उत्कृष्ट बन्न ?


Advertisment

निर्वाचित भएर आउनेबित्तिकै हामीले बुटवलको पहिलेको छविलाई परिवर्तन गर्नुपर्छ भन्ने योजनाका साथ काम थालेका थियौं । शुरूवाती वर्षमा हामीले संस्थागत सुशासन, आर्थिक विकास, सेवाप्रवाह, नागरिकका आवश्यकता र प्राथमिकता के कस्ता छन् भन्ने बुझेर सोहीअनुसारले काम गर्न थाल्यौं । हामीले पुरस्कार पाउने आशाले काम गरिरहेका छैनौं । चुनावअघिका घोषणापत्रदेखि हाम्रा नीति कार्यक्रम, बजेट र सार्वजनिक रुपमा हाम्रो नीति नै बुटवललाई सबैको अपनत्व हुने, सबैले समान अवसर पाउने र बस्नयोग्य शहर बनाउने काममा छौं । यी र यस्तै कारणले हामीले उत्कृष्ट पुरस्कार पाउन सम्भव भएको हो भन्ने लाग्छ । यस वर्ष र आगामी वर्षमा अरू धेरै प्रभावकारी काम गरेर नतिजा देखिने अवस्थामा पुग्नेमा हामी विश्वस्त छौं । 


Advertisment

निर्वाचित भएको २१ महिना पुग्यो, यसबीचमा के कस्ता काम गर्नुभयो ?

हो, बुटवलबासीले माया गरेर नेतृत्वमा आएको झण्डै दुई वर्ष पुग्न लागेको छ । यसबीचमा हामीले स्वास्थ्य, शिक्षा, नगरको सौन्दर्यीकरणमा विशेष जोड दिएका छौं । त्यसका अलावा नगरलाई व्यवस्थित गर्ने, सेवाप्रवाहलाई सुदृढ गर्ने, नागरिकलाई सहज रुपमा सर्वसुलभ तरिकाले सेवा दिने र राजश्व वृद्धि गर्नेमा ध्यान दिएका छौं । जसअनुसार हामीले यस वर्ष १५–१५ बेडका २ वटा अस्पताल सञ्चालन गर्नेछौं । शिक्षामा हामीले यहाँका विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, शैक्षिक स्तर सुधार, स्थानीय पाठ्यक्रम परिमार्जनको काम गरिरहेका छौं । खेलाडी उत्पादनलाई जोड दिँदै विद्यालयस्तरमा फूटबल प्रतियोगिता आयोजना गर्दै छौं । लोकनृत्य प्रतियोगिता आयोजना गरेर विद्यार्थीलाई पनि नगरसँग जोड्ने र उनीहरूको अन्तरनिहीत प्रतिभालाई वृद्धि गर्ने काम गरेका छौं । नगरको सौन्दर्यीकरणमा मुख्य र भित्री सडकहरूलाई व्यवस्थित गर्ने, सरसफाइ गर्ने, हरियाली बनाउने र उच्च क्षमताका लाइट जडान गरेर उज्यालो शहर बनाउने काम भइरहेको छ । पर्यटनको क्षेत्रमा जीतगढी किल्लासहितका ठाउँको प्रवद्र्धन गर्ने, कृषिमा किसानलाई बीउमा अनुदान दिने, भैँसीका पाडी खरिद्मा अनुदान दिने काम भएको छ ।

