असोज २, २०८०
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
काठमाडाैं | भदौ २५, २०८०
सदियौँदेखि मिलेर बसेका विभिन्न सम्प्रदायबीच विभिन्न बहानामा द्वन्द्व बढाउने चलखेल भइरहेको संकेत मिल्न थालेको छ । देशका विभिन्न ठाउँमा भएका पछिल्ला केही घटनाले यस्तै संकेत गर्छन् ।
केही समयअघि धरानमा गोरु काटेर मासु खाएको भन्दै सामाजिक सञ्जालमा राख्ने त्यही निहुँमा दंगा भड्काउने प्रयास भयो । गोरुको मासु खाएको भनिएको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि स्थिति तनावग्रस्त बनेको थियो । धरानमा त्यसअघि नै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो । भलै, यो विषय विस्तारै मत्थर हुँदा ठूलो दुर्घटना हुनबाट जोगियो ।
.....
उस्तै प्रकृतिको घटना सर्लाहीमा पनि दोहोरियो । सर्लाही सदरमुकाम मलंगवामा शुक्रवार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा अर्को समुदायले अवरोध गरेको भन्दै विवाद भयो । विवाद बढ्दै गएर झडपकै स्थिति बन्यो । यहाँ पनि प्रशासनले बल प्रयोग गरेपछि तत्काललाई दुर्घटना टरेको छ । मलंगवामा स्थिति नियन्त्रणमा लिन कर्फ्यु नै लगाउनुपर्यो ।
सर्लाहीमा कृष्ण जन्माष्टमीको अवसरमा मुर्ति सेलाएर फर्किने क्रममा दुई समुदायबीच झडप भएपछि शनिवार कर्फ्यु जारी गरिएको थियो । प्रदर्शन र ढुंगामुढा भएपछि स्थानीय प्रशासनले सर्वपक्षीय भेला बोलाएर सद्भाव कायम गराउने प्रयास गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र १६ राउन्ड अश्रु ग्याँस प्रहार गर्नुपरेको थियो ।
यसअघि धरानमा पनि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । रौतहटको जानकी मन्दिरका पुजारीलाई आक्रमण, क्रिश्चियन धर्म प्रचार गरेको भन्दै जनकपुरमा हिन्दू सम्राट समूहले कालोमोसो दलेका लगायत घटना सार्वजनिक भएका छन् ।
पछिल्लो समय खुलेआम प्रहरीकै हतियार लुट्नेदेखि प्रदेश सभाका जिम्मेवार सांसदले प्रहरीलाई मार्नेसम्मको धम्की दिइरहेका छन् । प्रहरीले हातपात गरेको भन्दै कोशी प्रदेशका एक सांसदले खुलमखुला प्रहरीलाई मार्नेसम्मको चेतावनी दिएका थिए । कोशी प्रदेशमा पहिचानका नाममा समेत लामो समयदेखि द्वन्द्व भइरहेको छ । अझै राजधानी काठमाडौंमा दिउँसै कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको धेरै भएको छैन ।
देशमा एकपछि अर्कोगरी द्वन्द्व भड्काउने क्रियाकलाप भइरहे पनि सरकार र जिम्मेवार राजनीतिक दलहरू भने चुपचाप छन् । धार्मिक, जातीय र सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहँदा सरकार र अगुवा दलहरू द्वन्द्व बढ्न नदिन र सद्भाव कायम गर्न रचनात्मक देखिएका छैनन् । बरु कसरी हुन्छ आफ्ना अभिष्ट पूरा गर्नमा दलहरू तल्लीन छन् ।
