×

१२ बुँदे पक्षधरकाे बैठकले निम्त्याएको बहस

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रहरूसँग तर्सेका गणतन्त्रका नाइकेहरू !

काठमाडाैं | कात्तिक २३, २०८०

मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारविरुद्ध प्रतिरोध गर्ने ।’ मानौं देशमा अरू केही समस्या छैनन् ।

Laxmi Bank

शीर्ष नेतालाई ‘सर्वदलीय हेड सर’को संज्ञा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कटाक्ष गरे, ‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम र बझाङका जनतालाई चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाएँ ।’ 


Advertisment

स्वाभाविक रूपमा आम जनताको अपेक्षा थियो– बैठकले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाको विषयमा छलफल गर्ने छ । जनताले व्यहोरी रहेका बेरोजगारी, महँगी र अभावबारे छलफल हुनेछ । ओरालो लागेको अर्थतन्त्र र व्यापार सुकेर चौपट बनेका साना लगानीकर्ताको विषयमा छलफल हुनेछ । तर, बैठकबाट जनताको पक्षमा कुनै निर्णय भएन । भयो त गणतन्त्रप्रति प्रतिवद्धता जनाउने नाममा आफ्नो कमजोरी लुकाउने काम । 


Advertisment

विवादास्पद पृष्ठभूमिबाट उदाएका मेडिकल व्यापारी दुर्गा प्रसाईं र कुनै राजनीतिक धरातल नभएका रवीन्द्र मिश्रलाई देखाएर गणतन्त्रमाथि प्रहार भएको निष्कर्ष दलहरूले निकाले । गणतन्त्रलाई चुनौती दिने उनीहरूबाहेक को छ अहिले ? आफ्ना गल्ती कमजोरी र शासकीय अयोग्यता लुकाउन गणतन्त्रमाथि प्रहारको बहाना बनाइयो ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठक

देवकोटाको त्यो किस्सा र राजतन्त्र फर्काउने प्रसाईंको ह्याउ !

२०७४ फागुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएको तस्वीर आउनुअघि दुर्गा प्रसाईं गुमनामजस्तै थिए । झापाको शनिश्चरेमा जन्मिएका प्रसाईंको व्यावसायिक उठान पनि रहस्यमय छ । माओवादी जनयुद्धमा सहभागी भएको दाबी गर्ने प्रसाईं भैंसीपालन व्यवसायबाट मेडिकल व्यवसायमा फड्को मारका हुन् । व्यवसायसँगै राजनीतिक नेताहरूसँग उनले सम्पर्क बढाए ।

दुई तिहाइको सरकार र पार्टी हाँकेका दुई पाइलटलाई मार्सीको ‘मेजमानी’ गराउन सामान्य व्यक्तिबाट सम्भव थिएन । कहिले माओवादी, कहिले एमाले बनेर उनले लाभ लिए । भरपर्दो व्यावसायिक योजना भन्दा पनि राजनीतिक पहुँचकै आधारमा प्रसाईंंले बैंकबाट कुस्त ऋण लिए ।

ऋणको ब्याजले च्याप्दै गएपछि प्रसाईं लघुवित्त पीडितको ऋण माफी मिनाहाको एजेण्डा लिएर राजनीति गर्न खोज्दैछन् । मंसिर ७ गते उनले काठमाडौंमा मानिस उतार्ने तयारी गरेका छन् । प्रसाईंको यही अभियानलाई लिएर गणतन्त्रवादी मसियाहरू तर्सेको जस्तो देखिन्छ ।

प्रसाईंका कुरा भरपर्दा छैनन्, तर पनि आम जनताले उनका कुरा पत्याइरहेका छन् । ‘सर्पले सर्पको खुट्टा देख्छ’ भनेजस्तै राजनीतिक दलका नेतासँग उठबस गरेका प्रसाईंले दलका नेताबारे धेरै सूचना राख्ने भएकोले उनका कुरा जनताले पत्याइरहेका छन् ।

प्रसाईंले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाए । त्यही विषयलाई लिएर एमालेले प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको समाचार बाहिर आए । तर, ओली स्वयंले प्रसाईंलाई पक्राउ गर्न प्रधामनन्त्रलीलाई आग्रह गरिएको भन्ने कुराको खण्डन गरे ।