null

औद्योगिक व्यवसाय र व्यापारको क्षेत्रलाई व्यवस्थित गर्ने र थप विस्तार गर्नका लागि मदत पुर्याउने गरी काम गरिरहेका छौं । बुटवलमा सुनचाँदीका गरगहना बनाउने कालीगढको अभाव छ, भारतीय कालीगढ ल्याउनुपर्ने बाध्यता छ । यो अन्त्य गर्न अहिले गरगहना बनाउने तालिम चलिरहेको छ । मेयर युवा इलम कार्यक्रममार्फत् युवालाई कम्प्युटर नेटविर्कङदेखि बारिस्टा, वेल्डिङजस्ता विभिन्न तालिम दिएर उनीहरूलाई स्वरोजगार र रोजगार बनाउने काममा लगाएका छौं । गृहिणी महिलालाई सीपसँग जोडेर उद्यमी बनाउने गरी तालिम शुरू हुँदैछ । त्यो तालिममा सिकेर उत्पादन भएका सामग्री बिक्री गर्ने कोशेली घर निर्माण गर्ने र त्यसमा नगरले प्रोत्साहन गर्ने गरी योजना अगाडि बढेको छ । बुटवलका सबैभन्दा पुराना संस्था बुटवल टेक्निकल इन्स्टिच्युट बीटीआईको स्तरउन्नति गर्ने र यहाँ टनेल इन्जिनियरिङसम्मका विषय अध्ययन गर्ने, आम्दा अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउने गरी प्यारामेडिकलका तीनवटा विषय शुरू भएका छन् । यसले यहाँ जनशक्ति उत्पादन गर्ने र यहीँ खपत हुने अवस्थाको सिर्जना हुनेछ । यस्ता धेरै काम छन्, जसको पूरा नतिजा यो आर्थिक वर्ष सकिँदासम्म देखिनेछ ।

सडक सौन्दर्यीकरणमा पनि लगानी भएको देखिन्छ, प्रतिफल कस्तो छ ?

हामीले योगीकुटीदेखि गोलपार्क चिडियाखोलासम्मको सडक र रामनगरदेखि तामनगरसम्मको सडकलाई विशेष जोड दिएका छौं । अहिले बुटवल–नारायणगढ सडकका कारण राजमार्ग चौराहादेखि पूर्वको सडक अलिकति भत्काएर काम शुरू भएको छ । त्यो आयोजनाको काम भएकाले हामीले सहजीकरण गरिरहेका छौं । मूलतः योगिकुटीदेखि चिडियाखोलासम्म सडक सौन्दर्यीकरणका लागि योपटक डिभाइडरमा जाली निर्माण, त्यसपछि लाइटिङको व्यवस्थापन र सडक रेखाङ्कन गर्नुपर्ने ठाउँहरूमा मार्किङ गर्ने कामलाई प्राथमिकता दिएका छौं । अब त्यो काम फागुनदेखि गति लिएर अगाडि बढेको छ । टेन्डर प्रक्रिया टुंगिएका छन् । गोलपार्कदेखि तल्लो सीमानासम्मको बाटो स्तरउन्नति भइसकेको छ । कालिका पथलाई थप व्यवस्थित गर्नेछौं । लाइटिङका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । योगिकुटीदेखि चिडियाखोलासम्म लाइटिङको लागि दुई करोड ३५ लाख रुपैयाँ बजेट छुट्याएर २४ वटा हाइमास्ट लाइटको टेन्डर भइसकेर अब केही दिनमा त्यसको जडान कार्य हुँदैछ ।

null 

यसमा अमरपथ, जीतगढी, बसपार्क, जेसीजचोक, देवीपथ, बुद्धनगरमा जडान हुन्छन् र बाँकी ठाउँमा आवश्यकताअनुसार काम गरिने छ । बुटवलको तिनाऊ नदीको पुललाई परिवर्तन गरेर सिग्नेचर बृज बनाउने र त्यहाँदेखि गोरुसिंगेसम्म चार लेन बनाउने काम हुँदैछ । यसले गर्दा सडक र पुल सुचारु राख्न वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । गाडीका लागि योगीकुटी, मगरघाट रानीगञ्ज, झोलुङ्गे पुलसम्मको वैकल्पिक सडक बनाइएको छ । साना जीपकारका लागि मिलनचोक–बुद्धनगर झोलुङ्गे पुल, स्कूल र सार्वजनिक बसलाई गोलपार्क–पुलचोक र बुटवल माविको पछाडि र फूलबारीतर्फको बाटो छ । यी तीनवटा बैकल्पिक बाटो तयार गरेका छौं । पुलहरू भत्काएर निर्माण गर्दा पनि बुटवलमा कठिन अवस्था आउन नदिने गरी प्रारम्भिक तयारीले पूर्णता पाएको छ ।

तपाईँले मानव संसाधनको विकास पनि गर्ने भन्नुभएको छ, यो के–कस्तो काम हो ?