धरानमा एकपछि अर्को तनावको स्थिति आउँदा पनि मेयर हर्क साम्पाङले नियन्त्रणको सट्टा उल्टै भड्काउने आशयका अभिव्यक्ति दिँदै आएका छन् ।
साम्पाङलाई प्रश्न गरेकै आधारमा धरानमा अशोक लिम्बू पक्राउ पर्नेसम्मको घटना भयो । उनीमात्रै होइन, राजधानी काठमाडौंका मेयर बालेन्द्र साहले समेत सिंहदरबारमा आगो लगाउने चेतावनी दिए । यति गम्भीर चुनौती दिँदासमेत सरकारले उनीमाथि सामान्य सोधपुछ गर्ने आँटसमेत गरेन ।
नेपाली कांग्रेस नेता डा. शेखर कोइराला देशमा द्वन्द्वको अवस्था आएको बताउँछन् । अहिले सतहमा आएका विषयहरू बढ्दै जाँदा देशमा कुनै पनि बेला द्वन्द्व निम्तिन सक्ने उनको भनाइ छ ।
‘केही दिन पहिले धरानमा घटेको घटनालाई धार्मिक रूप दिइयो । मन्दिरको बगलमा चर्च बनाइएको विषय केही समयमा सामसुमजस्तो भयो,’ उनले भने, ‘गोरु काटेर पहिले पनि खाएका होलान्, तर खानेहरूले सामाजिक सञ्जालमा राखेपछि विवाद र तनाव भयो । यस्ता विषय बढे कुनै पनि दिन दंगा भड्किएर देश जातीय वा धार्मिक द्वन्द्वमा जान सक्छ ।’ यस्तो गलत प्रवृत्ति रोक्न पार्टीहरू चिन्तित बन्नुपर्ने उनी बताउँछन् ।
नेता कोइराला संवेदनशीलता देखाउनुपर्ने प्रधानमन्त्री नै भड्काउ अभिव्यक्तिमा लागेको बताउँछन् । ‘देशमा प्रधानमन्त्री अराजक भइसक्नुभयो । आदिवासी जनजाति दिवसका दिन उहाँले मलाई विजयी बनाउनुस् म जातीय राज्य दिन्छु भन्नुभयो । पार्टी अध्यक्षको रूपमा बोलेको भए ठीकै हुन्थ्यो होला,’ शेखर भन्छन्, ‘तर, देशको प्रधानमन्त्रीले यसरी बोल्न मिल्दैन । केही दिनअगाडि काठमाडौंको मेयरले सिंहदरबार जलाइदिन्छु भन्नुभयो । लोक रिझ्याइँले हामी अप्ठ्यारोमा पर्दैछौं ।’
प्रधानमन्त्रीले आइतवार हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा भनेका थिए, ‘निरंकुश राजतन्त्रका दलालहरू र भ्रष्टहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्नु सामान्य घटना होइन । मोर्चाले हलभित्र कार्यक्रम गरेर केही समय सन्देश प्रवाहको काम गरिरहेको छ । तर, अब केही समयपछि लाखौं जनता सडकमा उतार्छौं । प्रतिक्रान्तिकारी र दक्षिणपन्थी निरंकुशतावादी तथा सामन्ती र दलालको सातो जानेगरी जनताको तागत देखाउनुस् ।’
राजनीतिक शास्त्रका प्राध्यापक एवं विश्लेषक कृष्ण पोखरेल दलहरूले समाजमा सद्भाव कायम गराउन पहलकदमी लिनुपर्ने बताउँछन् । विभिन्न नाममा धार्मिक, सामाजिक र जातीय द्वन्द्व निम्त्याउन खोज्नेहरू सक्रिय रहेको भन्दै उनीहरूलाई हावी हुन नदिनुपर्ने उनको भनाइ छ ।