ओलीमाथि लगाएको आरोपबारे नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंमाथि सोधपुछ गर्‍यो । अप्रमाणित कुरा बोलेको भन्दै प्रसाईंमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रसाईंले जे पनि बोल्दिन्छन्, आफ्नै बोलीप्रति उनी जवाफदेही छैनन् ।

एमाले केन्द्रीय सदस्य बन्न भुईंबाटै ओलीलाई ढोगेका प्रसाईंले त्यो बेला प्रचण्ड र माधव नेपाललाई गाली गर्दै उनीहरूले चुनाव जिते आफू सन्न्‍यास लिएर वृन्दावन जाने घोषणा गरेका थिए । नेपाः संवतका प्रवर्तक शंखरध्वज शाख्वाले कुनैबेला आफ्ना प्रजाको ऋण मिनाहा गरिदिएजस्तै उनी लघुवित्त पीडितको ऋण मिनाहा गर्ने एजेण्डा लिएर राजतन्त्र फर्काउन लागिपरेका छन् ।

२०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा पुनर्स्थापनाको घोषणा गरेपछिको राप्रपाका नेता राजेश्वर देवकोटाले ‘गोरु ब्यायो’ भन्ने प्रतिक्रिया दिएका थिए । दुर्गा प्रसाईंको आन्दोलनले राजतन्त्र फर्किने कुरा देवकोटाको टिप्पणीसँग मिल्छ ।

रवीन्द्र मिश्रको ल्याकत

​लामो समय सञ्चार कर्ममा बिताएका रवीन्द्र मिश्रमा नेता बन्ने राजनीतिक महत्वकांक्षा पलायो । उनले शुरू​मा साझा पार्टी खोले, पार्टी खोलेलगत्तै पंक्तिकारसहितको एक अन्तवार्तामा मिश्रले पहिलो पटकको चुनावमा नै बहुमत ल्याउने दाबी गरेका थिए । उनको त्यो हास्यास्पद दाबीबाटै उनी राजनीतिमा लामो दूरीको घोडा होइनन् भन्ने प्रष्ट भएको थियो ।

मिश्रको राजनीतिक यात्राको शुरूवात नै हावा भरिएको बेलुनजस्तो थियो । पछि उनले आफ्नो राजनीतिक महत्वकांक्षा पूरा गर्न विवेकशील अभियानलाई हुँडले । दिमागमा राजतन्त्र राखेर मिश्रले विवेकशील युवाहरूले शुरू गरेको सुसंस्कृत अभियानलाई धमिल्याइदिए ।

रवीन्द्र मिश्र नामक धमिलो भल पसेपछि विवेकशील पार्टी पनि सग्लो रहेन । पुराना राजनीतिक दललाई माथ दिनेगरी उनीहरू टुटफुटको राजनीतिमा लागे । त्यो शक्ति विलीन भएर गयो ।

‘खास्टाले छोपेको बिरालो म्याउँ गर्‍यो’ अर्थात् मिश्र राजावादी कित्तामा उत्रिए । कुनैबेला बीबीसीको स्टुडियोबाट क्रान्तिकारी र प्रगतिशील प्रश्न गर्ने रवीन्द्र मिश्र औचित्य गुमाउँदै गरेको पूर्वपञ्चहरूको पार्टीमा प्रवेश गरे । उनले आफूलाई प्रतिगामी कित्तामा उभ्याए ।

देश–विदेश घुमेको र सामाजिक सञ्जालमा सक्रिय स्वयं उनलाई विश्वास छैन कि नेपालमा त्यति सजिलै राजतन्त्र स्थापना हुनेछ । राजतन्त्र व्यूँतिने सम्भावना नरहे पनि राजतन्त्रको समर्थन गर्ने एउटा झुण्डको नेता बन्ने महत्वकांक्षा रवीन्द्रमा छ । राजेन्द्र लिङ्देन र कमल थापाको उत्तराधिकारी बन्नेबाहेक रवीन्द्रले केही गर्न सक्ने होइनन् ।