बुटवललाई सबै क्षेत्रमा अगाडि बढाउने योजनाअनुसार निर्माणमा मात्रै होइन, मानव संसाधनको विकासमा पनि काम गर्ने हामीले भनेका छौं । त्यसअनुसार काम अगाडि बढिरहेका छन् । हामीले सीप सिकाउने, क्षमता विकास गर्ने र उद्यमसँग जोड्ने काम अगाडि बढाएका छौं । गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत घरमै बस्ने महिलालाई सीपसँग जोड्नेछौं । पहिलोपटक ८०० महिलालाई तालिम दिँदैछौं । थप तालिम चाहिए पनि दिनेछौं । मेयर युवा इलम र महिला उद्यमशीलता कार्यक्रम पनि अघि बढाएका छौं । र, विशेषगरी ग्रामीण क्षेत्रलाई ध्यानमा राखी ५० प्रतिशत अनुदानअन्तर्गत योपटक भैँसीका पाडी वितरण कार्यक्रम राखेका छौं । 

त्यसकारण गाउँको एउटा किसानको घरमा वा उद्योगी व्यवसायीको घरमा जाँदा उपमहानगर देखिने होस् । गिट्टी कुट्दै गरेकी, सालको पात बेच्दै गरेकी वा मकै पोल्दै गरेकी एक आमाले पनि हाम्रो उपमहानगरपालिका छ भन्ने अनुभूति गरुन् भन्ने खालको बजेट व्यवस्थापन पनि गरेका छौं । यसकारण सबै वर्ग  र सबै जातिका लागि बजेट छुट्याएका छौं । धेरै मठ–मन्दिर गुम्बा र चर्चमा आवश्यकताअनुसार बजेट विनियोजन गरेका छौं । त्यसकारण बुटवल उपमहानगरपालिका सबै जाति, धर्म, भाषा, भूगोल, वर्गको प्रतिनिधित्व गर्ने, संरक्षक हुने निकाय हो । अहिले भर्खरै हामीले शिक्षा समिति विस्तार गरेका छौं । स्थानीय पाठ्यक्रममा हाम्रो आफ्नै बुटवलको विषयलाई पनि समेट्ने छौं । यसका लागि समिति गठन गरेर कस्ता विषय पठनपाठन, कुन विषय आवश्यक र कुन अनावश्यक छुट्याएर अगाडि जानेछौं । 

हामी गौरवका साथ भन्न चाहन्छौं– हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम्दा अस्पताललाई थप २०० बेडको शिलान्यासको क्रममा ल्यायौं । यस्तैगरी राष्ट्रपति रामचन्द्र पौडेललाई बुटवलको मात्र नभएर नेपालकै गौरव जीतगढी किल्ला नेपाली सेनाबाट हस्तान्तरणको कार्यक्रममा सहभागी गरायौं । राष्ट्रका प्रमुखहरू कार्यक्रमको व्यवस्थापन हुनु पनि बुटवलबासीका लागि गौरवको कुरा हो । जीतगढी किल्लालाई थप व्यवस्थापनका लागि जीतगढी तिनाउ आरती केन्द्र निर्माणको प्रक्रियामा पहल गरिराखेका छौं । यसैगरी बुटवल माविदेखि नुवाकोटसम्म पैदलमाग निर्माणको पहल गरेका छौं । सबै क्षेत्र, वर्ग र सबै बुटवलबासीले उपमहानगर सबै साझा र अभिभावक हो भन्ने बनाउन प्रयत्नशील छौं ।    

बुटवलमा काम गर्न कत्तिको कठिनाइ छ ? कस्ता चुनौती पार गरिरहनु भएको छ ?