‘संविधान र यसले ल्याएका परिवर्तन, संघीयता र समावेशिताको विषयलाई लिएर प्रश्न उठ्ने अवस्था आउन लाग्यो । जनताका गुनासा र आवश्यकता पूरा नहुँदा सरकार र दलको कार्यक्षमतामा प्रश्न उठ्यो । कोशीमा भइरहेको राजनीतिक गतिविधिले त झन् पटक–पटक समस्या ल्याइरहेको छ,’ पोखरेलले भने, ‘यस्तैबेला विभिन्न पक्ष धार्मिक, सामाजिक र जातीय द्वन्द्व निम्त्याउन खोज्ने पनि नभएका होइनन् । धार्मिक अतिवाद दुवैतिर छन् । तर, बहुमतमा छैनन् । उनीहरूलाई हावी हुन दिनुहुन्न ।’
धरान र कोशीमा अवस्था सम्हाल्नै नसक्ने गरी नबिग्रिए पनि सचेत हुनुपर्ने उनी बताउँछन् । ‘नेपालमा धार्मिक हिसाबले द्वन्द्व भएको छैन । तर अतिवादीले चाहेको एजेन्डा भने द्वन्द्व हो । भारतीय धार्मिक जुलुस सामाजिक सञ्जालमा देखाउने र नेपालमै भयो भनेर समेत चर्चा गर्ने काम समेत भयो,’ उनी भन्छन्, ‘यस्तोमा दलहरूले सद्भाव र एकता कायम गर्न तथा आश्वस्त पार्न सक्नुपर्छ । सामाजिक सञ्जाल चलाउनेमा पनि जागरुकता चाहिन्छ ।’
यतिमात्रै होइन, कोशीमा प्रदेश नामकरणको विवाद साम्य भइसकेको छैन । विवाद थाती रहेको स्थितिमा मात्र छ । विश्लेषक पोखरेल अन्तरसमुदाय संवादले यो विषयलाई पनि समाधान दिने बताउँछन् ।
‘अवस्था तरल छ, तर सम्हाल्न नसकिने गरी बिग्रिएको छैन । मधेशमा त्यस्तो छैन । पहाडतिर पहिचान पक्षधरको भनाइ के हो ? कोशी भएन के हुने त ? उनीहरू पनि एकमत छैनन्,’ पोखरले भन्छन्, ‘यसैले अन्तरसमुदाय संवाद गरेर एउटै टुंगोमा पुग्ने अवस्था बन्नुपर्छ । अरूले जस्तै राजवंशी, थारू, कोचे, मेचेले पन पहिचान खोजे के गर्ने ? यस्तोले द्वन्द्व मात्रै सिर्जना गर्छ । यसैले पहिचान पक्षधरबीच पनि एउटै राय हुँदा समाधानतिर जान सकिन्छ ।’
सद्भाव कसरी बढाउने ?
विभिन्न नाममा सद्भाव भड्काउने क्रियाकलाप भइरहेका छ । यसलाई यसलाई सामान्य बनाउँदै सद्भाव बढाउनेतर्फ सबैले ध्यान दिन जरुरी छ । समाजशास्त्रका प्राध्यापक राम गुरुङ धरानको सिको अन्यत्र पनि हुन थालेको बताउँछन् ।
राजनीतिक दल, धार्मिक र सांस्कृतिक संस्था एकजुट भएर सामना नगरे परिस्थिति भयावह हुन सक्ने खतरा उनले औंल्याए । तर, कतिपय अवस्थामा धर्मलाई राजनीतिक स्वार्थसँग जोड्न खोज्दा समेत समस्या भएको उनको बुझाइ छ ।
‘समाजमा सद्भाव बिथोल्न खोज्दा सबैभन्दा बढी संयम हुने र यस्तो हुन नदिने काम दलहरूले गर्न सक्छन्, किनकि दलको केन्द्र, प्रदेश, जिल्ला क्षेत्रदेखि स्थानीय तहसम्मै सञ्जाल हुन्छ । दलहरूले धर्मलाई राजनीतिसँग जोड्ने र स्वार्थ मात्रै देखाउने काम गरे कि भन्ने लाग्छ,’ उनी भन्छन्, ‘धरानको प्रभाव र सिको अन्यत्र पनि हुँदै जानेजस्तो देखिएको छ । अहिले रमाइलो लाग्ला तर दल, धार्मिक र सांस्कृतिक संस्थासहितका पक्षले समयमै एकजुट भएर सद्भाव नदेखाए हाम्रो लोकतान्त्रिक, सांस्कृतिक सबै अधिकार गुम्ने दिन आउन सक्छ । हाम्रो मौलिकता नरहने, अर्थतन्त्र, घरपरिवार सबै गुमाउनुपर्ने जोखिम पनि आउन सक्छ । त्यसैले समयमै सचेत बनौं ।’