दुर्भाग्य, कुनै राजनीतिक धरातल नभएका मिश्रसँग गणतन्त्रका नाइकेहरू तर्सिरहेका छन् । गणतन्त्रका मसियाले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई फोकटमा हिरो बनाउने काम गरिरहेका छन् ।

गणतन्त्रलाई ‘गणतन्त्रका ठेकेदार’बाट खतरा

दशैंको समयमा एक किलो चिनी किन्न सर्वसाधारणहरू धादिङबाट काठमाडौं आएको कुरा सरकारको लागि लज्जाको विषय बन्नु पर्ने हो । तिहारको बेलामा पनि चिनीको उस्तै हाहाकार छ । बजारमा भइरहेको चिनीको हाहाकार शासकीय क्षमता नाप्ने एक कडी हो ।

गणतन्त्र स्थापना भएको १५ वर्षमा पनि जनता न्यूनतम् आधारभूत आवश्यकताबाट वञ्चित छन् । अहिलेको अक्षम नेतृत्वका कारण आम जनतामा वितृष्णा पैदा भएको छ, युवाहरू पलायन भएका छन् । समकालीन कुनै पनि नेताबाट उनीहरूले स्वदेशमा भविष्य देखेका छैनन् । अक्षम नेतृत्वको कार्यशैलीले आम जनतामा देखिएको निराशा र आक्रोश नै गणतन्त्रका लागि खतरा हो ।

गणतन्त्रका लागि खतरा दुर्गा प्रसाईं या रवीन्द्र मिश्रहरूबाट होइन ठूला दलका नेताको अक्षम कार्यशैली र भ्रष्ट चरित्रबाट छ, जसले जनतालाई अभावमा राखेर गणतन्त्र जोगाउने कुरा गरिरहेका छन् ।

समकालीन नेताहरूले बुझ्न नचाहेको कुरा उनीहरू गणतन्त्रका आजीवन ठेकेदार होइनन्, यो व्यवस्था उनीहरूको पेवा होइन । उनीहरूको बुताले मात्र गणतन्त्र आएको होइन, जनता निर्णायक थिए ।

आलोपालो सत्ताको लुछाचुँडी गरिरहेका अहिलेको असफल नेतृत्वले मनन गर्नुपर्ने कुरा– उनीहरूपछि पनि देश झन् राम्रोसँग अगाडि बढ्छ । अहिलेको भ्रष्ट नेतृत्वले ठाउँ खाली गर्नेबित्तिकै नयाँ उन्नत पुस्ता राजनीतिमा आउने छ र गणतन्त्र सुदृढ हुनेछ ।

देशलाई अन्धकार सुरुङमा धकेल्न उद्धत अहिलेको राजनीतिक नेतृत्वले जति छिटो सन्न्‍यास लिन्छ देश त्यति नै छिटो प्रगति पथमा लम्किने छ । २१औं शताब्दीमा कुनै पनि तानाशाह जन्मिने या जनताले मिल्काएको राजतन्त्रको प्रेत जाग्ने कुरा सम्भव छैन ।

यो कुरालाई सटीक विश्लेषण गर्दै कांग्रेस नेता गुरु घिमिरेले बिहीवार ट्वीटर (एक्स)मा लेखेका छन्– ‘गणतन्त्र माथिको खतरा वर्तमान नेतृत्वको कार्यशैलीको परिणाम हो । गणतन्त्रकालीन १५ वर्ष देश र जनताका निम्ति निकै कष्टकर र निराशाजनक प्रमाणित भयो । यसको जिम्मा अहिलेसम्म देश चलाउने नेतृत्वले लिनुपर्छ र सम्पूर्ण भूमिकाबाट अलग हुनुपर्छ ।’

NLIC
कात्तिक २०, २०७४

अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

कात्तिक ४, २०७७

सांसद र मन्त्रीहरूलाई पहिलोपटक दशैं भत्ता दिने निर्णय भएको समाचार मैले लोकान्तर डट्कममा गत वर्ष नै लेखेको थिएँ । सूचना खोज्दै जाँदा मन्त्रिपरिषद्ले संसद् सचिवालयलाई पठाएको गोप्य पत्र फेला पारेपछि मैले गत वर्षको अ...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x