बुटवलको माग ठूलो छ । आर्थिक कुरा सानो छ । यसमा प्रदेश सरकार र संघीय सरकारले प्रत्यक्ष हात नहाल्दासम्म स्थानीय बजेटबाट मात्रै बुटवलको माग सम्बोधन गर्न सक्ने अवस्था छैन । ज्योतिनगर पहिरो, तिनाऊ दानव करिडोरबाट विस्थापितहरूको व्यवस्थापनको कुरा उठाएका छौं । मोतिपुर औद्योगिक क्षेत्रको कुरा उठाएको छु । कृषि व्यावसायिक केन्द्रको कुरा उठाएको छु । बसपार्कको विषय उठाएको छु । यहाँको सौन्दर्यीकरण र व्यवस्थापनको विषय उठाएको छु । हामीले बुटवल चौराहादेखि चिडियाखोलासम्मको सडकको मोडल परिवर्तन गर्न खोजेका छौं । अहिले यो सडक पाइपलाइन मार्गजस्तो भएको छ । हामी व्यावसायिक मार्ग बनाउन चाहन्छौं । राजमार्गभित्रको बाटोमा गाडी रोक्न पाइयोस् । बाटोमै रमाउने गरी साना व्यवसाय गर्न सक्ने स्थिति होस् । बाटोको नजिकै गाडी पार्किङ गर्न नपाएर नेपाली व्यवसायी विस्थापित हुने, विदेशी व्यवसायी मोटाउने नहोस् । यसका लागि पनि हामी चिन्तित छौं ।

null 

अर्को कुरा, बुटवलमा केही सबैभन्दा ठूला चुनौती छन् । ज्योतिनगरसहित चुरे क्षेत्रको पहिरो, तिनाऊ, दानवको नदी कटान र तिनाऊ दानव किनारको अव्यवस्थित र सुकुम्बासी बस्ती यहाँका मुख्य चुनौती हुन् । ज्योतिनगरसहितको पहिरोको जोखिम कम गर्न हामी त्यसको बारेमा रातदिन खटेर काम गरेका छौं । यसमा संघीय सरकारबाट प्रदेश सरकारबाट जुन खालको सहयोग पाउनुपर्ने हो, त्यो खालको सहयोग पाउन सकेका छैनौं । तर, बुटवल उपमहानगरको क्षमताअनुसार त्यहाँ काम गरिरहेका छौं । नदी किनारको बस्तीलाई जोखिम कमगर्न तटबन्ध गर्ने काम गरिरहेका छौं । अव्यवस्थित बसोबास र सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्न हाम्रो मात्रै बलबुताले सम्भव छैन । यहाँका पाउन योग्य व्यक्तिलाई लालपूर्जा दिलाउनका लागि हामीले जग्गा नापजाँचमा भूमि आयोगलाई प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराएर सक्दो छिटो लालपूर्जा वितरण गर्नुपर्छ भन्नेमा लागिरहेका छौं । अर्को कुरा, अव्यवस्थित बसोबास गर्नेको हकमा पुर्जाका लागि लिने राजश्व धेरै भयो, यसलाई घटाउनुपर्छ भन्ने कुरा हामीले प्रधानमन्त्रीसमक्ष राखेका छौं । यसको सम्बोधन हुन्छ भन्नेमा विश्वस्त छौं । 

बुटवलको मुख्य सडकको सधैँ चर्चा हुन्छ । निर्वाचित हुनुअघि र पछि पनि तपाईँले पनि चर्चा गर्नुभयो । तर यो सडक निर्माण सम्पन्न हुन सकेको छैन । यसको कारण के हो ? तपाईँ के गर्दै हुनुहुन्छ ?

यो सडक निर्माणमा केही त्रुटि भएको देखिन्छ । बजेटको सुनिश्चितता नहुँदै यो सडक निर्माण शुरू भएको थियो । पछि कोभिड र निर्माण कम्पनीका कारण ढिलासुस्ती भयो । हामीले बुटवलबासीलाई दुःख भयो, ढिलासुस्ती हुनुभएन भन्ने कुरा पटक–पटक उठाउँदै आएका छौं । यो सडकका कारण धेरै दुर्घटना भए । सडक निर्माणकै कारण यो क्षेत्रका कैयौं व्यवसायीसमेत विस्थापित भए । तसर्थ, सडकको निर्माण छिटो पूरा गर्नुपर्छ भनेरै सहजीकरणका लागि हामीले समिति बनायौं । १५ दिनको रिपोर्ट बुझाउने, प्रगति विवरण हेर्ने, अनुगमन गर्ने र समस्यालाई समाधान गर्ने काम गरेकै कारण सडकको बीच भागमा पक्की भयो । यद्यपि त्यो अझै गुणस्तरीय छैन ।