कानूनी प्रावधानलाई मान्ने र एक अर्काका धर्म संस्कृतिलाई सम्मान गर्नुपर्ने तथा जबर्जस्ती धर्म परिवर्तन गराउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनी ठान्छन् ।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले राज्यले दीर्घकालीन हिसाबले समाधान गर्ने नीति नलिँदा धार्मिक अतिवाद गम्भीर समस्याको रूपमा आएको बताए ।
राज्यले दीर्घकालीन उपाय होइन कर्फ्यु र निषेधाज्ञाको अल्पकालीन बाटो रोज्दा पटक–पटक समस्या आइरहेको उनको बुझाइ छ । ‘राज्य घटनामा तटस्थ हुन चाहने तर, जोखिम नमोल्ने अवस्थामा देखियो । राज्यको धर्म नभए पनि संस्कृति त हुन्छ । सबै संस्कृति र विचारलाई सम्मान गर्ने वातावरण बनाउने दायित्व सरकारको हो,’ उनी भन्छन्, ‘धार्मिक सद्भाव बिथोल्न खोज्ने तत्त्व कतिपय अवस्थामा सीमा पारिबाट समेत आइरहेका छन् । तर, राज्यले दीर्घकालीन उपाय होइन कर्फ्यु र निषेधाज्ञाको अल्पकालीन बाटो रोज्दा समस्या कायम रहिरहने खतरा छ ।’
हिन्दू, मुस्लिम, बौद्ध वा जुनसुकै धार्मिक समुदायको संयुक्त सञ्जाल विकास गरेर समाजमा सहिष्णुता कायम गराउनुपर्ने उनी बताउँछन् । ‘हिन्दू र मुस्लिममा आक्रामक भएर प्रस्तुत हुने तत्त्व छन् । यसमा अझै सीमा पारिबाट समेत अतिवादी मिसिन्छन् । धर्म भनेको खुशी बनाउने हो, उच्छृङखलता बढाउने होइन,’ उनले भने, ‘यसैले सबै धर्मका गुरु, प्रवचकसहित धार्मिक समुदायको संयुक्त सञ्जाल विकास गराउनुपर्छ । यस्तो साझा सञ्जाल सामाजिक स्तरमा भएपछि उनीहरूले समयसमयमा संयुक्त सद्भावका कार्यक्रम गर्छन् । आपसी सद्भाव र संस्कृतिको आदानप्रदान गर्छन्, अनि द्वन्द्व कम हुँदै जान्छ ।’
पूर्व मुख्यसचिव लीलामणि पौडेल हजारौं वर्षदेखि मिलेर बसेको समुदायमा सद्भाव बिथोल्ने पक्षलाई दिन नहुने बताउँछन् ।
दलहरूले तल्लो तहसम्म पार्टीपंक्ति परिचालन गरेर धार्मिक संघ संस्थाका केन्द्रीय तहका प्रतिनिधिसँग संवाद गर्नुपर्ने उनको भनाइ छ ।
‘हाम्रो समाजको बनोट नै संवदेनशील छ । हजारौं वर्षदेखि हामी आपसी सद्भावमा बस्दै आएका छौं । सद्भाव बिथोलिँदा कसैको पनि हित हुँदैन,’ पौडेलले भने, ‘यसैले प्रमुखरूपमा दलहरूले तल्लो तहसम्म पार्टीलाई परिचालन गरेर धार्मिक संघ–संस्थका केन्द्रीय तहका प्रतिनिधिसँग संवाद गर्नुपर्छ ।’
दलहरू देशव्यापी अभियानमा भए पनि सद्भाव बढाउन पार्टी पंक्तिलाई परिचालन नगरेको उनको भनाइ छ ।
‘म हिजो बबरमहलतिर जाँदै थिएँ । पहेंलो वस्त्रधारीको ठूलो जुलुसले उग्र नारा लगाइरहेको थियो । बेलेमै रोकिएन भने आगो झोसिएपछि कसैले सम्हाल्न सक्दैन,’ पौडेल भन्छन्, ‘यसैले दल, नागरिक समाज र समाजका अगुवाले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
दललाई गाली गर्ने नागरिक समाज यतिखेर चुपचाप रहेको उनले बताए ।