यो सडक संघले बनाउन सक्दैन भने ठेक्का तोडेर हामीलाई हस्तान्तरण गरियोस्, हामी एक महिनाभित्रै बनाउँछौं भनेका थियौं । तर संघीय सरकारले त्यसो गर्न मिल्दैन भनेपछि हामीले चासो दिने, दबाब दिने र झक्झक्याउने काम गरिरहेका छौं । यसलाई अब छिट्टै सम्पन्न गरियोस् भनेर मैले शुक्रवार मात्रै पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेटेर भनेको छु । यो सडक निर्माण समयमा सम्पन्न गर्न बुटवल उपमहानगरले के सहजीकरण गर्नुपर्छ त्यो गर्न तयार छ भनेको छु । सडक डिभिजनदेखि सडक विभागसम्म हामीले पटक–पटक यसबारे चासो राखेका छौं । अब छिट्टै नै सम्पन्न हुन्छ भन्ने विश्वास छ । 

छाडा चौपायाका कारण बुटवलको आलोचना अलिक बढी नै देखिन्छ, कहिलेसम्ममा व्यवस्थापन गर्नुहुन्छ?

हो, छाडा चौपाया व्यवस्थापनमा अलिकति चुनौती छ । किनभने, यी अधिकांश चौपाया बुटवलभित्रका होइनन् । तपाईँहरूले गाई–गोरुको तस्करी भइरहेको छ र यो ट्रान्जिट प्वाइन्ट हो भनेर समाचार लेख्दै आउनुभएको छ । यसले पनि के जनाउँछ भने बुटवलमा अन्यत्रबाट छाडा चौपाया आइरहेका छन् । तैपनि यहाँ आइसकेपछि हामीले व्यवस्थापन गर्नुपर्छ । त्यसअनुसार हामी गौशालालाई व्यवस्थित गरेर यही महिनामै सडकका गाई–गोरु गौशालामा लैजानेछौं । यो तत्कालको व्यवस्थापन मात्रै हो ।

null

दीर्घकालीन व्यवस्थापनमा अलि चुनौती छ । गाई–गोरु असीमित संख्यामा आउने भइरहेको छ । यो कहाँबाट आउँछन् र कहाँ जान्छन् भन्ने कुरामा संघीय सरकारले र प्रदेश सरकारले अलि बढी चासो दिनुपर्छ । हामीले प्रदेशसँग मिलेर गाई निकुञ्ज बनाउनुपर्छ भनेर छलफल गरिरहेका छौं । यसको टुंगो लाग्यो भने मात्रै केही समाधान निस्किन सक्छ । देशका मुख्य शहरहरूको मूल समस्याका रुपमा छाडा चौपाया देखिइरहेको छ । यसर्थ पनि तस्करी हो भने रोक्न र होइन भने प्रादेशिक रुपमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । एउटा पालिकाले मात्रै रोकेर रोकिने अवस्था पनि छैन । 

झुम्सा खानेपानी ल्याउने भनेर कैयौँंपटक अवलोकन भए, अब छिट्टै आउँछ भन्ने कुरा पनि आएका थिए । यो योजनामा बुटवल महानगरले के गरिरहेको छ ?

खानेपानी संस्थान स्थानीय तहअन्तर्गत नभएपनि बुटवलको विशेष चासो छ । त्यसमा पनि बुटवलको खानेपानी समस्या समाधानमा हामीले विशेष चासो दिएका छौं । झुम्साको सन्दर्भमा तिनाऊ गाउँपालिकाबाट पानी ल्याउनुपर्ने भएकाले दुई पालिकाको बीचमा समझदारी नभई पानी आउन सक्ने अवस्था छैन । हामीले पटक–पटक छलफल गरेर यसलाई टुंगोमा पुर्याएका छौं । तिनाऊका बासिन्दाले बुटवललाई पानी दिँदा बुटवलले हामीलाई के दिन्छ भन्ने प्रश्न गर्नुभएको थियो ।