‘दललाई गाली गर्न नागरिक समाज सडकमा निस्कन्छन्, तर यस्तो बेला उनीहरू किन सडकमा आउँदैनन् ?’ पौडेल भन्छन् ।
कोशी सरकारको अस्थिरताले आगोमा घ्यू थप्ने काम गरेको उनले बताए ।
‘मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्दाको प्रभाव र असर पनि कोशीमा परेको छ, किनकि राजनीतिक अस्थिरताले आगोमा घ्यू थप्ने काम भयो,’ उनी भन्छन्, ‘यसैले दलले छिटो कोशीमा समाधान दिनुपर्छ । सिरियसली हेरेर साझा निर्णयमा पुग्न तयार हुनुपर्छ ।’
सामाजिक सद्भाव बिथोलिँदा प्रहरीको नैतिक बल बढाउनुपर्ने पौडेल बताउँछन् ।
‘न्यूनतम् बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा गराउने वातावरण बनाउनुपर्छ,’ उनी भन्छन्, ‘तर प्रहरीलाई तपाईंहरूको पेशागत सुरक्षामा असर पर्दैन भन्ने ग्यारेन्टी गर्नुपर्छ, किनकि प्रहरीलाई सिकार बनाउने होइन, उनीहरूको नैतिक बललाई बलियो बनाउन आवश्यक छ । प्रहरीलाई उत्तेजित बनाएर लाभ लिने खोज्नु हुन्न ।’
उनले यसो भने पनि राजनीतिक पहुँच र स्वार्थमा विभिन्न काण्डमा छानबिन र अनुसन्धान अगाडि बढाइरहेको प्रहरीको मनोबल घटाउने गरी सरकार प्रहरी अधिकारीको सरुवामा लागेको छ ।
कांग्रेस नेता गुरु घिमिरे धरानको द्वन्द्व फरक भए पनि राजनीतिक दलले निकास दिन ढिलाइ गर्न नहुने बताउँछन् ।
‘कोशी प्रदेश र धरानको पहिचानदेखि धर्मसँग जोडिएको राजनीति र विवाद फरक हो,’ घिमिरे भन्छन्, ‘तर राजनीतिक, धार्मिक र सांस्कृतिक रूपमा जे भइरहेको छ, यो राम्रो छैन । सबै दलको नेतृत्वले जिम्मेवार भएर समाधान नदिए संकट झनै बढ्न सक्छ ।’
पार्टीहरूले राजनीतिक द्वन्द्वलाई मात्रै हेर्दा अराजक पक्षले फाइदा उठाउने घिमिरे बताउँछन् ।
‘पार्टीहरू राजनीतिक द्वन्द्वमा लाग्न हुँदैन, किनकि शासन गर्ने दलका जिम्मेवारी धेरै हुन्छन्,’ घिमिरे भन्छन्, ‘सामाजिक, धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व देखिए समाधान गर्ने जिम्मेवारी दलहरूकै हो ।’
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
चन्द्रयान– ३ को सफलतासँगै विश्व रंगमञ्चमा आफ्नो प्रभाव बढाउँदै लगेको दक्षिणी छिमेकी मुलुक भारतमा आज जी ट्वान्टी (१९ देश र युरोपेली संघ मिलेर बनेको अन्तरसरकारी मञ्च)को सम्मेलन शुरू हुँदैछ । चन्द्रम...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...
लुम्बिनी प्रदेश कमिटीको नेतृत्व निर्वाचनबाट छानिएपछि अरू प्रदेशमा पनि सर्वसम्मत बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठिन हुने देखिएको छ । पार्टी विभाजनपछिको पहिलो प्रदेश अधिवेशन कुनै पनि हाल...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे । नेपालमा स...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...