यसमा बुटवलले तिनाऊबासीको चित्त बुझ्नेगरी समाधान गरेको छ । वार्षिक रुपमा दुई करोड रुपैयाँ तिनाऊको खानेपानी मुहान क्षेत्रको विकासका लागि दिने एकखालको सहमति भएको छ । त्यसपछि उहाँहरूले पानी ल्याउन सहमति जनाउनुभएको छ । सहमति भएको केहीदिनपछि त्यहाँ पानीको पाइप राख्नका लागि बनाइएको फलामे पुल भाँचिएर दुर्घटना भयो । त्यो मर्मत हुँदैछ । मर्मत भएर सकिएपछि पानी ल्याउने काम शुरू हुन्छ । अब केही महिनामात्रै कुरेपछि बुटवलमा झुम्साको पानी आउँछ । यसका साथै हिलपार्कमा १० लाख लिटरको खानेपानी ट्याङ्की निर्माणका लागि माटो परीक्षणको काम भएको छ । यसले बुटवलको खानेपानी समस्यालाई समाधान गर्छ ।

null 

अन्त्यमा, संघ र प्रदेशसँग तपाईँका केही समस्या वा गुनासा छन् ?

हामी संघीय अभ्यास गरिरहेका छौं । केही कानून निर्माण नहुँदा काममा असहज भइरहेको छ । कर्मचारीको व्यवस्थापन त्यस्तै चुनौती छ । केही कुरामा संघले स्थानीय तहलाई आफ्नो मातहतको निकाय जसरी व्यवहार गर्ने गरेको छ । अझै पनि केन्द्रीकृत मानसिकता कायमै छ । संघीयता बलियो बनाउन स्थानीय तह र प्रदेशलाई बलियो नबनाइ हुँदैन भन्ने कुरा संघमा बस्ने नेता र कर्मचारीले बुझ्न जरुरी छ । हिजो जसरी मुठ्ठी कसेर बसेर संघीयता बलियो हुँदैन । जे कुरामा पनि बिग्रिन्छ कि भन्ने चिन्ता लिने काम संघको मात्रै होइन । हामी बिगार्न आएका होइनौं, बनाउन आएका हौं ।

जे–जति–जसरी राम्रा कामहरू भइरहेका छन्, ती स्थानीय तहमै भइरहेका छन् । त्यत्रो कोभिड महामारी स्थानीय तह भएकै कारणले सहज रुपमा व्यवस्थापन गर्न सकियो । जहाँजहाँ जोखिम छ त्यो स्थानीय तहतिर पठाउने, जे–जे सजिलो र देखिने काम छ त्यो आफूले राख्नुहुँदैन । यसमा संघीय सरकार र सदनले पनि विशेष चासो दिएर आवश्यक कानूनहरू समयमै निर्माण गरेर संघीयतालाई सफल बनाउन लाग्नुपर्छ । अहिले संघीयता र व्यवस्थामाथि प्रश्न उठ्नुको कारण पनि ढिलासुस्ती नै हो जस्तो लाग्छ । यदि संघले पहिलो कार्यकालमै सबै कानून बनाएर अधिकार हस्तान्तरण गरेको भए अहिले यस्तो भ्याकुम सिर्जना हुने थिएन । यसमा विशेष चासो दिनुपर्छ । 
 

NLIC
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

भदौ २७, २०८१

भ्रष्टाचारविरोधी अभियानमार्फत राजनीतिमा होमिएका ज्ञानेन्द्र शाही संसद्मा सशक्त बोल्ने सांसदको रूपमा परिचित छन् । प्रमुख दलको कार्यशैली, अनियमितता र भ्रष्टाचारबारे उनले संसद्मा जोडदार आवाज उठाउँदै आएका छन् । ...

भदौ ३१, २०८१

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले निकै मेहनतपछि आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिध...

भदौ ३०, २०८१

लामो समय पत्रकारिता गरेर राजनीतिमा लागेका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । पत्रकारिताका दौरान नेतालाई खरा प्रश्न सोध्ने मिश्रले राजनीतिमा आएपछि पनि आफ्नो स्वभावलाई कायम राखेका छन्...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x